राप्ती पोष्ट
घोराही, पुस । सातौँ संस्करणको घोराही मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १३ ले जितेको छ । घोराही १८ नवलपुर फुटबल मैदानमा मंगलबार भएको फाईनल खेलमा वडा नम्बर १३ ले वडा नम्बर १५ लाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।
वडा नम्बर १३ लाई जित दिलाउन रेवन बुढा र प्रमोद बुढाले १–१ गोल गरेका थिए । हजारौं दशर्कको उपस्थिति रहेको फाईनल खेलमा वडा नम्बर १३ ले अग्रता बनाउँदै खेलमा दवाव राखेको थियो । प्रतिष्पर्धात्मक रहेपनि वडा नं. १५ ले गोल गर्न नसक्दा खेलको अन्तिम समयमा वडा नं. १३ ले अर्काे गोल थपेर उपाधि हात पारेको हो ।
मेयरकपमा कुल ३९ खेल भएका थिए । यस अघि पनि पटक पटक मेयर कप जितेको वडा नं. १३ ले सातौं संस्करणमा पनि जित हासिल ग¥यो । सातौं संस्करणमा जित हासिल गरेको वडा नं. १३ ले नगद एक लाखसहित शिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेको वडा नम्बर १५ ले नगद ५० हजारमा चित्त बुझाउनु प¥यो । वडा नं. १५ ले पनि नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो ।
यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नम्बर १३ का सुगम पुन हुनुभयो । उत्कृष्ट प्रशिक्षक वडा नम्बर १३ का इराक घर्ती, उत्कृष्ट गोल रक्षक वडा नम्बर १३ कै भीम पुन, उत्कृष्ट मिड फिल्ड वडा नम्बर १३ का प्रमोद बुढा, उत्कृष्ट रक्षापंक्तिमा वडा नम्बर १३ कै उज्वल कुमार चौधरी हुनुभयो ।
यसैगरी, प्रतियोगिताभर खेलेको खेलका आधारमा वडा नम्बर १५ का सुशील बानियाँ सर्वाधिक गोलकर्ता बन्नुभएको छ । प्रतियोगिता अवधिभर उहाँले कुल १४ गोल गर्नुभयो । वडा नम्बर १५ का जीवन बुढाथोकी उत्कृष्ट फरवार्ड हुनुभयो । प्रतियोगितामा सहभागी कुल १८ टीम मध्य अनुशासित टीम वडा नम्बर १ बनेको छ ।
घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता अन्तरगत पालिकाभरका कुल १९ वडा मध्ये वडा नम्बर ९ बाहेक सबै वडाको सहभागीता रहेको थियो । फाईनल खेलमा भएको दुई गोलसँगै कुल ३९ खेलमा कुल एक सय ८८ गोल भएको छ ।
घोराही मेयर कप फुटबलमा प्रथम संस्करण जितेको वडा नं. १५ लाई सातौं संस्करण जित्ने अवसर थियो । प्रथम मेयरकप पछि वडा नं. १५ ले उपाधी जित्न सकेको छैन । दोस्रो र तेस्रो संस्करण जितेको वडा नं. १३ ले सातौं मेयर कप जितेर जितको ह्याट्रिक बनाएको छ । वडा नम्बर १३ ले, चौथो र पाँचौं संस्करणमा जित हासिल गरेको थियो । यसैगरी वडा नम्बर १८ ले र छैठौं संस्करण वडा नम्बर १७ ले उपाधि जितेका थिए । गत बर्षको बिजेतामध्ये वडा नं. १७ यस पटक लिक चरणबाट र वडा नं. १८ क्वाटरफाइनल खेलबाट बाहिरिएका थिए ।
यसअघि सेमिफाइनलमा वडा नम्बर १३ ले वडा नम्बर ६ लाई तथा वडा नम्बर १५ ले १४ लाई हराउँदै फाईनलमा प्रवेश गरेका थिए । यो वर्ष उपाधि जितेसँगै वडा नम्बर १३ तीन पटक उपाधि जित्न सफल भएको भन्दै वडामा रहेका विभिन्न संघ संस्थाले सम्मान गरेका छन् । २०७५ सालदेखि शुरु भएको मेयर कप फुटबल प्रतियोगितासँगै पालिकाले नगर खेलकुद विकास समिति गठन गरेर वार्षिक कार्यतालिका बनाएर खेल आयोजना गर्दै आएको नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनले जानकारी दिनुभयो ।
पालिकास्तरमा खेलकुदको विकास गर्न घोराही उपमहानगरपालिकाले खेलकुदका गतिविधि संचालन गर्दैआएको छ । मेयर कपबाट उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीहरुबाट आगामी फागुनमा हुने घोराही गोल्डकपका लागि छनौट गरिने छ । प्रतियोगिता समापनको अवसरमा खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दै उपप्रमुख हुमा डिसीले खेलकुदको विकासका लागि पालिकाले विशेष ध्यान दिएको बताउनुभयो । खेलकुदको विकाससँगै स्वस्थ नागरिक उत्पादनका लागि हरेक वडामा खेल मैदानको अवधारण अनुसार काम अघि बढाइएको उहाँको भनाई थियो ।
यसैबीच, खेलाडीलाई हौसला स्वरुप मेयर कप विजेता वडा नम्बर १३ लाई बडहरास्थित गोदावरी ईंग्लिश मिडियम स्कुल जेम्सले नगद २१ हजार रुपैयाँ प्रदान गरेको विद्यालयका प्रवन्ध निर्देशक विष्णुप्रसाद दाहालले बताउनुभयो ।