नीजि क्षेत्रमा अव्वल विद्यालयका रुपमा स्थापित
राप्ती पोष्ट
घोराही, पुस । घोराहीमा रहेको गोर्खा इन्टरनेशनल पव्लिक सेकेन्डरी स्कुलले स्थापनाको सत्ताइसौं बार्षिकोत्सव मनाएको छ । साताव्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै आएको विद्यालयले बुधबार औपचारिक कार्यक्रम गरेर २७ औं बार्षिकोत्सव मनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद घर्तीमगरको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको उद्घाटन लुम्विनी प्रदेशका उद्योग मन्त्री प्रचण्ड विक्रम न्यौपानेले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै न्यौपानेले सरकारले नीजि क्षेत्रले शिक्षा क्षेत्रमा गरेको योगदानको कदर गर्न नसकेको बताउनुभयो । उहाँले नेपालमा नीजि क्षेत्रका कारणले गर्दा गुणस्तरिय शिक्षा विद्यार्थीहरुले पाइरहेको चर्चा गर्नुभयो ।
राज्यले सरकारी विद्यालयमा मात्रै लगानी गरिरहेको भन्दै आगामी दिनमा नीजि विद्यालयमा पनि भौतिक निर्माण र छात्रबृृत्तीका लागि लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले सरकारी विद्यालयमा मात्रै भौतिक निर्माण र शिक्षकको तलव भत्ताका लागि लगानी गरिरहेको भन्दै आगामी दिनमा नीजि विद्यालयमा पनि भौतिक संरचना निर्माणका लागि लगानी गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा गोर्खा गु्रपका प्रवन्ध निर्देशक नौलसिंह जिएमले गोर्खा गु्रप अन्तरगत अहिले १० हजार विद्यार्थीहरुले शिक्षा हासिल गरिरहेको जानकारी गराउनुभयो । उहाँले शिक्षक, विद्यार्थी र अभिभावकमध्य शिक्षक सवैभन्दा महत्वपूर्ण पक्ष रहेको चर्चा गर्दै शिक्षा क्षेत्रको विकासका लागि तालिम दिने निकायको अभाव रहेको बताउनुभयो । उहाँले अहिले न सरकारसंग न त कुनै अन्य निकायसंग शिक्षकलाई तालिम दिने संयन्त्र नरहेको बताउनुभयो । पढेका शिक्षक भएपनि तालिमको आवश्यकता पर्ने भन्दै उहाँले आफूहरुले काठमाडौं विश्व विद्यालयसंग सहकार्य गरेर तालिमको व्यवस्था गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयमा अध्यापनरत शिक्षकलाई तालिम सिकेको प्रमाण पत्र प्रदान गरिएको थियो । काठमाडौं विश्व विद्यालयले नियमित रुपमा तालिम प्रदान गरिरहेको र तीन क्रेडिट आवर पुरा गरेका शिक्षक, शिक्षिकालाई प्रमाण पत्र प्रदान गरिएको थियो । प्रवन्ध निर्देशक जिएमले नीजि क्षेत्रमा रहेका शिक्षकहरुलाई तालिम दिने संयन्त्र निर्माण गर्न प्याव्सनले पहल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल मानसिंह जिएमले विद्यालयका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले गएको बर्ष मात्रै गोर्खाबाट उच्च मावि पास गरेक ५७ जनाले विभिन्न छात्रवृत्तीमा नाम निकाल्न सकेको जानकारी दिनुभयो । उहाँले गएको बर्ष विद्यालयका लागि निकै महत्वपूर्ण बर्ष रहेको बताउनुभयो । घोराही उपमहानगरपालिकाले सम्मान गरेको, विद्यालयका छात्र उत्सव घिमिरले देशका विद्यार्थीलाई उछिन्दै प्लस टुमा उत्कृष्ठ हुन सकेको, बक्तृत्वकलामा देशमै दोस्रो स्थान हासिल गर्न सकेको बताउनुभयो ।
यसका साथै उहाँले हालसम्म तीन सय जति डाक्टर विद्यालयका विद्यार्थीहरु भएको र छ सय भन्दा बढी इञ्जिनियर भएको जानकारी दिनुभयो । यस्तै नेपाली सेना र प्रहरी लगायत निजामती सेवामा ठूलो संख्यामा आफ्नो विद्यालयका विद्यार्थीहरु पुगेको बताउनुभयो । उहाँले विद्यालयले शिक्षाको क्षेत्रमा गरिरहेको लगानी र योजनाका बारेमा जानकारी गराउनुभएको थियो । नेपाली सेना र भुपु प्रहरीका सन्तानलाई सहुलियत दिने निर्णय अनुसार करिव दुई सय जनालाई सहुलियतमा अध्ययन गराइरहेको, विद्यालयमा मनोपरामर्स दिनका लागि शिक्षकको व्यवस्था गरिएको, पढाउनेहरुलाई तालिम दिने गरिएको, खेलकुदको क्षेत्रमा विद्यार्थीहरुले राम्रो गरिरहेको बताउनुभयो ।
घोराहीमा स्थापना भएको विद्यालयले हाल लमही, तुलसीपुर र लालमटियामा पनि विद्यालय संचालन गरिरहेको छ । यसका साथै उच्च शिक्षाको क्षेत्रमा गोर्खा गु्रपले लगानी गरिरहेको छ । विद्यालयको २७ औं स्थापना दिवसका अवसरमा विद्यालयबाट उत्कृष्ठ नतिजा सहित उच्च शिक्षामा पुगेका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा शिक्षकलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा प्याव्सनका केन्द्रिय सचिव यादव गिरी, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, दाङका प्रहरी प्रमुख अर्जुन प्रसाद तिमिल्सिना, काठमाडौं विश्व विद्यालयका लक्ष्मण लुईटेल लगायत बोल्नुभएको थियो । कार्यक्रममा गोर्खा माविका विद्यार्थीहरुले नृत्य र अभिनय लगायतका प्रस्तुती राखेका थिए । कार्यक्रमको संचालन विद्यालयका शिक्षक शोभाकर पन्थीले गर्नुभएको थियो ।