हनुमान इट्टा उद्योगद्वारा नियमनकारी निकायलाई नै चुनौती
राप्ती पोष्ट
दाङ, ६ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मा रहेको हनुमान इट्टा उद्योगले प्रशासनको निर्देशन नटेरेको पाइएको छ । उद्योग मन्त्रालयले जाडो याममा इट्टा उद्योगले नयाँ इट्टा पोल्दा बायु प्रदुषण हुने भन्दै पुस मसान्तपछि मात्रै आगो लगाउने निर्णय गरेको थियो । सोही अनुसार घरेलु तथा साना उद्योग कार्यालय दाङले स्थलगत अध्ययन गरी हनुमान इटटा उद्योगलाई तत्कालै आगो निभाउनका लागि दिएको निर्देशन लत्याएको पाईको छ ।
घरेलु तथा साना उद्योग कार्यालयले गएको पुस २ गतेका दिन नै उद्योगलाई पत्र लेखेर जानकारी गराएको थियो । मन्त्रालयको पत्रअनुसार घरेलु कार्यालयले गएको मंसिर १८ गतेका दिन नै दाङ जिल्लाका सवै उद्योगलाई पत्राचार गरेको बताएको छ । यसका साथै सार्वजनिक सुचना जारी गरेर पुस मसान्तपछि अर्थात माघमा मात्रै इट्टा पोल्ने कार्य थाल्न निर्देशन दिएको थियो ।
यस अघि दाङ देउखुरी इट्टा व्यवसायी समितिले आफ्नो एक सदस्य हनुमान इट्टा उद्योगले सरकारको निर्णय अवज्ञा गरेको बारेमा घरेलु कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायतका निकायमा जानकारी गराएको थियो । घरेलु तथा साना उद्योग कार्यालयबाट खटिएको टोलीले हनुमान इट्टा उद्योगले गएको मंसिर २८ गतेका दिन नै उद्योगमा आगो लगाएको प्रतिवेदन तयार गरेको थियो । मौखिक रुपमा मात्रै होइन लिखित रुपमा नै कार्यालयले उद्योगलाई आगो निभाउनका लागि निर्देशन दिइसकेको छ । गएको पुस १ गतेका दिन नै गएको घरेलुको टोलीले पुस २ गतेका दिन हनुमान इट्टा उद्योगलाई आगो बन्द गर्न लिखित निर्देशन दिएको थियो । जिल्ला प्रशासन कार्यालय दाङले समेत जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखेर घरेलुको टीमलाई आवश्यक पर्ने शान्ति सुरक्षाको व्यवस्था गर्न भनेको थियो ।
दाङमा मात्रै होइन देशभरका इट्टा उद्योगले पुस पछि मात्रै नयाँ इट्टा पोल्ने अनुमती पाएका छन् । गएको कात्तिक ३० गतेका दिन औद्योगिक व्यवसाय ऐनको दफा २० उपदफा १० अनुसार उद्योग तथा आपुर्ती मन्त्रीको अध्यक्षमा बसेको औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डको २४३ औं बैठकले इट्टा उद्योगबाट हुने प्रदूषण न्यूनीकरण एवं कामदारको स्वास्थ्यलाई ध्यान दिदै इट्टा पोल्ने कार्य प्रत्येक बर्षको पुस मसान्तपछि मात्र सुुरु गर्ने निर्णय गरेको थियो । देशभर अन्य इट्टा उद्योगले मन्त्रालयको निर्णय कार्यान्वयन गरिरहेको अवस्थामा दाङमा मात्रै हनुमान इट्टा उद्योगले अटेरी गरिरहेको इट्टा व्यवसायी समितिका केन्द्रिय सदस्य किरणकुमार रेग्मीले जानकारी दिनुभयो । उहाँले अन्य केही जिल्लामा केही उद्योगले अटेर गरेकोमा सम्वन्धित वडाले नै निभाउने काम गरेको रेग्मीले बताउनुभयो ।
औद्योगिक व्यवसाय ऐन, २०७६ को अधिकार सहित उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले इट्टा उद्योगबाट हुने प्रदुषण न्युनिकरण गर्नका लागि पुस मसान्तपछि मात्रै इट्टा पोल्न सुरु गर्ने निर्णय गरेको थियो । जाडोको समयमा इट्टा उद्योगमा आगो लगाउँदा त्यसबाट उत्पन्न हुने धुँवा टाढा नजाने र जमिनको सतहमा नै रहने भएकाले सरकारले माघमा मात्रै इट्टा उद्योगलाई आगो लगाउने अनुमती दिएको छ । तर सरकारको निर्णय विपरित हनुमान इट्टा उद्योगले आगो लगाएको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सरकारी निर्णयको विरुद्ध जानेलाई कारवाही गर्नूको विकल्प नरहेको बताउनुभयो । उहाँले नियम अनुसार नचल्ने उद्योगलार्ई हदैसम्मको कारबाही गरिने बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालयले बातावरणलाई ख्याल गर्दै पुस मसान्तपछि मात्रै आगो लगाउनका लागि सार्वजनिक सुचना जारी गरेको भएपनि उद्योगले अटेर गरेको उहाँको धारणा छ ।
दाङका सवै व्यवसायीहरुले सरकारी नियम मानिरहेको अवस्थामा एउटाले मात्रै नियम विपरित कार्य गरेको मात्रै नभइ नियमनकारी निकायले दिएको निर्देशन समेत नमानेको देखिन्छ । दाङ देउखुरी इट्टा उद्योग व्यवसायी समितिले हनुमान इटट उद्योगलाई नियम पालना गराउनका लागि अनुरोध गर्दा आफूले कुनै पनि हातलमा बन्द नगर्ने चेतावनी दिएको समितिका पदाधिकारीको भनाई छ । ‘मैले सकेको मैले गर्छु, तिमीहरुले सकेको तिमीहरुले गर्नु’ भनेर धम्की दिएको एक पदाधिकारीले बताए ।