राजनीति सही नहुँदा साहित्यमा बाछिटा–गिरी
राप्ती पोष्ट
दाङ, पुस । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाको १२ औं अधिवेशन तथा ३२ औं स्थापना दिवस बुधबार घोराहीमा सम्पन्न भयो । प्रलेस दाङका अध्यक्ष भुवन देवकोटाको अध्यक्षतामा भएको स्थापना दिवस तथा अधिवेशनको उद्घाटन प्रलेसका पूर्व केन्द्रिय अध्यक्ष तथा भाषा आयोगका सदस्य डा. अमर गिरीले गर्नुभएको थियो ।
अधिवेशन उद्घाटन गर्दै डा. गिरीले नेपालमा राजनीतिले सहि दिशा पक्डन सकेका कारणले गर्दा अन्य संगठनहरु पनि समस्यामा परेको बताउनुभयो । उहाँले राजनीतिमा विकृति विसंगतीको बताउँदै राजनीतिमा रहेको विकृती अन्त्यका लागि राजनीति दलहरुले नै पहल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो । ‘राजनीतिमा रहेको विकृतिले साहित्यलाई पनि छोएको छ, राजनीति सहि नहुँदा त्यसको बाछिटा अनेत्र पनि पर्दोरहेछ ।’
उहाँले समाज रचनात्मक बन्न नसकेको उल्लेख गर्नुभयो । चरम मूल्य विघटनको अवस्थाबाट समाज गुज्रदै गएको छ भन्दै डा. गिरीले नेपाली राजनीतिमा देखिएको समस्याका कारणले गर्दा अनेत्र त्यसको असर परेको बताउनुभयो । उहाँले मूल्य विघटनको विरुद्ध साहित्यकारले मात्रै जुध्न सक्ने उल्लेख गर्नुभयो । साहित्यले राजनीति र समाजलाई खवरदारी गर्न सक्ने बताउनुभयो ।
नेपालको साहित्यमा पनि राजनीतिमा जस्तै गुटको प्रभाव रहेको भन्दै राजधानीमा गुटको प्रकोप बढी रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ नेपालमा राजनीति मात्रै होइन साहित्य पनि गुटमा विभाजित छ । यो कुरा जिल्लामा देखिदैन, काठमाडौंमा सवै कुरा थाहा पाइन्छ । राजधानीमा यो अझ बढी झाङ्गीएको छ ।’ कार्यक्रममा बरिष्ठ बापमन्थी चिन्तक बरिष्ठ अधिबक्ता बामदेव शर्मा आचार्य, प्रगतिशिल लेखक संघका केन्द्रिय सल्लाहकार पद्मप्रसाद शर्मा, राप्ती साहित्य परिषदका पूर्व केन्द्रिय अध्यक्ष पुरुषोत्तम खनाल, सकारात्मक सोचका अभियन्ता सुन्दर गौतम, लेखक संघका अध्यक्ष खगराज न्यौपाने लगायत बोल्नुभएको थियो । यस्तै पुरन शर्मा दिप्ती शिखा चौधरी, हिरा डिसी, देवकुमारी खत्री लगायतले रचना बाचन गनुभएको थियो ।
आठजनालाई पुरस्कार
प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले आठ जना साहित्यकारलाई पुरस्कृत ग¥यो । प्रलेसले नगद सहित साहित्कारलाई पुरस्कृत गरेको हो । यसरी पुरस्कृत हुनेहरुमध्य प्रगतिशील साहित्य पुरस्कार साहित्यकार तथा राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष डा. टिकाराम उदासीलाई प्रदान गरिएको थियो । यसैगरी देवि पोखरेल र अम्विका पोखरेलले स्थापना गर्नुभएको सुदय केशव तिलोत्तमा साहित्य पुरस्कार पुरुषोत्तम खनाललाई, प्रलेस दाङमा प्रलेस दाङका पूर्व अध्यक्ष तथा केन्द्रिय समितिका सल्लाहकार पद्मप्रसाद शर्मा र श्रीमती शान्तादेवी अधिकारीले स्थापना गर्नुभएको अनन्त टिका प्रतिभा पुरस्कार साहित्यकार शालिकराम रजौलेलाई प्रदान गरिएको थियो ।
यसैगरी कृष्ण गायत्रा साहित्य पुरस्कार डा. लोकराज पराजुलीलाई, रामप्रसाद जैसी र उहाँका भाई नारदमणि पोखरेलले स्थापना गर्नुभएको चिन्तामणि जमुना साहित्य पुरस्कार छविलाल कोपिलालाई, ऋषिराज जंगली र उहाँको परिवारद्वारा स्थापित लिला फना बसन्ता श्रष्ठा सम्मान साहित्यकार सितादेवी सापकोटालाई, श्याम चिसले स्थापना गर्नुभएको गोविन्द चिस सर्जक पुरस्कार गोविन्द खड्कालाई र भक्तिराम ज्ञवालीले आफ्ना भाईको सँझनामा स्थापना गर्नुभएको गोविन्द ज्ञवाली साहित्य पुरस्कार दिप्तीशिखा चौधरीलाई प्रदान गरिएको थियो ।
शर्मालाई सम्मान
प्रलेसको स्थापना दिवस तथा बार्षिकोत्सवका अवसरमा दाङका पुराना बापमन्थी नेता तथा लेखक बामदेव शर्मा आचार्यलाई सम्मान गरिएको थियो । पंचायती व्यवस्थाको समयमा साहित्य र राजनीतिका माध्यमबाट समाज परिवर्तनका लागि योगदान गर्नुभएका शर्मालाई सम्मान गरिएको थियो । यसका साथै प्रलेसले प्रलेसको संस्थागत विकासका लागि योगदान दिएको भन्दै घोराही उपमहानपालिकालाई पनि सम्मान गरिएको थियो ।
नयाँ कार्यसमिति चयन
यसैबीच अधिवेशनको बन्दसत्रले नयाँ कार्यसमिति चयन गरेको छ । चन्द्रबहादुर थापाको अध्यक्षतामा गठित १३ सदस्यीय कार्यसमिति मध्य पदाधिकारी सहित ११ सदस्यीय कमिटी चयन गरिएको छ । जसको उपाध्यक्षमा रेशम विसी, सचिव पुरन शर्मा, सह सचिवमा सुशिला आचार्य र कोषाध्यक्षमा दामोदर पौडेल हुनुहुन्छ ।
यसैगरी सदस्यहरुमा धु्रवराज अधिकारी, रंजिता अधिकारी, केशव शर्मा घिमिरे, गोविन्द खड्का, सूर्य विसी र दिप्ती शिखा चौधरी हुनुहुन्छ । नव गठित कार्यसमितिलाई अध्यक्ष मण्डलका अध्यक्ष पुरुषोत्तम खनाल लगायतले शुभकामना दिनुभएको थियो । प्रलेसको अधिवेशन हरेक ३ बर्षमा हुने गरेको छ ।