बामपन्थी नेता शर्मालाई सम्मान गरिने
राप्ती पोष्ट
घोराही, मंसिर । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले ३२ औं स्थापना दिवस तथा १२ औं अधिवेशनमा दाङका आठ जना साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । प्रलेस दाङको प्रतिभा छनौट समितिको मंगलबार बसेको बैठकले प्रलेस दाङमा स्थापित पुरस्कारका लागि प्रतिभा छनौट गरेको हो ।
प्रलेस दाङका अध्यक्ष तथा प्रतिभा छनौट समितिका संयोजक भुवन देवकोटा शरदको अध्यक्षतामा बसेको प्रतिभा छनौट समितिले आठ जना साहित्यकारलाई पुरस्कृत गर्ने, एक जना अग्रज बामपन्थी नेतालाई सम्मान गर्ने र सांगठिक हितका लागि सहयोग गर्ने एउटा संस्थालाई सम्मान गर्ने निर्णय गरेको छनौट समितिका सदस्य केशव थापाले जानकारी दिनुभयो ।
समितिले गरेको निर्णय अनुसार प्रलेस दाङले यस बर्षको प्रगतिशील साहित्य पुरस्कार साहित्यकार तथा राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष डा. टिकाराम उदासीलाई प्रदान गरिने भएको छ । यसैगरी देवि पोखरेल र अम्विका पोखरेलले स्थापना गर्नुभएको सुदय केशव तिलोत्तमा साहित्य पुरस्कार पुरुषोत्तम खनाललाई प्रदान गरिने भएको छ । यो पुरस्कार पहिलो पटक प्रदान गर्न थालिएको प्रलेस दाङले जनाएको छ ।
यसैगरी प्रलेस दाङमा प्रलेस दाङका पूर्व अध्यक्ष तथा केन्द्रिय समितिका सल्लाहकार पद्मप्रसाद शर्मा र श्रीमति शान्तादेवी अधिकारीले स्थापना गर्नुभएको अनन्त टिका प्रतिभा पुरस्कार साहित्यकार शालिकराम रजौलेलाई प्रदान गरिने भएको छ । रजौरे प्रलेस दाङका पूर्व कोषाध्यक्ष समेत हुनुहुुन्छ । यसैगरी गतबर्षदेखि प्रदान गर्न थालिएको कृष्ण गायत्रा साहित्य पुरस्कार डा. लोकराज पराजुलीलाई प्रदान गर्ने निर्णय गरिएको छ । यो पुरस्कार कृष्ण गायत्रा स्मृति प्रतिष्ठानले स्थापना गरेको हो । प्रलेसका केन्द्रिय सदस्य समेत रहनुभएका पूर्व अध्यक्ष रामप्रसाद जैसी र उहाँका भाई नारदमणि पोखरेलले स्थापना गर्नुभएको चिन्तामणि जमुना साहित्य पुरस्कार छविलाल कोपिलालाई प्रदान गर्ने निर्णय भएको छ । ऋषिराज जंगली र उहाँको परिवारद्वारा स्थापित लिला फना बसन्ता श्रष्ठा सम्मान साहित्यकार सितादेवी सापकोटालाई प्रदान गरिने भएको छ । प्रलेसमा स्थापित आठवटा पुरस्कार मध्य छ वटा पुरस्कारको राशी १० हजारका दरले रहेको छ भने दुईवटा पुरस्कार पाँच हजार रासीका रहेका छन् ।
सोही क्रममा प्रलेसमा श्याम चिसले स्थापना गर्नुभएको गोविन्द चिस सर्जक पुरस्कार गोविन्द खड्कालाई प्रदान गरिने भएको छ भने भक्तिराम ज्ञवालीले आफ्ना भाईको सँझनामा स्थापना गर्नुभएको गोविन्द ज्ञवाली साहित्य पुरस्कार दिप्तीशिखा चौधरीलाई प्रदान गर्ने निर्णय गरिएको प्रलेस दाङका अध्यक्ष भुवन देवकोटाले जानकारी दिनुभयोे ।
आगामी पुस ३ गतेका दिन प्रलेसको स्थापना दिवस तथा बार्षिकोत्सवका अवसरमा दाङका पुराना बापमन्थी नेता तथा लेखक बामदेव शर्मा आचार्यलाई सम्मान गर्ने निर्णय गरिएको छ । प्रलेसले हरेक बर्ष एकजना अग्रज साहित्यकार तथा बामपन्थी चिन्तकलाई सम्मन गर्दै आएको छ । यसका साथै प्रलेसले प्रलेसको संस्थागत विकासका लागि योगदान दिएको भन्दै घोराही उपमहानपालिकालाई पनि सम्मान गर्ने निर्णय गरेको छनौट समितिका संयोजक देवकोटाले जानकारी दिनुभयो । २०५० साल पुस ३ गतेका दिन स्थापित प्रलेस दाङले हरेक बर्ष पुसको ३ गतेका दिन स्थापना दिवस र श्रष्टा सम्मान कार्यक्रम गर्दै आएको छ ।