spot_img
spot_img

तरकारीको विषादी परिक्षणका लागि प्रयोगशाला माग गर्दै ध्यानाकर्षण

राप्ती पोष्ट

घोराही, कात्तिक । तरकारीमा अत्यन्त धेरै विषादी प्रयोग भइरहदा त्यसले मानव स्वास्थ्यमा गम्भिर असर गरिरहेको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले घोराही उपमहानगरपालिकाको ध्यानाकर्षण गरएको छ । तरकारीमा बढ्दो विषादी रोक्न तथा आम नागरिकको स्वास्थ्य र कृषकको आर्थिक अवस्थामा सुधार ल्याउन माग गर्दै शुक्रबार घोराही उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाइएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष लब अधिकारीको नेतृत्वमा गएको टोलीले घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीलाई भेट गरी तरकारी तथा फलफूलमा बढ्दो विषादीको प्रयोग रोक्न र मानव स्वास्थ्यमा गम्भीर बन्न ध्यानाकर्षण गराएको थियो । नगरप्रमुखलाई बुझाइएको सात बुँदे ज्ञापन पत्रमा विषादी परिक्षणका लागि प्रयोगशाला राख्नुपर्ने लगायतका माग समेटिएको छ ।

तरकारी, फलफुल, दुग्धजन्य र कतिपय खाद्य वस्तुहरु खुल्ला रुपमा विक्रि वितरण भई रहेको अवस्थामा उत्पादकको जानकारी समेत नभई उपभोक्ताले प्रयोग गर्दा नागरिकको स्वास्थ्यमा गम्भीर असर गरिरहेको पाईएकाले विषादीयुक्त वस्तु विक्रि पूर्व नियन्त्रण गर्ने विषयमा ध्यान दिन आग्रह गरिएको छ ।

पछिल्लो समय क्यान्सर भयानक रुपमा बढीरहेको भन्दै क्यान्सर रोगका बिरामीको संख्या दिन प्रतिदिन बढ्नुको कारण विषादीयुक्त तरकारी, फलफुल र दूधजन्य वस्तुको दुस्प्रभाव देखिएको निश्कर्ष निकालिएको छ । विषादी प्रयोग सम्बन्धी मापडण्ड पालना गर्न गराउन नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले स्थानीय सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

ज्ञापन पत्रमा उपमहानगरपालिकाले आवश्यकता अनुसार तरकारी, फलफुल दुधजन्य वा खाद्य वस्तुमा विषादी प्रयोग भए नभएको साथै उक्त वस्तुमा पोषणको तत्व परिक्षण गर्ने अत्याधुनिक ल्याव तत्काल सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन अनुरोध गरिएको छ । कृषक तथा विक्रेताहरुलाई, कृषकले उत्पादन गरेको तरकारी फलफूल, खाद्य वस्तु र दुधजन्य वस्तुमा विक्रि गर्नु अगाडी स्टिकर टास गर्ने र साग सब्जीहरुमा डोरीको ठाउँमा स्टीकरले बाध्ने व्यवस्था अनिवार्य गर्न र उक्त स्टीकरमा उत्पादकको नाम, ठेगाना, सम्पर्क नम्बर, सम्भव भएसम्म पान नम्बर, उत्पादन मिति र मूल्य उल्लेख गरि स्टीकर छपाई गरि तरकारी, फलफुल, खाद्य वस्तु र दुधजन्य वस्तुमा उक्त स्टिकर टासेर वा बाधेर मात्र विक्रि वितरण गर्ने वातावरण सिर्जना गर्न भनिएको छ ।

कृषक तथा बिक्रेताहरुलाई तरकारी फलफुल खाद्य वस्तु र दुधजन्य वस्तुमा विषादी सम्बन्धी मापदण्ड र खाद्य सुरक्षा सम्बन्धी तालिम उपमहानगरपालिकाले प्रदान गर्ने वातावरण मिलाउन पनि आग्रह गरिएको छ । भारत, चीन वा अन्य मुलुकमा उत्पादित तरकारी, फलफुल दुधजन्य वा खाद्य वस्तुमा समेत विशेष निगरानी गर्न स्टिकर टाँस गर्न अनिवार्य गर्न पनि भनिएको छ ।

बजारमा स्टिकर लगाइएका तरकारी, फलफुल दुधजन्य वा खाद्य वस्तुहरुका उत्पादकहरु पहिचान हुने गरि विक्रि वितरणको वातावरण तयार भएपछि बिक्रीका लागि राखिएका बस्तुहरुबाट हरेक दिन खरिद गरि उपमहानगरपालिकाले ल्याव टेष्ट गर्ने र अलग वेबसाइट बनाई ल्यावको विवरण सार्वजनिक गर्ने व्यवस्था मिलाउन भनिएको छ । विषादी प्रयोग सम्बन्धी मापदण्ड उल्लंघन गर्ने कृषि फर्म वा बिक्रेताहरुलाई कारवाहीको दायरामा ल्याउने, अर्गानिक उत्पादकलाई प्रोत्साहन गर्ने, पुरस्कृत गर्ने र त्यसका आधारमा अनुदान र सुविधा प्रदान गर्ने व्यवस्था मिलाउन पनि पालिकाको ध्यानाकर्षण गराईएको छ । हाल बजारमा स्पष्ट रुपमा देखिने, औषधीको प्रयोग गरि पकाईएका केराहरुको बिक्रि वितरणमा रोक लगाउन तत्काल निर्देशन गर्न समेत अनुरोध गरिएको छ । स्थानीय उत्पादन प्रयोग गरी समृद्ध राष्ट्र निर्माणमा योगदान गरौ भन्ने मुल नारालाई आत्मसाथ गर्दै दाङमा मंसिरमा फुड फेस्टिवल गर्न लागिएको जानकारी गराउँदै स्थानीय बस्तु प्रवद्र्धनमा सहकार्य गरी सहजीकरण गर्न समेत आग्रह गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै नगरप्रमुख चौधरीले नागरिकको स्वास्थ्य बचाउने अभियानमा पालिकाको साथ रहने बताउनुभयो । किसानले उत्पादन गरेका तरकारी, फलफूत तथा दुग्धजन्य बस्तुको वैज्ञानिक परिक्षण गर्न बजारीकरण थप प्रभावकारी बनाउन कसरी सकिन्छ भन्ने विषयमा कार्यपालिका, सरोकार निकायसँग आवश्यक छलफल परामर्श गरी कार्यान्वयन गरिने प्रतिवद्धता जनाउनुभयो ।

ज्ञापन पत्र बुझाउन नेपाल घरेलु तथा साना उद्योग महासंघकी महासचिव सीत मल्ल, महासंघका सदस्यहरु रेश्मीराज पाण्डे, सञ्जय बोहरा, विष्णु थापा, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका प्रदीप मजगैयालगायत पुग्नुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार