spot_img
spot_img

धान फल्ने खेत खोलामा परिणत भएपछि किसानको बिचल्ली

छबि पुरी/राप्ती पोष्ट

घोराही, कात्तिक । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ र ८ का किसानहरू पछिल्लो समय आएको बाढीले तीन बाली लाग्ने उर्वर जमिन बगरमा परिणत गरेपछि समस्यामा परेका छन् । ती वडाको गहतेरा, मानाखोला, समीघाट, अर्जुनखोला आसपासका किसानहरू बाढीले निम्त्याएको विपत्तिले पीडित बनेका छन् । सो क्षेत्रमा बसोबास गर्ने तथा खोला नजिक खेतबारी भएका किसानहरू बाढीको प्रकोपका कारण आफ्नो जीविकोपार्जनमा गम्भीर समस्या भोग्न बाध्य भएको बताएका छन् ।

बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गहतेरा डाबरका ६७ वर्षीय ढुंढीराज डाँगीको घर नजिकैबाट बग्ने मानाखोलाले वर्षमा तीन बाली फल्ने खेत बगर बनाई दिएको छ । माटैमाटो, मलिलो खेत अहिले बगरमा परिणत भएपछि ढुंडीराजको निद्रा हराएको छ । उहाँसँगै रहेका अलि पाखो तिरका खेतमा धानका बाला झुलेको देख्दा ढुंढीराजलाई आफ्नो खेतमा विगतका वर्षमा फल्ने गरेका बालीको याद मात्रै आईरहन्छ । ४५ मुरी धान फल्ने खेत यो वर्षको बाढीले बगर बनाई दिएपछि आफु र आफ्नो परिवार पाल्ने सहारा हराएको छ ।

ढुंढीराजको खेत बगरमा परिणत भएपछि अहिले खेतमा खोलासँगै ठूलाठूला ढुंगा बाहेक केही छैन । तीन बाली लगाउने यो खेत अहिले बाँझो बनेको छ । ‘हामीले यो खेतमा वर्षभरि धेरै परिश्रम गथ्र्यौं, कति मलिलो थियो । माटैमाटो भएको खेतीबाली पनि कति धेरै फल्थ्यो तर अहिले सबै बर्बाद भयो । खोलाले खेत सबै बगाएपछि अहिले ढुंगा मात्रै भएको छ । यो ढुंगा खाए भएन । यही ढुंगा बेचेर गुजारा चलाउँ भने पनि बेच्न मिल्दैन । कसरी बाँच्ने, के खाने भन्ने सोच्दा रातभर निद्रा लाग्दैन’ उहाँले भन्नुभयो ‘मनमा पीर चिन्ता मात्रै आउँछ । मेरो त बिजोग भएको छ । चामल किनेर खानुपर्ने बाध्यता आई लागेको छ ।

रासन बेसाएर खानेदिन आउँला भनेर उहाँले कहिले चिताउनुभएको थिएन । तर, आज खोलाले खेत कटान गरेपनि त्यही माना खोलासँगै बगेर मर्न पाए हुन्थ्यो भन्ने अवस्था बनाई दिएको छ । ‘खोलाले खेत मासेपछि माना चामल हरायो, आटो, पिठो सबै खोसियोे । एक्लै बसेर रोएर दिन काट्ने अवस्था आई लागेको छ । खेत ढुंगाले भरिएको छ । यस्तो हालत देखेर चाँडै मर्न पाए हुन्थ्यो भन्ने लागेको छ । कति दिन यसरी चल्ने होला । उता श्रीमतीको पीडा पनि उस्तै छ’ उहाँले भन्नुभयो ।
गहतेराका नुमाकान्त डाँगीले तीन बाली लगाउने खेतमा धान, गहुँ, र मकै खेती गर्दै आउनुभएको थियो । उहाँले वर्षभरि पर्याप्त अन्न उत्पादन गरेर आफ्नो परिवार पाल्ने योजनाका साथ खेतीपाती गर्दै आउनुभएको थियो । तर, बाढीले उहाँको खेत पुरै बगर बनाएपछि खेतीपाती गर्ने कुनै ठाउँ बाँकी राखेन । ‘अब त खेती गर्ने जमिन नै बाँकी छैन, बगर मात्र छ’ डाँगीले दुखेसो पौख्दै भन्नुभयो ‘यस्तो अवस्थामा हामी कसरी बाँच्छौं भन्ने चिन्ता छ । भएको बचेको खेतबारी जोगाउन सरकारले तत्काल तटबन्धनको काम गरिदिए हुन्थ्यो भन्ने हो । तर खै हाम्रो पीडा कसले पो सुन्थ्यो र ?’

मानाखोलाका समीर खत्रीको पीडा पनि उस्तै छ । यस्तै परिस्थितिको सामना उहाँलाई पनि गरिरहनु परेको छ । बाढीले उहाँको उर्वर जमिन बगाएर ढुंगाले भरिएको बगर बनाई दिएको छ । ‘तीन बाली लिने खेत थियो, धान, मकै, गहुँ बेचेर केही बचत हुन्थ्यो, तर अहिले खेती गर्न लायक जमिन नै छैन । सरकारले समयमै राहत दिनुपर्छ, खोला नियन्त्रणका लागि चाँडो काम गर्नुपर्छ । नभए यसले अझ धेरै क्षति गर्ने अवस्था छ’ उहाँले भन्नुभयो ।

माना खोलाले सो क्षेत्रका छ जना किसानको करीव दुई बिगाहा खेतलाई बगर बनाई दिएको छ । यसले खेतको नोक्सानी भएको छ । अर्कोतिर जीविका चलाउने आधार नै सकिएको छ । ‘खेत कटानको समस्या कुनै नयाँ होइन, तर यसको समाधानका लागि अझैसम्म ठोस पहल भएको छैन । सरकारले बाढी र कटान प्रभावित किसानलाई समयमै राहत कार्यक्रम ल्याएर पुनःस्थापित गर्नुपर्ने अत्यावश्यक छ’ समीरले भन्नुभयो ।

अर्जुन खोलाले तीन बाली लाग्ने खेत बगर बनाउँदै लगेपछि बंगलाचुली खैरेनी टारका किसानको पनि बिचल्ली भएको छ । अर्जुन खोलाको लगातारको कटानले खैरेनी टारका किसानहरू वर्षेनी ठूलो समस्यामा परिरहेका अर्जुन खोलाको कटानले देखाउने गरेको छ । खोलाले तीन बाली लाग्ने उर्वर खेतलाई क्रमशः बगरमा परिणत गरिदिएपछि स्थानीय किसानहरू आफ्नो जीविकोपार्जनको मुख्य स्रोत गुमाएर बिचल्लीमा परेका छन् । चैत धान, बर्खे धान, गहुँ, र मकै जस्ता मुख्य बाली लगाउने जमिन अहिले खोलाको कटानले कतिपय किसानको खेत बाँझो भएको छ । कतिको यो बर्खामा आएको बाढीले कटान गरेपछि खेत खोला बनेको छ ।

अर्जुन खोलाले बर्षेनी खेत कटान गर्दै लगेपछि उनीहरूको उत्पादन र जीविकामा ठूलो असर परेको छ । स्थानीय किसान जीवन खत्री भन्नुहुन्छ ‘पहिले हरेक वर्ष खेतमा तीन बाली लाग्थ्यो, धान, गहुँ, र मकै गरेर हामीलाई वर्षभरिका लागि खान पुग्थ्यो । तर, अहिले हाम्रो खेत विस्तारै बगर बन्दै गएको छ । खेती गर्न लायक जमिन नै छैन । यो अवस्था भई रहे खैरेनी टारका धेरै खेत खोला बन्नेछन् ।’

खत्री मात्र होइन, खैरेनी टारका धेरै किसानहरूले पनि आफ्नो खेत बगाएर बगर बनेको बताउनुहुन्छ । किसानहरूका अनुसार, खोलाको निरन्तर कटानले यहाँको उर्वर जमिनलाई पुरै बगरमा परिणत गर्न थालेको छ, जसले गर्दा किसानहरू दैनिक गुजाराका लागि अरु उपाय खोज्नुपर्ने अवस्थामा पुगेका छन् ।

अघिल्लो वर्ष पनि खोलाले करिब ५० रोपनीभन्दा बढी जमिन कटान गरिसकेको थियो । यो वर्षको बाढीले थप जमिनलाई बगर बनाएको छ । किसान पशुपति खत्रीले भन्नुभयो ‘हामीले खेती गर्न चाहेको भए पनि जमिनै छैन । अब खेत फर्काउने कुनै उपाय छैन, सरकारले केही गर्दैन भने हामीले के गर्ने ? खोला नियन्त्रणका लागि तटबन्ध गरिदिए हामीलाई अरु केही चाहिएको छैन तर त्यही काममा सरकारले ध्यान दिएको छैन ।’

बंगलाचुली ८ समीघाट बस्दै आउनुभएकी ६० वर्षीया बसन्तीदेवी खत्री प्राकृतिक विपत्तिको सामना गर्दै आफ्नो र अरु छिमेकीको खेत अर्जुनखोलाले बगाई दिएपछि चिन्तामा हुनुहुन्छ । बालीले हराभरा हुने खेत अर्जुनखोलाको बाढीले बगाएपछि बसन्तीेदेवी जस्तै अरु थुप्रै स्थानीय किसानको पीडा थपिदै गएको छ ।

बसन्तीदेवी खत्रीको खेत अर्जुनखोलाको किनारामा थियो, जहाँ वर्षौंदेखि परिश्रम गरेर अन्न उत्पादन गर्दै आउनुभएको थियो । तर, अविरल वर्षापछि आएको बाढीले खेत नै खोलामा पुर्याएपछि जीविका कसरी चलाउने भन्ने चिन्तामा पर्नुभएको छ ।
सो क्षेत्रका किसानहरू बाढीले खेतबारीमा क्षति पुर्याएपछि राहत र पुनस्र्थापनाको लागि सरकारको सहयोगको प्रतिक्षामा छन् । हालसम्म उनीहरुले ठोस राहत प्राप्त गरेका छैनन् । प्राकृतिक विपत्तिले किसानहरूको जनजीवन तहसनहस बनाएको छ । तीन बाली लिने खेत बगर बनेपछि यी किसानहरूको आर्थिक स्थिति अत्यन्तै कमजोर भएको छ । राहतको आशामा बसेका किसानहरूले समयमै सरकारी सहयोग नपाए भविष्यमा अझै ठूलो संकटको सामना गर्नुपर्ने अवस्था आउन सक्ने तर्फ उनीहरु थप सशंकित बनेका छन् ।

बर्षेनी अर्जुन खोलाको कटानले ल्याउने समस्याबाट हैरान किसानहरूले वर्षौंदेखि सरकार र स्थानीय प्रशासनसँग राहतको माग गर्दै आएका छन् । तर, हालसम्म कुनै ठोस समाधान वा सहयोग प्राप्त नभएको उनीहरूको गुनासो छ । गाउँपालिकाले अवस्था बारे जानकारी लिएपनि त्यसको समाधान कार्य अघि बढेको छैन ।

माना खोला, अर्जुन खोलाको कटानलाई नियन्त्रण नगर्ने हो भने खेतहरूले भविष्यमा पुरै उत्पादन क्षमता गुमाउने खतरा छ । किसानहरूले बाँकी रहेको खेतीयोग्य जमिन जोगाउन र खोलाको कटान नियन्त्रणका लागि तटबन्धलगायत ठूला संरचना निर्माण गर्ने माग गरिरहेका छन् । स्थानीय सरकारले कटान रोक्न प्रयास गर्नुपर्ने आवश्यकतामा जोड दिए पनि त्यस्ता योजना कहिले लागू हुने र आफुहरुको बिचल्ली कहिले अन्त्य गर्न सरकारले ध्यान दिए हुन्थ्यो भन्नेमा उनीहरुको पर्खाइ छ । तीन बाली लाग्ने खेत बगरमा परिणत हुँदा उनीहरूको आर्थिक अवस्था कमजोर बनेको छ । सरकार र सम्बन्धित निकायहरूले शिघ्र कदम नचाले, आफुहरूको अवस्था अझै जटिल बन्ने स्थानीय किसान बताउँछन् ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार