spot_img
spot_img

लागूऔषध दुव्र्यसन नियन्त्रणमा बढ्दो चुनौती

छबि पुरी /राप्ती पोष्ट

घोराही, भदौ । गएको असार १२ गते लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाई रहँदा सोही दिन तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ शुभविहानी टोलबाट लागुऔषधसहित तीन जना पक्राउ परे ।
१३ किलो लागुपदार्थ अफिमसहित उनीहरु पक्राउ परे । रुकुम पश्चिम आठविसकोट नगरपालिका वडा नम्बर ३ का ४० वर्षीय टेकबहादुर बोहरा, आठविसकोट नगरपालिका वडा नम्बर २ का ४५ वर्षीया मनकुमारी बोहरा र रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ६ का ३० वर्षीय मोहन पुनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गर्योे ।
गत बैशाख ३ गते लागुऔषधसहित एक महिलालाई प्रहरीले पक्राउ गर्यो । गढवा गाउँपालिका वडा नम्बर ८ कोइलावास नाकामा जाँचको क्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १३ डुमरगाउँकी ४१ वर्षीया सुकमाया बुढालाई ६ किलो ८२० ग्राम चरेससहित इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लियो ।

गत जेठ १५ गते लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परे । गढवाबाट लमहीतर्फ जाँदै गरेको रा ८ प ४७८९ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई लागुऔषध ब्राउन सुगर र नगद रकमसहित इलाका प्रहरी कार्यालय गढवाले पक्राउ गर्यो । पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका ७ बढवाका २० वर्षका सहिद रजा खाँ र सोही ठाउँकै २६ वर्षका महमद ईस्तिका खान रहेका छन् । उनीहरुको साथबाट ३ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर, १ लाख ३९ हजार ५ सय रुपैँया नगद, ५ थान मोबाइल र एक थान मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

गत वर्षको माघ २० गते पनि लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का दिवश ढकाल हुन् । उनको साथबाट ३ सय ३० मिलीग्राम ब्राउनसुगरसहित प्रहरीले नियन्त्रणमा लिएको थियो । गत फागुन १५ गते लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परे । लमही नगरपालिका वडा नम्बर ६ देउपुर निवासी २२ वर्षीय सरोज नेपालीलाई प्रहरीले लमही नगरपालिका ५ हस्पिटल चोक नजिकबाट लागूऔषध ब्राउनसुगर १ ग्राम ९६ मिलिग्रामसहित पक्राउ गर्यो ।

दाङमा प्रहरीले लागू औषधसहित हरेक महिना विभिन्न व्यक्तिलाई पक्राउ गर्दै आएको छ । पक्राउ पर्ने अधिकांश भरिया वा सेवनकर्ता रहने गरेका छन् । लागू औषध कहाँबाट कसले ल्याउने काम गर्छ भन्ने कुरा अझैसम्म पत्ता लाग्न सकेको छैन ।
जिल्लामा आर्थिक वर्ष २०८०–०८१ मा जिल्ला प्रहरी कार्यालयमा ५२ वटा लागू औषधका मुद्दा दर्ता भएका छन् । ५२ वटा लागू औषधका मुद्दा दर्ता हुँदा प्रहरीले ८० जना पुरुष र १४ जना महिलालाई पक्राउ गरेर मुद्दा चलाएको छ । प्रहरीका अनुसार हरेक महिनामा लागू औषधका घटनामा पक्राउ परेका छन् । दाङमा लागू औषध कारोबारीको संख्यामा कमी आउन सकेको छैन । जिल्लामा ३ आर्थिक वर्षमा १२४ वटा मुद्दा दर्ता भएका छन् भने २६० जना पक्राउ परेका छन् । आर्थिक वर्ष २०७९–८० मा ५९ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका थिए । यस्तै आर्थिक वर्ष २०७८–७९ मा ५२ वटा मुद्दा दर्ता हुँदा ११६ जना पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार लागू पदार्थ दुव्र्यसनको समस्या समाजमा डरलाग्दो रुपमा फैलिरहेको छ । यसको रोकथामका लागि परिवार, अभिभावक र समुदाय जागरुक हुनुपर्ने बेला भएको उहाँले बताउनुभयो । बढ्दो लागुऔषध दुव्र्यसन तथा ओसारपसार न्यूनीकरणका लागि सबैको सामूहिक प्रयासले गाउँ तहसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको प्रहरी नायब उपरीक्षक तिमल्सिनाको भनाई छ ।

दाङमा लागू पदार्थ प्रयोगकर्ता र ओसारपसारका घटना बढ्दै जाँदा प्रहरीको टाउको दुखाईको विषय पनि बनेको छ । दाङ लागू औषधको प्रमुख कारोबार केन्द्र बन्दै गएको प्रहरीको प्रतिवेदनले नै देखाउँछ । ब्राउन सुगर, गाँजा, अफिम, हिरोइन, चरेस लगायत लागु औषधको ओसारपसार तथा सेवन गर्नेहरुको बढ्दै गएको प्रहरी अनुसन्धानले देखाएको छ ।
यसमा अधिकांश युवाहरुको संलग्नता देखिने गरेको छ । लागु औषध प्रयोगकर्ता एकातिर बढी रहेका छन् । अर्कोतिर लागुऔषध ओसारपसारमा संलग्न हुने भरियाहरु पनि बढी रहेका छन् । बिशेष गरी रुकुम, रोल्पा हँुदै दाङ भित्रिने गरेको लागु औषध नेपालगञ्ज हुँदै भारतसम्म कारोबार हुने गरेको छ ।

अहिले हुने करीव ९० प्रतिशत आपराधिक घटनामा लागुऔषधका प्रयोगकर्ता संलग्न हुने गरेको प्रहरी अध्ययनले भन्ने गरेको छ । जिल्लाको बजार क्षेत्रमा १२ देखि २५ वर्ष उमेर समुहका युवाहरु लागूऔषधको कुलतमा फसेको पाईएको छ । दाङ ट्रान्जिट पोईन्टका रुपमा रहेको हुँदा यहाँ लागूऔषधका कारोबारीसँगै प्रयोगकर्ताको संख्या वर्षेनी बढ्दै गएको प्रहरी अनुसन्धानले देखाएको छ ।

बजार क्षेत्रदेखि ग्रामीण क्षेत्रसम्म लागूऔषधका प्रयोकर्ताहरु अहिले फैलिँदै गएका छन् । लागुओषध दुव्र्यसनमा फस्नेहरुमध्ये कोही सुधार गृहमा पुगेका छन् । कोही प्रहरी नियन्त्रणमा पर्दा कारगारमा सजाय भुक्तान गरिरहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक तिमल्सिनाले जानकारी दिनुभयो । लागुऔषध सेवनकर्ता र कारोबारीहरुको पहिचान गरी पक्राउ गरी प्रहरीले प्रचलित कानुनअनुसार मुद्दासमेत चलाउँदै आएको छ । जिल्लालाई लागुऔषधमुक्त बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विभिन्न सरोकार निकाय, संघसंस्थाहरुसँगको सहकार्यमा नियमित रुपमा सचेतनाका कार्यक्रम पनि प्रहरीले संचालन गर्दै आएको उहाँले बताउनुभयो ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार