spot_img
spot_img

आत्महत्याको ग्राफ बढेको बढ्यै

पाँच वर्षमा एक हजार एक सय १७ जनाले गुमाए ज्यान

छबि पुरी /राप्ती पोष्ट

घोराही, भदौ । दाङमा बालबालिकादेखि वृद्धवृद्धासम्मले वर्षेनी आत्महत्या गर्ने क्रम बढेको प्रहरीको तथ्यांकले देखाएको छ । आत्मअत्या जस्तो गम्भीर विषयले विकराल रूप लिँदै गएको हुँदा यसले व्यक्ति, परिवार, समाज र राष्ट्रका लागि सोँचनीय विषय बनाएको छ ।

पछिल्लो पाँच आर्थिक वर्षको अवधिमा दाङमा स्वमरण अर्थात आत्महत्या गरेर मर्नेको संख्या एक हजार एक सय १७ पुगेको छ । आर्थिक वर्ष २०७६–०७७ देखि आर्थिक वर्ष २०८०–०८१ को पाँच आर्थिक वर्षको अवधिमा आत्महत्याका कारण एक हजार एक सय १७ जनाले अकाल ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले समाजको सामाजिक अवस्था, आर्थिक अवस्था, शिक्षा, मानवीय चेतनाले यसमा प्रत्यक्ष प्रभाव पार्ने हुँदा आत्महत्या अपराध नभई सामाजिक विचलनको एक स्वरुप भएको बताउनुहुन्छ ।

उहाँका अनुसार जिल्लामा आर्थिक वर्ष २०८०–०८१ मा एक सय ९९ जनाले आत्महत्या गरेका थिए । यसरी आत्महत्या गर्नेमा ४३ जना बालबालिकासमेत रहेका छन् । कम उमेरमै जीवन सिध्याउने क्रम बढ्दै जान थालेपछि यो निकै गम्भीर सोचनीय विषय भएको प्रहरीको भनाई छ । आर्थिक वर्ष २०७९–०८० मा दुइै सय १९, आर्थिक वर्ष २०७८–०७९ मा दुई सय २३, आर्थिक वर्ष २०७७–०७८ मा दुई सय ४५ र आर्थिक वर्ष २०७६–७७ मा दुई सय ३१ जनाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांकमा आर्थिक वर्ष २०७६–०७७ देखि २०८०–०८१ सम्ममा झुण्डिएर मर्नेको संख्या मात्रै सात सय ९१ पुगेको छ । यही पाँच वर्षको विष सेवन गरेर दुई सय ४४ जनाले आत्महत्या गरेका छन् । आत्महत्याका अरु स्वरुप प्रयोग गरेर पनि आफ्नो जीवन अन्त्य गरेका छन् । प्रहरी तथ्यांकका अनुसार १५ देखि ४९ वर्षका बढी मात्रामा मानिसको संलग्नता बढी आत्महत्या रहेको छ ।

जिल्लाको तथ्यांकअनुसार आत्महत्या न्यूनीकरण हुन नसकेको र विकराल बन्दै गएको देखिएको हो । मानसिक स्वास्थ्यका बारेमा बेलैमा ध्यान पुर्याउन नसक्दा आत्महत्याका घटनामा कमी आउन नसकेको मनोचिकित्सक बताउँछन् । वार्षिक रूपमा आत्महत्याका घटना संख्यात्मक रूपमा केही तलमाथि भएपनि घटना न्यूनीकरण हुन नसकेको दाङ प्रहरीको भनाई छ ।

सानै उमेरका बालबालिकाहरु पनि आत्महत्या गर्ने अवस्थामा पुग्नु निकै चिन्ताको विषय भएको मनोचिकित्सक बताउँछन् । गरिबी, दीर्घरोग, मानसिक असन्तुलन, असफल प्रेम, पारिवारिक असफलता, हिंसालगायतका कारणले आत्महत्या हुने गरेको प्रहरीले बताएको छ । आत्महत्या गर्नेहरू प्राय झुण्डिएर मर्ने गरेको देखिएको छ । दाङमा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्नेहरू धेरै छन् ।

आत्महत्याका विविध कारणहरू हुन सक्ने भएपनि आत्महत्याको कोसिस गर्ने तथा आत्महत्या गर्ने ९० प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगहरूबाट पीडित हुने गरेको अध्ययनले बताएको छ । तर, सबै मानसिक रोगीहरूले आत्महत्या गर्छन् भन्ने भने नभएको प्रहरी उपरीक्षक तिमल्सिनाको भनाई छ । डिप्रेसन नै आत्महत्याको प्रमुख कारण हो । डिप्रेसनका साथै दुश्चिन्ता, व्यक्तित्व विकार तथा सिजोफ्रेनिया आदि जस्ता मानसिक रोगहरूको कारणहरूले पनि आत्महत्या हुने गरेको उहाँको भनाई छ ।

यसैगरी, बेरोजगारी, गरिबी, व्यापारमा हुने घाटा, वैदेशिक रोजगार र त्यसले पारेका पारिवारिक, आर्थिक, सामाजिक प्रभाव, लेनदेन, देशको राजनीतिक परिस्थिति, महिलामाथि हुने हिंसा, दाइजो भार, व्यस्त जीवनशैली र एक्लोपन, पारिवारिक कलह, बलात्कार तथा यौन हिंसा, प्रेमविवाह परिवारले स्वीकार नगर्नु, मादकपदार्थ सेवन गर्ने, कुलत, सामाजिक सञ्जालको बढ्दो प्रयोग, मोबाइल स्पोर्टस–अनलाइन गेमको लत जस्ता कारणले आत्महत्याको दर बढाएको प्रहरी अनुसन्धानले देखाएको छ ।

यसरी दिनानुदिन आत्महत्या बढ्नुमा गरिबी, अशिक्षा, सामाजिक चेतना अभावलाई प्रमुख रूपमा लिइएको छ । त्यसैगरी पारिवारिक कलह, मानसिक तनावका कारण पनि धेरैले आत्महत्या गरेको बताइन्छ । तर आत्महत्या रोकथामका लागि कुनै प्रयास भएको पाइँदैन । यसर्थ आत्महत्या रोक्न सामाजिक उपचारको पाटो भने निकै कमजोर देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक तिमल्सिनाले भन्नुभयो ‘आत्महत्याका घटना रोकथामका लागि प्रभावकारी सामाजिक सचेतना अभिवृद्धि हुन सकेको छैन । यो अपराध नै हो भन्न नसकिए पनि सामाजिक अवस्थामा गम्भीर स्वरुप हो । यसको रोकथामका लागि सबै पक्षको उत्तिकै जिम्मेवारी र दायित्व छ ।’ हरेक दिन आत्महत्या दर बढ्दै जानु आम मानिसको चिन्ताको विषय बनेको छ । आत्महत्याका कारण पारिवारिक विखण्डन हुने, बालबच्चादेखि परिवारका अन्य सदस्यहरू कुलत, दुव्र्यसनीमा फस्ने र उक्त कुलत तथा दुुव्र्यसनीले सामाजिक अपराध निम्त्याउनेसम्मका घटना देखा पर्न थालेका छन् । उहाँले भन्नुभयो ‘आत्महत्याको मुख्य कारण सामाजिक चेतनाको अभाव हो । आत्महत्याका कारण बालबच्चादेखि श्रीमान् होस् या श्रीमती कुलतमा फस्ने गरेका छन् । जसले अर्को सामाजिक अपराध निम्त्याउने गरेको छ । जसका कारण आत्महत्या रोकथाम र यससम्बन्धी सामाजिक सचेतनाको विकास गर्न अति आवश्यक छ ।’

पछिल्लो समय दाङमा बढ्दै गइरहेको आत्महत्याको कारण के हो ? भन्ने यकिन अवस्था पहिचान गर्न आवश्यक रहेको प्रहरीको भनाई छ । आत्महत्या आफैमा एक अपराध हो तर आत्महत्याले अर्को अपराधको जन्म दिइरहेको उहाँको भनाई छ । विभिन्न मानसिक तनाव, उच्च महत्वकांक्षा, पारिवारिक कलह, दीर्घरोग, काममा असफलता, गरिबी, प्रेममा धोका, प्राकृतिक प्रकोपलगायतका कारणले मानिसले आत्महत्या गर्ने गरेको प्रहरीको अनुभव छ । प्रविधिको दुरुपयोग, चेतना अभाव, मानिसका उच्च महत्वकांक्षाका कारण यस्ता घटनामा वृद्धि भएको र यी घटनालाई निरुत्साहित गरी समाजमा सकारात्मक सोचको विकास गर्ने कार्यक्रम आवश्यक रहेको विचार नागरिक समाजको भनाई छ ।

उसो त, नेपालमा भएका आत्महत्याका घटनामा सबैभन्दा धेरै युवा संलग्न देखिएका छन् । बितेको १० वर्षमा भएका आत्महत्याका घटनाबारे नेपाल प्रहरीको अन्वेषण योजना शाखाले गरेको अध्ययनमा युवाले आत्महत्याको बाटो रोज्ने गरेको डरलाग्दो तथ्यांक देखिएको हो । आत्महत्या गरेकामध्ये करीब ४० प्रतिशत युवा रहेका छन् । त्यस्तै, आत्महत्या गरेकामध्ये १८ देखि २५ वर्षसम्मका २१ प्रतिशत र २५ देखि ३५ वर्षसम्मका १८ दशमलव १ प्रतिशत छन् ।

यसमा बालबालिकाको संख्या समेत धेरै देखिएको छ । आत्महत्या गरेकामध्ये १० देखि १८ वर्षसम्मका बालबालिकाको संख्या १५ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार, नेपालका १५ लाख ५५ हजार ९ सय ६१ परिवारहरूबाट २१ लाख ९० हजार ५ सय ९२ जना विभिन्न प्रयोजनले विदेशमा रहेका छन् । यसले सामाजिक लागत बढाएको छ भने ठूलो श्रमशक्ति विदेशमा रहँदा परिवारमा पारिवारिक दुरीले विभिन्न खालको विखण्डन, हिंसा वा मानसिक स्वास्थ्य समस्या जस्ता कारणले सामाजिक लागत बढ्दै गएको पाइएको अध्ययनले देखाएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार