spot_img
spot_img

‘राजनीतिक अस्थिरताले व्यवसायी संकटमा’

राप्ती पोष्ट

नारायणपुर, बैशाख । नेपाल उद्योग बाणिज्य महासंघ लुम्विनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले राजनीतिक अस्थिरताका कारणले व्यवसायी संकटमा परेको बताउनुभएको छ । नारायणपुर उद्योग बाणिज्य संघको २० औं साधारण सभा तथा नवौं अधिवेशन उद्घाटन समारोहमा बोल्दै शर्माले यस्तो बताउनुभयो ।

‘चार चार महिनामा सरकार फेरिन्छन, सरकार फेरिएसंगै नीति पनि फेरिन्छ, यस्तोमा व्यवसायीको हितका लागि कसरी काम हुन सक्छ र ?’ शर्माले भन्नुभयो । उहाँले व्यवसायीलाई जोगाउने गरी सरकारले योजना ल्याउन नसकेको भन्दै गुनासो गर्नुभयो । उहाँले बैंकबाट ऋण ल्याएर कारोवार व्यवसाय गर्न समस्या उत्पन्न भइरहेको भन्दै सरकारले पूँजीगत खर्च बढाउन नसकेका कारणले गर्दा बजार चलायमान हुन नसकेको बताउनुभयो ।

सरकारले बजार चलायमान गराउने हो भने पूँजीगत खर्च बढाउने योजना ल्याउनुपर्ने भन्दै उहाँले भन्नुभयो, बजार चलायमान बनाउने जिम्मेवारी राज्यको हो ।’ नेपालको आर्थिक विकासका लागि पर्यटनलाई महत्व दिनुपर्ने भन्दै उहाँले पर्यटन व्यवसाय नेपालका लागि सवैभन्दा राम्रो व्यवसायका रुपमा रहेको बताउनुभयो । अर्को प्रशंगमा बोल्दै उहाँले नारायणपुर उद्योग बाणिज्य संघ लगायतका उद्योग बाणिज्य संघलाई केन्द्रिय महासंघमा मान्यता दिलाउने बारेमा छलफल भइरहेको बताउनुभयो । उहाँले यसका लागि विधान संशोधन गरेर अघि बढ्ने बारेमा योजना बनिरहेको जानकारी दिनुभयो ।

नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष अभियान बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्नेहरुले व्यवसायीहरु दिनप्रतिदिन पलायन भइरहेको बताएका थिए । हिजोका दिनमा सटर भाडामा पाउन गाह्रो हुने बजारमा अहिले सटरहरु व्यापक रुपमा खाली भइरहेको धारणा बक्ताहरुले राखेका थिए । कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त जोशीले घोराही बजारमा मात्रै साढे चार सय भन्दा बढी व्यवसायीहरु विस्थापित भइसकेको तथ्याङ्क प्र्रस्तुत गर्नुभयो । उहाँले दाङ जिल्लाको विकासका लागि एयरपोर्ट बनाउनुपर्ने, औद्योगिक क्षेत्र बनाउनुपर्ने, पर्यटनमा लगानी बढाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल उद्योेग बाणिज्य महासंघका केन्द्रिय सदस्य उज्ज्वल कसजुले व्यवसायीहरुको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको बताउनुभयो । व्यवसायीहरु आफू कसरी बाँच्ने, परिवारलाई कसरी बचाउने भन्ने समस्या आइरहेको भन्दै उहाँले यस्तोमा व्यवसायीको अभिभावकका रुपमा रहेको सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, प्रेस युनियनका लुम्विनी प्रदेश अध्यक्ष सुदीप गौतम, विजौरी उद्योग बाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्का, नारायणपुर खानेपानीका अध्यक्ष कुलप्रसाद रजौरे(श्रवण), उद्योग बाणिज्य संघ नारायणपुरका संस्थापक अध्यक्ष बलदेव शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी घोराही–१०का अध्यक्ष कृष्ण न्यौपाने, हार्डवेयर व्यवसायी अनिल बस्नेले बोल्नुभएको थियो ।

साधारण सभामा सचिव बसन्त न्यौपानेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष रेखा केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्वागत बाणिज्य उपाध्यक्ष तिलक महराले र धन्यवाद मानार्थ सदस्य माधव पाण्डेले गर्नुभएको थियो ।

कार्यक्रममा अघिल्लो बर्ष एसइइमा राम्रो नतिजा ल्याएका सामुदायिक विद्यालय निघुवारका सुनिल चौधरी र मावि लमडरुवाका रोशनी घर्तीलाई नगद सहित सम्मान गरिएको थियो । यस्तै नीजि तर्फ पशुपति विद्याश्रमका प्रयत्न लम्साल र प्रशंसा शर्मा, स्वर्गद्वारी बोर्डिङका आशिष चौधरी र लिटिल माविका आदर्श रावतलाई नगद सहित सम्मान गरिएको थियो । यसैगरी शिक्षाको क्षेत्रबाट, सामाजिक क्षेत्रबाट र संस्थापक रुपमा योगदान गरेकाहरुलाई सम्मान गरिएको थियो । अधिवेशनले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्ने भएको छ । निर्वाचनको प्रक्रिया अघि बढेको भएपनि सर्वसम्मतीको बातावरण बनेको अध्यक्ष अभियान बस्नेतले जानकारी दिनुभयो ।

स्मारिका विमोचन

सोही कमार्यक्रममा नारायणपुर उद्योग बाणिज्य संघले पहिलो पटक प्रकाशन गरेको स्मारिका विमोचन गरिएको थियो । नारायणपुर उद्योग बाणिज्य संघ स्थापना भएको २० बर्ष पुगेको अवसरमा पहिलो पटक स्मारिका प्रकाशन गरिएको थियो । आगामी दिनमा पनि स्मारिकालाई निरन्तरता दिन बक्ताहरुले सुझाव दिएका थिए ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img