राप्ती पोष्ट
घोराही, पुस । घोराही उपमहानगरपालिका स्तरीय १६औँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराहीले जितेको छ । नेपाल सरका युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्व एवम् गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराहीको व्यवस्थापनमा तीन दिनसम्म संचालन भएको १६औँ राष्ट्रपति रनिङ्ग शिल्ड २०८० मा १७ स्वर्ण, ७ रजत र ९ काश्यसहित ३३ मेडल प्राप्त गर्दै घोराही १४ स्थित गोरखा स्कुलले उपाधि हात पारेको हो । गोरखा माविले पछिल्लो समय हरेक खेलकुदका प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । केही दिनअघि सम्पन्न नगरस्तरीय दोश्रो प्याब्सन रनिङ्ग शिल्डमा पनि उपाधि जितेको थियो ।
यसैगरी, १६औँ राष्ट्रपति रनिङ्ग शिल्डमा ४ स्वर्ण, ६ रजत र ९ काश्यसहित १९ मेडल जित्दै घोराही १५ स्थित पद्मोदय पब्लिक नमूना मावि भरतपुर दोश्रो भएको छ । घोराही १४ मा बालविकास माविले ४ स्वर्ण, ४ रजत र ७ काश्य प्राप्त गर्दै प्रतियोगितामा तेश्रो भएको छ ।
घोराही १७ स्थित गोरक्ष रत्ननाथ मावि चौघेराले ३ स्वर्ण, २ रजत र ४ काश्यसहित ९ मेडल जित्दै सान्त्वना भएको छ । घोराही उपमहानगरपालिकामा रहेका सामुदायिक र संस्थागत गरी कुल ५१ विद्यालयको सहभागीता रहेको १६ औँ संस्करणको राष्ट्रपति रनिङ्ग शिल्डमा ३४ विद्यालयले मात्रै मेडल जित्न सफल भएका छन् । गोरखा माविको परिसरमा तीनसम्म संचालन भएको प्रतियोगितामा एथ्लेटिक्सका खेलकुद, भलिबल, कबडी, तेक्वान्दो, कराँते, लङजम्प, हाईजम्पलगायत खेल भएका थिए । दर्जन बढी विधामा भएको प्रतियोगितामा पालिकाभरका हजारौँ विद्यार्थीहरु खेलमा भाग लिएर प्रतिष्पर्धा गरेका थिए ।
घोराही उपमहानगरपालिका खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनको संयोजकत्वमा आयोजित राष्ट्रपति रनिङ्ग शिल्डको समापन समारोहलाई सम्बोधन गर्दै घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले बालबालिकाहरुमा खेलकुद प्रतिको आकर्षण र उत्साहलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्न सक्नुपर्ने बताउनुभयो । खेल स्वास्थ्यका लागि मात्रै नभई जीवनको सही बाटोमा हिँडाउन तय गर्ने आधार भएको हुँदा किताबी ज्ञानलाई व्यवहारमा उतार्न खेलकुदसँग जोड्नुपर्ने बताउनुभयो ।
प्रतियोगितामा सहभागी भई उत्कृष्ट भएका खेलाडी, प्रशिक्षक तथा विद्यालयलाई प्रमाण पत्र प्रदान गरिएको थियो । यसैगरी उत्कृष्ट हुने खेलाडीले मेडल र प्रमाण पत्र पाएका थिए । प्रतियोगितामा विद्यालयका शिक्षकहरुबीच पनि २ सय मिटर दौडमा प्रतियोगिता गरिएको थियो । जसमा गोरखा माविका शिक्षक अजित चौधरी प्रथम, गोरक्ष रत्ननाथ माविका शिक्षक अर्जुन घिमिरे द्वितीय र गोरखा माविकै शिक्षक जुनप्रसाद रोका तृतीय हुनुभएको थियो ।