spot_img
spot_img

सामाजिक कार्यमा जुनियर रेडक्रसको सक्रियता

सामाजिक कार्यमा जुनियर रेडक्रसको सक्रियता

छबि पुरी/राप्ती पोष्ट

घोराही, घोराही । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर १ का माथवर भण्डारी महेन्द्र मावि स्युजामा कक्षा १० मा अध्ययन गर्नुहुन्छ । उहाँ जुनियर रेडक्रस सर्कलको विद्यालयमा गठित समितिको अध्यक्ष हुनुहुन्छ । उहाँ कार्यसमितिमा हुनुभन्दा अघि धेरै कुराको बारेमा थाहा थिएन । अध्यक्ष भएपछि सरसफाइ कार्यक्रम गरेको, महिनाको प्रत्येक अन्तिम शुक्रबार प्रत्येक व्यक्तिबाट २० रुपैयाँ उठाउने काम गरेको र त्यसबाट थुप्रै सहयोग गर्न सफल भएको बताउनुहुन्छ । उहाँको ५० सदस्यीय समिति छ । विद्यालयमा पढ्ने साथीहरुमा कतै समस्यामा परेको थाहा पाए, आपतविपदमा सहयोग गरेको उहाँको भनाई छ ।

‘हामीले प्रयोग हुने साधन व्यवस्थापन गर्ने, खेलकुद गतिविधिमा सहजीकरण गर्ने गरेका छौँ । यसले आफुले पाएको काममा हौसला मिल्ने गरेको छ । त्यति मात्रै होईन, विद्यालयमा शैक्षिक वातावरण बनाउन सहज भएको छ’उहाँले भन्नुभयो ‘सेवा गरे मेवा मिल्छ भन्ने भनाईलाई व्यवहारमा उतारेको छु । सहयोगको भावना राख्नुपर्छ । सबैको सहयोगले एक जनाको जीवनमा ठूलो टेवा पुग्छ भन्ने बोध मलाई भएको छ ।’ लमही नगरपालिका वडा नम्बर १ नर्तीमा रहेको श्री सूर्य विनायक माविमा कक्षा ९ मा सिर्जना रिजाल पढ्नु हुन्छ । उहाँ पनि पाँच वर्ष अघि जुनियर रेडक्रममा जोडिनु भएको हो । अहिले अध्यक्ष बन्नुभएको छ । उहाँले विद्यालयमा १५० जना सदस्यको नेतृत्व सम्हाल्नु भएको छ । सेवा गर्ने भावनाको विकास भएको बताउनुहुने सिर्जनाले रेडक्रसमा लागेपछि जेष्ठ नागरिकलाई सहयोग गरेको, भूकम्प प्रभावितलाई सहयोगमा सहजीकरण गरेको बताउनुहुन्छ ।

‘सुन्डबरीमा रहेको वृद्धाश्रममा फलफूल दिएका थियोँ । उनीहरुको भावना बुझेर मानवीय सेवाको जागरुकता ल्याउने काम गरेका छौँ’, उहाँले भन्नुभयो ‘विद्यालयमा सरसफाइ अनि विद्यालयमा हुने कार्यक्रममा सहजीकरण गर्ने काम हामीले गर्ने गरेका छौँ ।’ पद्मोदय पब्लिक नमुना मावि भरतपुर १५ घोराहीमा कक्षा १० मा दिप्सना भण्डारी पढ्नुहुन्छ । उहाँ पनि जुनियर रेडक्रक सर्कलको अध्यक्ष हुनुहुन्छ । विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलमा ३ सय जना सदस्य छन् । त्यसलाई संचालन गर्न ११ सदस्यीय कमिटी बनाईएको छ । जसबाट विद्यालयमा हुने हरेक प्रकारका गतिविधिमा सहजीकरण गर्ने काम हुँदै आएको छ । ‘सरसफाइ कार्यक्रम, जनचेतना मुलक, मध्यपान, धुम्रपान निषेधित क्षेत्र, वरपरका पसलमा सचेत गराउने काम हामीले गर्दै आएका छौँ’ दिप्सनाले भन्नुभयो ‘रेडक्रसको काम, कर्तव्य र दायित्व बारे नियमित रुपमा सचेतना प्रदान गर्ने काममा खटिएका छौँ । यति मात्रै होईन, रक्तदान कार्यक्रममा पद्मोदयलाई हिजोका दिनबाटै तोकिएको । यसमा सबै जनाको साथ रहेको छ । खासमा यसमा लागेपछि नेतृत्व गर्ने क्षमता विकास, संचारसिपको विकास, अरुलाई चिन्ने, अरुले गर्ने व्यवहारमा सद्भाव बढेको छ । यसले मेरो आत्मविश्वास जागेको छ ।’

विद्यालयमा तहबाटै बालबालिकाहरुलाई सामाजिक सचेतनासँगै यसमा लाग्न प्रेरित गर्ने काम नेपाल रेडक्रमले गर्दै आएको छ । दाङमा मात्रै करीव १ सय १० बढी विद्यालयमा जुनियर रेडक्रस सर्कल कमिटी गठन गरी काम हुँदै आएको बताईएको छ । पद्मोदयका शिक्षक गोपाल गौतमले विगत १५ वर्षदेखि बालबालिकाहरुलाई सहजीकरण गर्दै आउनुभएको छ । उहाँले यसमा लागपछि बालबालिकाहरुमा बोल्ने, धारणा राख्ने आत्म विश्वास जगाउने काम बढ्ने गरेको अनुभव सुनाउनुभयो । ‘सामाजिक काममा लगाउन प्रेरित गर्ने कामका साथै उनीहरुमा सहयोगी भावनाको विकास हुने गरेको छ’, उहाँले भन्नुभयो । पद्मोदय मावि भरतपुरमा शुक्रबारदेखि शुरु भएको नेपाल रेडक्रस सोसाईटी दाङ शाखाको ३२ औँ जिल्ला जुनियर तथा युवा रेडक्रस गोष्ठीमा सहभागी जुनियर रेडक्रसमा आवद्ध विद्यार्थी तथा जुनियर रेडक्रस सर्कलका शिक्षक नायकहरुको सहभागीता रहेको थियो । जुनियर युवा समिति संयोजक भीमलाल मरासिनीको अध्यक्षतामा भएको गोष्ठिको उद्घाटन घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले गर्नुभएको थियो । गोष्ठीमा उपप्रमुख डिसीले हरेक क्षेत्रमा सक्रियताका साथ प्रतिनिधित्व गर्न सक्ने क्षमताको विकास रेडक्रसले गर्दै आएको बताउनुभयो ।

व्यवहारिक शिक्षालाई प्राथमिकता दिनु आजको आवश्यकता रहेको बताउँदै उहाँले यसमा आवद्ध बालबालिकाहरुमा सामाजिक मुल्यमान्यता र व्यवहारिक पक्षका बारेमा बोध हुने विश्वास व्यक्त गर्नुभयो । ‘बालबालिकाहरु पछिल्लो समय सामाजिक कार्यमा जोडिदै जानू सकारात्मक पक्ष हो । तर, कतिपय बालबालिकाहरु सही अभिभावकतब अभावमा गलत बाटोमा लाग्ने काम भई रहेको प्रति सचेत हुनुपर्छ’ उहाँले भन्नुभयो ‘पछिल्लो समय लागू औषध नियन्त्रणमा चुनौति थपिएको छ । यसका लागि घर परिवारबाट बालबालिकालाई बचाउने काममा लाग्नुपर्छ । लागू औषध नियन्त्रित पालिका बनाउन नीतिगत रुपमा अभियान अघि बढाईएको छ ।’

कार्यक्रममा प्रेस काउन्सिल सदस्य शरद अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष विश्जराज आचार्य, लुम्बिनी प्रदेश जुनियर रेडक्रस सर्कल संयोजक ज्ञानहरि रिजाल, रेडक्रस जिल्ला सभापति मदन गौतमलगायत बोल्नुभएको थियो । उहाँहरुले शिक्षासहित सामाजिक कार्यमा रेडक्रस मार्फत विद्यार्थीलाई जोड्ने कामलाईथप प्रभावकारी बनाउन सुझाव दिनुभएको थियो । मानवीय भाव जगाउनु जुनियर रेडक्रस सर्कलको उद्देश्यलाई आत्मसात गर्नु आजको आवश्यकता रहेको उनीहरुको भनाई थियो । जुनियर रेडक्रस सर्कल सचिव शशी शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले रक्तदान, ट्राफिक सचेतना, लागू औषध नियन्त्रण, सरसफाई, स्वास्थ्य तथा खानेपानी, सचेतना कार्यक्रम, विपद नियन्त्रणका क्षेत्रमा काम हुने गरेको बताउनुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विकास चौधरीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा जिल्ला उपसभापति हरिहर पौडेलले आस्थापाठ गराउनुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेतको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण शिक्षक शक्तिराम वलीले गर्नुभएको थियो । गोष्ठी आज शनिबार पनि हुनेछ । जसमा ७० बढी विद्यालयबाट यसमा आवद्ध विद्यार्थी र शिक्षक नायकहरुको सहभागीता रहेको छ । यसैबीच, जिल्ला जुनियर तथा युवा रेडक्रसमा आवद्ध भई सामाजिक क्षेत्रमा गरेको कामको मुल्यांकनका आधारमा अमर मावि उरहरीका पूर्व शिक्षक नायक टेकनाथ अधिकारी, मावि सेन्टर तुलसीपुरका माधवकुमार ज्ञवाली, नवराज रजौरेलाई सम्मान गरिएको थियो भने मावि रझेना, सेन्टर मावि तुलसीपुर र संस्कार पाठशाला तुलसीपुर ६ दाङ राम्रो कार्य सम्पादन गरेवापत सम्मान गरिएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img