spot_img
spot_img

विद्यार्थीका कवितामा सुनिए ‘विपी कोईराला’

छबि पुरी /राप्ती पोष्ट

घोराही, २५ भदौ । विपी कोईरालाको ११० औं जयन्तीका अवसरमा आईतबार दाङ कांग्रेसले आयोजना गरेको जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय कविता प्रतियोगितामा विद्यार्थीहरुले विपीले प्रतिपादन गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादका कविता सुनाए ।

उनीहरुले नेपालको भूराजनीतिमा विपीको योगदान, अहिलेको कांग्रेस र विपीले देखेका सपना र आदर्शलाई कवितामार्फत व्यक्त गरे । पछिल्लो पुस्तासँग विपीका विचार जोड्ने उद्देश्यसहित दाङ कांग्रेसले जिल्लाभरका मावि तहका विद्यार्थीलाई एक ठाउँमा राखेर उनीहरुको साहित्य सिर्जनशीलता बुझ्न र विपीको आदर्शलाई ब्युँताउन यस प्रकारको जुक्ति निकालेको हो । जसमा आईतबार घोराहीमा आयोजित कार्यक्रममा जिल्लाभरबाट सहभागी विद्यार्थी कविहरुले प्रतियोगी कवितामा विपीको राष्ट्रवाद, कांग्रेसको यात्रा र नेपालको समसामयिक राजनीतिलाई शब्दमा उतारेर वाचन गरे ।

अप्ठेरो अवस्थामा देशलाई निकास दिन सक्ने तथा राजनीतिक जीवनमा त्याग, समर्पण, नैतिकताका बारेमा बोध गराउन सक्ने विषयलाई विद्यार्थीहरुले वर्तमान अवस्थामा विपीको आदर्शलाई नेपाली कांग्रेसले कसरी लिएको छ ? नेपाली राजनीतिमा विपीको विचार र चिन्तनलाई कुन ढंगबाट सम्बोधन गर्ने गरिएको छ ? भन्ने विषयलाई रचनात्मक रुपमा कवितामा उतार्न सफल भए । जसमा सरस्वती माध्यामिक विद्यालय गोवरडियामा कक्षा १० मा अध्ययनरत सरु विकले विपीको आदर्श, सिद्धान्त र वर्तमान अवस्थाको नेपालको प्रतिबिम्ब झल्काउँदै प्रस्तुत गरेको कविता प्रथम भयो ।
प्रतियोगितामा सहभागी ५६ जना विद्यार्थीलाई पछि पार्दै सुरु प्रथम हुँदा उहाँले लेखेको कविता नेपाली कांग्रेसको विपीवाद, नवचेतनाको स्तरमा उजागर गर्न लायक थियो ।

प्रतियोगितामा भाग लिनुभएकी ज्ञानोदय माध्यमिक विद्यालय पथरगढवामा कक्षा १० मा अध्ययनरत सुनिता शेर्पाले पनि विपीको सपना, नयाँ नेपालको यात्रा, वर्तमान कांग्रेसलाई सिर्जनात्मक शैलीमा उतारेर काव्य चेतनाबाट कांग्रेसको विपी चिनाउने कोशिस गर्दा द्वितीय हुनुभयो । सोही प्रतियोगितामा गुरुजज्ुर नमूना माध्यमिक विद्यालय रक्षाचौरमा कक्षा १० मा अध्ययनरत छात्रा मुना बुढाथोकीले पनि विपीका सिद्धान्त र वर्तमान नेपालको अवस्थालाई सटिक रुपमा शब्द सिर्जनामा उतारेर पोख्नुभयो र तृतीय स्थान प्राप्त गर्नुभयो ।

प्रतियोगितामा प्रथम हुन सफल सुरुले नगद दश हजारसहित प्रमाणपत्र, द्वितिय स्थान प्राप्त गर्न सफल सुनिताले नगद सात हजारसहित प्रमाणपत्र र तृतीय स्थान प्राप्त गर्ने मुनाले पाँच हजारसहित प्रमाणपत्र प्राप्त गर्नुभयो । प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय भेडाबारी मुलावारीमा कक्षा १० मा अध्ययरत बञ्जिता पुन, माउण्डभ्यु बोर्डिङ स्कुल घोराहीमा कक्षा ९ मा अध्ययनरत अतिसा पोख्रेल र गोरखा बोर्डिङ स्कुलमा अध्ययनरत आयुष देवकोटा सान्त्वना हुनुभयो । सान्त्वना स्थान प्राप्त गर्नेलाई आयोजकले नगद तीन हजारसहित प्रमाणपत्र प्रदान गर्यो ।

प्रतियोगिताको निर्णाकमा साहित्यकार डा. गोविन्द आचार्य, डा. हिमलाल पन्थी र सन्ध्या रेग्मी रहनुभएको थियो । प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्रसहित यातायातको व्यवस्था नेपाली कांग्रेस दाङले गरेको थियो ।
कविता प्रतियोगिता हुनुअघि आयोजित कार्यक्रममा लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिपी कोइरालाले प्रतिपादन गरेका सिद्धान्त र विचारहरुलाई युवा पुस्ताका माझ पुर्याउन आवश्यक रहेको बताउनुभयो ।

नेपाली कांग्रेस संस्थापक नेता बिपी कोइरालाको ११० औं जन्म जयन्तीका अवसरमा नेपाली कांग्रेस दाङले आइतबार घोराहीमा आयोजना गरेको अन्तरमाध्यामिक विद्यालयस्तरीय कविता प्रतियोगिताको उद्घाटनसत्रमा बोल्ने मुख्यमन्त्री चौधरीले बिपी कोइरालाको राजनीतिक एवं साहित्यिक योगदानको चर्चा गर्दै उहाँको योगदानलाई नयाँलाई नयाँ पुस्तामाझ बुझाउन आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले अहिलेको उपलव्धीको स्थायित्वसँगै कांग्रेसलाई बलियो र संगठित पार्टी बनाउनका लागि बिपीका विचारहरु विद्यार्थीहरुसँगै युवापुस्ता माझ पु¥याउन पार्टीले गरेको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । राजनीति गर्ने नेताहरुले बिपीका बिचार र प्रतिपादन गरेका सिद्धान्तहरु अनुशरण गर्न नसक्दा पार्टी कमजोरसँगै जनतामा वितृष्णा छाउने काम भएको भन्दै उहाँले नेताहरु अध्ययनशिल र विचारहरु अनुशरण गरेको हुनुपर्ने बताउनुभएको हो ।

मुख्यमन्त्री चौधरीले भन्नुभयो, ‘राजनीतिक परिवर्तन र पार्टीलाई बलियो बनाउनका लागि बिपीका बिचारहरु नयाँ पुस्ता माझ लैजानुपर्छ । त्यसले नयाँ पुस्तालाई कांग्रेसप्रति आकर्षण गर्ने र पार्टीलाई फाइदा पुग्नेछ ।’ मुख्यमन्त्री चौधरीले राजनीति सेवाभन्दा पनि व्यक्तिगत स्वार्थकेन्द्रीत बन्न खोज्दा जनतामा निराशा छाएको बताउनुभयो । जनतामा छाएको निराशा हटाउँदै गाउँगाउँमा रोजगारीका अवसरहरु सिर्जना गर्नका प्रदेश सरकार लागेको भन्दै यसले रोजगारीका लागि विदेश जाने युवापुस्तालाई रोक्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको हो । मुख्यमन्त्री चौधरीले भन्नुभयो, ‘अहिले देशमा रोजगारीका अवसरहरु छैनन्, जस्ले गर्दा युवापुस्ता र महिलाहरुहरु रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता छ । त्यसलाई रोक्नका लागि प्रदेशले नयाँ कार्यक्रम ल्याउँदैछ । जसले प्रदेशमा प्रसस्त मात्रमा रोजगारीका अवसरहरु सिर्जना गर्नेछ ।’

कार्यक्रममा नेपाली कांग्रेस लुम्विनी प्रदेशका उपसभापति एवं लुम्विनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले बिपी कोइरालाले प्रतिपादन गरेका बिचारहरुलाई हरेक व्यक्तिहरुले आफ्नो जीवनमा लागु गर्न आवश्यक रहेको बताउनुभयो । अप्ठेरो अवस्थामा देशलाई निकास दिनसँगै राजनीतिक जीवनमा त्याग, समर्पण, नैतिकतालगायतका धेरै कुराहरु बिपी कोइरालाबाट पार्टीका नेता तथा कार्यकर्ताहरुसँगै सर्वसाधारण नागरिकहरुले सिक्न आवश्यक रहेको बताउनुभएको हो ।
नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका पूर्व जिल्ला सभापतिहरु बिरकेशरी गौतम, कीर्तिबहादुर खड्का, मोहनलाल ओली, नेपाली कांग्रेस दाङ क्षेत्र न २ का सभापति भीमप्रकाश खड्का, कांग्रेसका नेता गोविन्दप्रसाद मजगैया, नेपाली कांग्रेसका प्रदेश सदस्य पुष्पा श्रेष्ठ,लेखक संघ दाङका उपाध्यक्ष गोविन्द पौडेललगायतले बोल्नुभएको थियो । उपसभापति कमानसिंह भारतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव अर्जुन योगीले गर्नुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img