spot_img
spot_img

परिवार नियोजन संघ दाङमा देवकोटा

राप्ती पोष्ट

घोराही,  असार । नेपाल परिवार नियोजन संघ दाङ शाखाको सभापतिमा भरतराज देवकोटा निर्विरोध निर्वाचित हुनुभएको छ । संघको शनिबार सम्पन्न ४४ औँ वार्षिक साधारणसभा तथा १५ औँ अधिवेशनले आगामी कार्यकालका लागि कोषाध्यक्षमा माया पोख्रेलसहित सबै कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

यसैगरी, महिला सदस्यमा बालिका लम्साल र डा. शारदा गौतम निर्वाचित हुनुभएको छ भने युवा सदस्यहरु कृपा सुवेदी, रेणु श्रेष्ठ, किरण पौडेल, माधा भण्डारी निर्विरोध चयन हुनुभएको छ । ११ सदस्यीय कार्यसमितिमा रिक्त रहेको तीन सदस्य निर्वाचित कार्यसमितिले चयन गर्नेछ ।

संघको संशोधित विधान अनुसार उपसभापति हटाएर कोषाध्यक्ष र अरु क्षेत्रगत रुपमा सदस्य रहने गरी ११ सदस्यीय कार्यसमिति बनाईएको छ । सभापति र कोषाध्यक्ष पदको समयावधि ३ वर्षको रहेको छ भने सदस्यहरुको हकमा गोला प्रथाबाट २ र ३ वर्षे अवधि राखिएको निर्वाचन अधिकृत अधिवक्ता दीपक रेग्मीले जानकारी दिनुभयो ।

संघको विधान अनुसार, निर्वाचन प्रकृयाका लागि उम्मेदवारी माग गरिएकोमा कसैको पनि दावी विरोध नपरेपछि निर्वाचन अधिकृत रेग्मीले तोकिएको सबै पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । २०३४ सालमा स्थापित नेपाल परिवार नियोजन संघले ४६ वर्षे ईतिहासमा यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा थुप्रै काम गर्दै आएको छ ।

नेपाल परिवार नियोजन संघ दाङ शाखा सभापति तीर्थराज सन्तोषीको अध्यक्षतामा भएको अधिवेशन तथा साधारण सभाको उद्घाटन घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले गर्नुभएको थियो । शाखाको ४४ औँ वार्षिक साधारणसभा तथा १५ औँ अधिवेशन उद्घाटन समारोहमा बोल्दै उप प्रमुख डिसीले मानव स्वास्थ्य अहिलेको सबैभन्दा प्रमुख विषय रहेको बताउनुभयो । मानिस स्वस्थ भएमात्रै भौतिक सुख सुविधाका कुराहरु प्रयोगमा आउने हुँदा मानव स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको नेपाल परिवार नियोजन संघको काम समाज र राष्ट्रका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

खासगरी, यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको परिवार नियोजन संघको भूमिका कारण दूरदराजका महिला दिदीबहिनीहरुले स्वास्थ्य सेवा पाउन सफल भएको र यसले जनस्वास्थ्यमा राम्रो प्रभाव परेको बताउनुभयो । सामाजिक क्षेत्रमा भईरहेको यस प्रकारको काममा सबैको हातेमालो आवश्यक रहेको बताउँदै उहाँले स्थानीय सरकारका तर्फबाट सक्दो सहयोग रहने वचन दिनुभयो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघकी केन्द्रीय उपाध्यक्ष निर्मला गौतम रेग्मीले यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा संचालित कार्यक्रमले हजारौँ लाभान्वित भईरहेको बताउनुभयो । देशभरका २८ वटा शाखाहरुमध्ये कार्य दक्षताका दृष्टिकोणले दाङ शाखा दोश्रो स्थानमा पर्न सफल भएको जानकारी गराउनुभयो ।

सो अवसरमा, संघका पूर्व सभापति गुरुप्रसाद शर्मा रेग्मी, निर्वाचन अधिकृत अधिवक्ता दीपक रेग्मी, स्वयंसेवी सदस्य हरिदेवी पोख्रेल, पूर्व उपसभापति गोविन्द रेग्मी, चौघेरा खानेपानी संस्थाका अध्यक्ष हरि सुवेदी, समाज कल्याण केन्द्र नेपालकी अध्यक्ष निर्मला गौतम, संघका आजीवन सदस्य सरस्वता गौतम, पूर्व कार्यसमिति सदस्य पूर्णबहादुर मल्ल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारण सभामा सचिवको सांगठनिक प्रतिवेदन माया पोख्रेल र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पुष्पा श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । संघका शाखा प्रबन्धक बसन्त खनालले जिल्लामा परिवार नियोजन क्षेत्रमा ३० प्रतिशत स्वास्थ्य सेवा परिवार नियोजन संघले प्रदान गर्दै आएको बताउनुभयो ।

उहाँले यौन तथा प्रजनन स्वास्थ्य सेवाका साथै सूचना र सचेतनामा आम नागरिकको पहुँच बढाउने काममा पनि विभिन्न कार्यक्रमहरु नियमित रुपमा हुने गरेको जानकारी गराउनुभयो । उपसभापति भरत देवकोटाको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सञ्चालन सचिव माया पोख्रेलले गर्नुभएको थियो ।

नेपाल परिवार नियोजन संघ दाङ शाखाले हाल जिल्लाको दुवै उपमहानगरपालिका, एक नगरपालिका, तीन गाउँपालिकामा एउटा परिवार स्वास्थ्य क्लिनिक, तीन वटा सामुदायिक क्लिनिक र १२ वटा साप्ताहिक क्लिनिकमार्फत प्रत्यक्ष, चार वटा समुदायमा आधारित संस्थाहरुको समन्वयमा क्लिनिक संचालन गरेको छ ।

यौन तथा प्रजनन् स्वास्थ्य र परामर्श सेवा दिँदै आएको छ । संघका अनुसार हालसम्म दुई लाख २३ हजार तीनसय दुई जनाले विभिन्न प्रकारका स्वास्थ्य सेवा लिएका छन् । प्रदेश स्तरमै विभिन्न यौन तथा प्रजनन् स्वास्थ्य तथा वृहत यौनिकता शिक्षालगायत क्षेत्रमा संघले काम गर्दै आएको छ ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img