राप्ती पोष्ट
दाङ, कात्तिक । निर्वाचनको समयमा पत्रकारले खेल्ने भूमिकाका बारेमा बुधबार घोराहीमा छलफल गरिएको छ । कार्यक्रममा बोल्नेहरुले अन्य समयको तुलनामा संचारको दुरुपयोग हुन सक्ने भएकाले निर्वाचनको समयमा पत्रकारले धैर्यता गुमाउन नहुने धारणा बक्ताहरुले राखेका थिए ।
नेपाल पत्रकार महासंघ दाङ शाखाले आयोजना गरेको छलफल कार्यक्रममा बोल्नेहरुले निर्वाचनको समयमा गलत सूचना जाने र त्यसले पत्रकारिताको समग्र बुझाई गलत हुने भएकाले यस्तो बेलामा पत्रकारहरु बढी गम्भिर हुनुपर्ने धारणा राखेका थिए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले निर्वाचन आफैमा संवेदनशिल विषय भएकाले निर्वाचनको समयमा पत्रकारहरु बढी गम्भिर हुनुपर्ने बताउनुभयो ।
उहाँले निर्वाचन आयोगले राजनीतिक दलका गतिविधिलाई संकुचित गर्न चाहिरहेका भन्दै पत्रकारहरु राजनीतिक गतिविधि संकुचन गर्ने विषयमा बोल्नुपर्ने बताउनुभयो । अहिले प्रत्यक्ष रुपमा बहस छलफल गर्नुपर्ने समय आएको भएपनि निर्वाचन आयोगले कानेखुसी गरेर घरदैलो गर्नका लागि मात्रै अनुमती दिनुलाई राम्रो मान्न नसकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, सभा गर्ने, भेला गर्ने, आफ्नो विचार राख्न पाउने राजनीतिक अधिकारबाट बञ्चित गरेर निर्वाचन आयोगले के गर्न खोजेको हो भन्ने बारेमा बुझ्न सएिको छैन ।’ अव ओपन डिवेट गर्ने कुरालाई अघि बढाउनुपर्छ, उमेदवारसंग कुराहरु लिनुपर्छ, यस्तो भयो भने मात्रै उमेदवारसंग रहेका एजेण्डाका बारेमा आम नागरिकलाई जानकारी हुन सक्छ भन्ने कुरालाई बुझ्न जरुरी रहेको उहाँको धारणा थियो ।
उहाँले निर्वाचनको समयमा राजनीतिक दलले ल्याउने एजेण्डालाई समर्थन वा विरोध गर्न सकिने भन्दै पत्रकारले गाली गलौज र घृृणा फैलाउने अभिव्यक्तिलाई महत्व दिन नहुनेमा जोड दिनुभयो । पछिल्लो समय निर्वाचनको बेलामा मिडियामा आउने विषयका बारेमा बहस छलफल हुन थालेको भन्दै यो राम्रो भएको पनि उहाँले बताउनुभयो । कतिपयले निर्वाचनको समयमा सेल्फ सेन्सरसिपमा जानुपर्ने कुरा गरिरहेको भन्दै सेल्फ सेन्सरसिप राम्रो कुरा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले तयार पारेको आचार संहिता र पत्रकारहरुको आचार संहितालाई पालना गरेर अघि बढ्ने हो भने कुनै समस्या हुँदैन, हामीले सेल्फ सेन्सरसिपमा जानु पनि पर्दैन, यसले मिडियालाई झनै कमजोर बनाउँछ ।’
नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएमले निर्वाचन आयोगले निर्वाचन आचार संहिता र अन्य विषयमा कस्दै लगेको भन्दै कतिपय कुराहरु महासंघलाई मान्य नरहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलले तयार पारेको आचार संहिता रहेको भन्दै यहि पालना गर्दा पनि हुने भन्ने अभिव्यक्ति दिंदा अघिल्लो निर्वाचनमा महासंघका अध्यक्षलाई नै आयोगले स्पष्टिकरण सोधेर तर्साउन खोजेको स्मरण गर्नुभयो । उहाँले निर्वाचन आयोगले हामीलाई भन्ने भन्दा पनि हामी आफै गम्भिर बन्नुपर्ने अवस्था आएको बताउनुभयो ।
नागरिक समाज दाङका संयोजक तथा नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केवी मसालले पत्रकारले लेखेका कुराहरुको मूल्याङ्न पाठक तथा स्रोताले गर्ने भएकाले विश्वसनिय विषय मात्रै दिन आग्रह गर्नुभयो । उहाँले कलम समायपछि नागरिकलाई सत्य र तथ्य कुरा मात्रै दिन्छु भन्ने भावना हुनपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघले निर्वाचनको सन्दर्भमा पत्रकारले उठाउने विषयका बारेमा चासो राख्नु राम्रो पाटो भएको बताउनुभयो ।
यस्तै प्रेस सेन्टरका केन्द्रिय सदस्य नरेन्द्र केसीले निर्वाचनको बेला कस्ता विषयहरु उठाउने भन्ने बारेमा छलफल चलाउन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले पत्रकारले कसैका पक्षमा लेख्दैमा त्यो उमेदवारले जितिहाल्ने भन्ने नहुने भन्दै अहिले कतिपय विषयमा पत्रकार भन्दा पाठक बढी सचेत भएको आफूले पाएको बताउनुभयो । उहाँले निर्वाचनको समयमा राजनीतिक दलले उठाउने विषयमा पनि बहस र छलफल गर्न सकिने धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य मधुसूदन बैद्यले निर्वाचनको समयमा पत्रकारसंग नागरिकले बढी अपेक्षा गर्ने भन्दै यसका लागि पत्रकारहरु पनि तयार हुनुपर्ने बताउनुभयो । उहाँले पत्रकारले आफ्नो जिम्मेवारीलाई नभूल्ने हो भने समस्या नहुने धारणा राख्नुभयो । कुनै पनि माध्यम कुनै अमुक दलको मुखपत्र बन्नु हुँदैन भन्दै आफूले निर्वाचनको समयलाई पत्रकारको अग्नी परीक्षाका रुपमा लिएको बताउनुभयो ।
प्राध्यायक केवी चौधरीले निर्वाचनको समयमा राजनीतिक दल र उमेदवारले आफ्नो पक्षमा विषयहरु आइदिए हुन्थ्यो भन्ने कुरा स्वभाविक जस्तै भएको बताउनुभयो । उहाँले निर्वाचनको समयमा सस्ता विषयलाई संचारमा ल्याउनुको साटो गाउँघरमा रहेका विषयहरु उजागर गर्नु आवश्यक रहेको बताउनुभयो ।
यस्तै प्रेस सेन्टर लुम्विनी प्रदेशका महासचिव भुपेन्द्र भण्डारीले निर्वाचनको समयमा पत्रकारलाई राजनीतिक दलले प्रयोग गर्न खोज्ने भन्दै यसका लागि पत्रकारहरु स्वयम सचेत हुनुपर्ने धारणा राख्नुभयो । उहाँले पत्रकारितालाई विश्वसनिय र निश्पक्ष रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । मिडियालाई सहयोग गरेको भएपनि कुनै बेला राजनीतिक नेतृत्वले नै मिडियालाई लगाम लगाउने काम गर्ने भन्दै यस हिसावले नै संचारकर्मी सचेत हुनुपर्ने बताउनुभयो । प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माले पत्रकारले उठाएका विषयले पाठकलाई न्याय गरेको छ कि छैन भन्ने बारेमा बुझ्नुपर्ने भन्दै पाठक र स्रोतालाई कस्ता विषय दिने भन्ने बारेमा गम्भिर भएर सोच्नुपर्ने बताउनुभयो । उहाँले कुनै पनि संचारमाध्यम दलको मुखपत्रका रुपमा जान नहुनेमा जोड दिनुभयो ।
राप्ती साहित्य परिषदका अध्यक्ष टिकाराम उदाशीले पत्रकारितमा विश्वसनियताको अभाव हुँदै गएको बताउनुभयो । उहाँले हाम्रा विषयलाई नागरिकले कसरी लिइरहेको छ भन्ने बारेमा आफूले पनि जानकारी लिनुपर्ने बताउनुभयो । निश्पक्षता भयो भने मात्रै विश्वसनियता हुने भन्दै नागरिकको विश्वास जित्ने कुरालाई आफ्नो पूँजीका रुपमा पत्रकारले लिनुपर्नेमा जोड दिनुभयो । रेडियो मध्यपश्चिमका समाचार सम्पादक छवि पुरीले निर्वाचनको समयमा मिडियाको दुरुपयोग हुन सक्ने भएकाले यो कुरामा सचेत हुन आवश्यक रहेको बताउनुभयो । उहाँले दलका विषयलाई कसरी प्रवेश गराउने भन्ने बारेमा बेग्लै संचार नीति बनाएर हिड्न आवश्यक रहेको धारणा पुरीको थियो ।
यस्तै रेडियो हाम्रो पहुँचका स्टेशन मेनेजर बसन्त पौडेलले निर्वाचनको समयमा दलका नेता कार्यकर्ताले मिडियाबाट बढी नै अपेक्षा गर्ने गरेको आफूले पाएको बताउनुभयो । उहाँले के कस्ता विषय दिने भन्ने बारेमा आफूहरुले बेग्लै नी
ित बनाएको जानकारी दिनुभयो । उहाँले पत्रकारिता खत्तम भयो जस्तो आफूलाई नलाग्ने भन्दै अहिले पनि विषय बस्तुका हिसावले सच्चाउन सकिने सम्भावना रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्षद्वय सन्तोष सुवेदी र बसुन्धरा गौतम, पत्रकारहरु हेमराज शर्मा, रंजिता अधिकारी, रोशनमान श्रेष्ठ, जेएन सागर, आर के शितल, आदिम केसी लगायतले बोल्नुभएको थियो ।