निर्माण थालेयता कतिजनाको भयो मृत्यु
राप्ती पोष्ट
घोराही, २१ भदौ ।
एकातिर तुलसीपुर–घोराही–लमही चार लेन सडक निर्माणको गति सुस्त भने अर्कोतिर यो सडक मृत्युमार्ग बन्दै गएको छ । सडक निर्माणले गति नलिँदा ठूलो मानवीय तथा भौतिक क्षति भइरहेको छ । निर्माणका क्रममा पुरानो सडक भत्काउँदा सवारी दुर्घटना बढेको हो ।
यो सडक खण्डमा दैनिक जसो दुर्घटनाका घटनाहरु भइरहेका छन । साना ठूला सवारीका साधनहरु दुर्घटना भइरहन्छन । दैनिक रुपमा हुने दुर्घटनाले गर्दा सडक धरापमा परिणत हुँदै गएको छ । सडक निर्माणको काम शुरु भएयता मात्रै २२ जना नागरिकको मृत्यु भइसकेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार यो सडकमा दुर्घटनाको जोखिम बढीरहेको छ । सडक निर्माणको म्याद पटक पटक थप्दा पनि भौतिक प्रगति १० प्रतिशत पनि पुगेको छैन ।
निर्माण कम्पनीका अनुसार हालसम्म ९ दशमलव ६९ र आर्थिक प्रगति १४ दशमलव २३ प्रतिशत मात्रै भएको छ ।
अहिले पनि काम सन्तोषजनक नभएको र यही अवस्थामा यो योजना सम्पन्न हुने सम्भावना नरहेको भालुबाङ–बाग्दुला–भीमगिठे, चन्द्रौटा–कृष्णनगर तथा लमही–घोराही–तुलसीपुर फोरलेन सडक आयोजना कार्यालय लमहीका प्रमुख अर्जुनकुमार बमले बताउनुभयो । ठेकेदारको लापरबाहीले नै काम हुन सकेको छैन ।
नेपाल सरकार र भारतको एक्सपोर्ट इम्पोर्ट बैंकको ऋण सम्झौतामा सडक आयोजना सुरु भएको हो । एक करोड २१ लाख ८२ हजार अमेरिकी डलर बजेट रहेको उक्त सडक निर्माणको ठेक्का भारतको तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले लिएको छ । घोराहीको बबई खोलादेखि तुलसीपुरसम्म २८ दशमलव १९ किलोमिटर सडक चार लेन र दुई लेनको बन्दै छ ।
सडक दुर्घटनाको कारक बन्दै गएपछि नागरिकहरु ऋाक्रोशित बनेका छन । सडकको काम समयमै सक्न वा सडक निर्माणका लागि ठेक्का तोड्नका लागि निर्माण कम्पनीलाई दवाव बढीरहेको छ । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको काम सुस्त हुँदा भारत सरकारले रकम दिएको छैन । जसले गर्दा निर्माणको जिम्मा पाएको नेपाली निर्माण कम्पनी डुव्ने अवस्थामा पुगेको छ ।