राप्ती पोष्ट
भालुवाङ, असार । विपदबाट बच्न र बचाउनका लागि देउखुरीको राप्ती नदीमा कृतिम उद्धार अभ्यास गरीएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण हेडक्वाटर ज्वालामाई भालुवाङको समन्वयमा ससत्र प्रहरी बल नेपाल ५ नम्बर विन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देही चन्द्रौटा कपिलवस्तुको आयोजनामा राप्ती गाउँपालिका वडा नम्बर १ को नेपाल राष्ट्रिय मावि भालुवाङको ठिक पछाडि रहेको राप्ती नदीमा मनसुन एवम् विपदजन्य घटनामा आधारित कृतिम घटना अभ्यास गरिएको हो ।
नेपालमा मनसुन भित्रन लागेको र त्यसले विपद निम्ताउन सक्ने भन्दै पुर्व तयारी स्वरूप कृतिम घटना अभ्यास गरिएको ससत्र प्रहरी बल नेपाल ५ नम्बर विन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देहीका बाहिनीपति एवम् ससत्र प्रहरी नायव महानिरिक्षक कुलबहादुर नेम्वाङले जानकारी दिनुभयो । बर्षात शुरु पुर्व नै विपद्का बेला उद्धार गर्न सहजताका लागि नमुना अभ्यास गरिएको छ । अभ्यासका क्रममा नदीमा कृतिम उद्दार अभ्यासको लागि सशस्त्र प्रहरीहरु राप्ती नदीमा बगेका थिए ।
विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र उद्दार टोलीले डुङ्गा मार्फत उक्त राप्ती नदीमा तैरीरहेका सशस्त्र प्रहरीको खोजी पछि जिवितै उद्दार गरेका थिए । घाइतेहरुलाई नदीबाट उद्दार गरि बाहिर निकालिसकेपछी के कसरी व्यवस्थापन गरिन्छ भनेर कृतिम उद्दार अभ्यासमा देखाइएको थियो भने विपद्का बेला आईपर्ने समस्या, उद्दार, बैठक अनुगमन, प्राथमिक उपचार, रेफर र राहतका विषयमा अभ्यास गरिएको थियो ।
कृतिम घटना अभ्यासमा नदीमा मान्छे बगेकाहरूको खोज तथा उद्दार, प्राथमिक उपचार, सुचना दिने काम देखाइएको थियो । कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का, सहायक बाहिनीपति कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिग विजय सुवेदी, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका वरिष्ठ उपाध्यक्ष बाबुराम थापा, पत्रकार, अन्य सुरक्षा निकायका प्रमुख, समाजसेवी तथा बुद्धिजीवी, शिक्षक, राष्ट्र सेवक कर्मचारी लगायतको सहभागीता रहेको थियो ।
दाङमा यस अघि नेपाली सेनाले पनि अर्जुन खोलामा विपतको समयमा कसरी बच्ने, कसरी उद्दार गर्ने भन्ने बारेमा अभ्यास गरेको थियो । देउखुरीमा बर्षाद्को समयमा विपत्को समस्या धेरै आउने भएकाले सुरक्षा निकायले यस्तो अभ्यास गर्ने गरेका छन् । दाङ जिल्लाका नदी तटिय क्षेत्रहरु जोखिमको क्षेत्रका रुपमा रहेका छन् ।