spot_img
spot_img

सातामा दुई दिन बजार खोल्ने निर्णयले जोखिम बढायो, मानिसले सामाजिक दुरी पालना गरेनन्

राप्ती पोष्ट
दाङ, ५ जेठ । जिल्ला कोभिड –१९ संकट ब्यबस्थापन संचालन केन्द्रले गत बैशाख १७ गतेदेखि हरेक दिन विहान एक घण्टा बजार खोल्ने निर्णय बदलेर सातामा दुई दिन एक घण्टा मात्रै बजार खोल्ने निर्णय गरेसंगै जोखिमको खतरा बढेको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले गत जेठ १ गते आइतबारदेखि सातामा आइतबार र बुधबार विहान १ घण्टा मात्रै बजार खोल्ने निर्णय गरेको थियो । बैशाखको ३१ गते शनिबार परेको थियो । त्यसदिन विहान खुलेको बजार जेठको १ गतेका दिन पनि एक घण्टा खुल्यो । विहान ७ बजेदेखि ८ बजेसम्म अत्यावश्यक सेवाका लागि खोल्न दिने निर्णय बमोजिम बजार खुल्दा अत्यधिक भिड देखिएको थियो ।

अघिल्लो आइतबारको तुलनामा आज बुधबारका दिन मानिसहरु कयौं गुणा बढी बजारमा निस्कीएका थिए । सडकमा तरकारी किन्ने, दैनिक खाद्यवस्तु किन्ने, औषधी किन्नेहरुको भिड थियो । मानिसहरुले दुरी कायम गरिरहेका थिएनन् भने दुरी कायम गराउनकालागि भन्ने पनि कोही थिएन । एउटै पसलमा थुप्रै मानिसहरु गुजुम्म परेर सामान किनिरहेको स्पष्ट देखिन्थ्यो ।

घोराहीको तल्लो सव्जी मण्डीमा विहान देखिएको भिड

बजारमा दुई र तिन पाङ्ग्रे सवारी पनि बाक्लै चलेका थिए । सातामा दुई दिन मात्रै बजार खोल्ने निर्णय कोरोनाको संक्रमण क मगर्नका लागि गरिएको भएपनि यसले कोरोना संक्रमण अत्यधिक बढाउने देखिएको छ । उसैत दाङ जिल्लामा दैनिक दुई–ढाई सयको दरले संक्रमित थपिएका छन् । त्यसमा पनि बजारमा मानिसको अत्यधिक चाप हुँदा कोरोना संक्रमण घट्नेमा आशंका बढेको छ ।

घोराही–१४ र १५ मा रहेको सव्जी मण्डीमा मानिसहरुको अत्यधिक भिड थियो । यस्तै तरकारी विक्रिका लागि शिक्षा शाखा रोड, बालमन्दीर आसपासमा दर्जनौं संख्यामा कृषकहरु बसेका थिए । यस्तै बजारमा ठेलाहरुको पनि विगविगी थियो ।

घोराहीको दामोदर चोक निवासी मुकुन्द रञ्जितकारले हप्ताको दुई दिन मात्रै बजार खोल्ने निर्णयले कोरोनाको संक्रमण बढाउने निश्चित रहेको बताउनुभयो । उहाँले हरेक दिन विहान १ घण्टा मात्रै बजार खोल्ने निर्णय बरु उचित रहेको बताउनुभयो । दैनिक १ घण्टाबाट बढाएर दुई घण्टा बनाउने र साधन संचालनमा रोक लगाउने हो भने मात्रै कोरोना संक्रमणको जोखिम कम हुने धारणा राख्नुभयो ।

माथिल्लो सव्जीमण्डी रोडमा रहेको पसलमा देखिएको भिड

यस्तै घोराही–१४ मा रहेको सव्जीमण्डीका व्यापारीहरु पनि सातामा दुई दिन खोलेर जोखिम मोल्नु भन्दा पुरै बन्द गर्नु उचित हुने बताइरहेका थिए । तरकारी व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका गुलाम रसुलले हप्तामा दुई घण्टा मात्रै बजार खोल्ने कुराले मानिसको अत्यधिक भिड बढेको बताउनुभयो । उहाँले भन्नुभयो–‘माथी राँगा काट्ने लाइनमा अघि मानिस हिड्नै नसक्ने भिड लागेको थियो, यसरी त कोरोना झन सर्ने खतरा देखियो ।’

मानिसको भिडलाई कम गर्नका लागि प्रहरी परिचालन गरिएको थियो तर प्रहरीले ठिक तरिकाले काम गर्न सकिरहेको देखिएको थिएन । प्रहरीले दुरी कायम नगरिरहेकालाई दुरी कायम गराउनका लागि अनुरोध गर्ने भन्दा पनि सडकमा हिडिरहेकालाई लक्षित गरेर सिट्ठी फुक्ने काम गरिरहेको थियो । भिडलाई नियन्त्रण गर्नका लागि प्रहरीको भूमिका नदेखिएको बजारबासीको गुनासो छ ।

अत्यावश्यक सामाग्रीका लागि विहान ७ देखि ८ बजेसम्म बजार खुल्ने भनिएपनि तरकारी विक्रिका लागि विहान ५ बजे नै किसानहरु आइसकेका हुन्छन् । कतिपय पसलहरु पनि विहान ५ बजे नै खुलेका थिए । गाउँका किसानहरु बस रिजर्भ गरेर त कोही ट्रयाक्टर लिएर आएका थिए ।

गत जेठ १ गते आइतबारदेखि लागु गरिएको नयाँ व्यवस्थाले कोरोनाको जोखिम बढाएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । पत्रकार गोविन्द खड्काले लेख्नुभएको छ ।‘हप्ताको दुईचोटी बजार खोल्नेहरु तपाईको निर्णय आज फिल्डमा हेर्नुभयो होला है ?

यस्तै व्यवसायी अनोदकुमार देवकोटाले लेख्नुभएको छ ।‘यो गलत निर्णयले अझ भयावहको स्थिती आउन सक्छ । सवारी साधन पूर्ण निषेध र बजार सातैबार खुला गर्नुपर्छ स्वास्थ्य मापदण्डमा कडाई गरेर ।’

दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकीले प्रशासनमा आयोजना गरिएको बैठकमा आफूहरुले साताको दुई दिन एक घण्टाका दरले बजार खोल्दा समस्या उत्पन्न हुने बारेमा जानकारी गराएको बताउनुभयो । उहाँले बैठकमा आफूहरुले राखेको कुराको सुनुवाई नभएका कारण समस्या आएको बताउनुभयो । दैनिक रुपमा एक घण्टाको दरले बजार खोल्दा भिडभाड कम हुने गरेको भएपनि अव सातामा दुई दिन बजारमा भिडभाड हुने भएकाले कोरोना संक्रमित बढ्ने सक्ने धारणा पनि उहाँले राख्नुभयो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार