शरद अधिकारी
नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र जिवराज आश्रितको निधन भएको २८ बर्ष पुगेको छ । २०५० साल जेठ ३ गतेका दिन नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा परेर ज्यान गएको थियो ।
सवैलाई थाहा छ । पंचायती व्यवस्थाको कालो शासन व्यवस्थाबाट भर्खरै मात्र खुल्ला राजनीतिमा प्रवेश गरेको तत्कालिन मालेलाई यौटा राम्रो शक्तिका रुपमा स्थापित गराउनका लागि मदन भण्डारीको ठूलो योगदान रहेको छ । मदन भण्डारी जनताले मन पराएको नेता । जनताद्वारा रुचाइएको नेता । जनताले मन पराएको नेता भएका कारणले गर्दा नै होला मदन भण्डारीलाई जननेता भनिएको छ । त्यसैगरी आश्रित पनि कुुशल संगठकका रुपमा हुनुहुन्थ्यो । उहाँलाई एमालेले कुशल संगठकका रुपमा मान्दै आएको छ । उहाँको सांगठनिक क्षमताका कारणले गर्दा पनि नेपालमा कम्युनिष्टहरुको वर्चश्व रहन सकेको हो । अर्थात नेकपा एमालेलाई कुनै बेलाको ठूलो पार्टी बनाउनका लागि आश्रितको सांगठनिक क्षमताले पनि काम गरेको हो भन्ने कुरामा शंका छैन । तत्कालिन एमालेले गुमाएका दुवै जना नेता एमालेका लागि मात्रै लडेका थिएनन । जनताका लागि पनि लडेका थिए । एमालेको स्वार्थका लागि त लडेकै थिए त्यो भन्दा पनि माथि उठेर देशको विकास र अग्रगमनका लागि लडेका थिए । दुवै नेता साच्चीकै श्रद्धाका पात्रका रुपमा रहेका छन । मदन भण्डारी र आश्रित नभएको पनि २८ बर्ष वितेको छ । यो २८ बर्षको अवधिमा नेपालको राजनीतिमा अनेकन उथलपुथल भएका छन ।
नेपालमा जतिवेला मदन भण्डारीले शान्तिरुपमा पनि राजतन्त्र उन्मुलन हुने कल्पना गरिरहनुभएको थियो त्यतिवेला धेरैले पत्याएका थिएनन तर अन्ततः मदन भण्डारीले भने जस्तै गरि शान्तिपूर्ण आन्दोलनले नै नेपालको राजतन्त्रको अन्त्य गर्न सक्यो । नेपालमा राजतन्त्रले यसरी यसरी नेपाली जनताका अधिकारमाथि धावा बोल्न सक्छ भन्ने कुरा गर्नुभएको थियो त्यसैगरी राजाले नागरिकका अधिकारमाथि धावा वोल्ने काम गरेका थिए । यसरी मदन भण्डारी भविश्य देख्न सक्ने र बर्तमानका बारेमा बोल्न सक्ने नेताका रुपमा हुनुहुन्थ्यो भन्न सकिन्छ ।
नेपालमा मदन भण्डारीको अभाव मदन भण्डारीको विचार बोक्ने पार्टीका लागि मात्रै खड्किएको छैन विरोधीहरुलाई पनि यो चासोको विषय बनेको छ । मदन भण्डारी भइदिएको भए मुलुक आजको अवस्थामा जाँदैनथ्यो भन्ने कुरा अहिले धेरैको मुखबाट आउने गरेको छ । यो कुरा त कल्पनाको कुरा मात्रै भयो मात्र कुरा के भने मदन भण्डारीले छोडेर गएको विचार छ नि यसलाई पक्डन सक्ने हो पक्कै पनि सम्वृद्धिको यात्रा टाढा हुने छैन ।
नेकपा एमालेमा मदन भण्डारीको विचारलाई पक्डने सवालमा एमालेमा अझै दृढता आउन सकेको छैन । एमालेले बहुदलिय जनवादमा के कुरा उल्लेख गरिएको छ भन्ने कुरालाई आम रुपमा प्रचार गर्न सेकेको छैन । कतिपय मानिसहरु २०४९ सालमा आएको यो विचारलाई कमा र फुलस्टप पनि परिवर्तन नहुने कुरा गरिहेका छन् भने अर्कोथरी समय अनुसार परिमार्जन गर्नुपर्ने धारणा राख्छन् । जवज भनेको जडसुत्र होइन । यो सिद्धान्त हो । सिद्धान्तलाई व्यवहारमा लागु गर्नुपर्छ । तर एमालेमा जवजको बुझाइको केही अभाव देखिएको पक्कै हो । एमालेले मदन भण्डारीको विचारलाई पक्डन सकेको भए एमालेको यात्रा २०५४ सालमा भन्दा अझ अघि बढ्ने थियो । एमाले कुनै बेला यो देशको प्रमुख शक्तिका रुपमा थियो । अहिले पनि छ । तर गएको निर्वाचनमा नेकपा एमाले र माओवादी आपसमा मिलेर नेकपा बन्ने घोषणा गरे । जसको फलस्वरुप नेकपा सवैभन्दा ठूलो दलका रुपमा स्थापित भयो । एकता टुट्यो । फेरि नेकपा एमाले र माओवादी आफ्नो बाटोमा लागेका छन् ।
यतिवेला नेकपा एमाले नेपालको सवैभन्दा ठूलो दल भएको छ । यो कम्युनिष्टहरुको मुलधार हो । अहिले पनि नेपालको कम्युनिष्ट आन्दोलन मदन भण्डारीले अघि सारेको विचारको सेरोफेरोमा घुमिरहेको छ । संगै मदन भण्डारीको अभाव यतिवेला फेरि खड्किएको छ । मदन भण्डारी भइदिएको भए आज मुलुक जुन स्थितीमा रहेको छ यस्तो हुने थिएन भन्नेहरु छन् । मदन भण्डारी भइदिएको भए नेपालका कम्युनिष्टहरुका बीचमा धेरै पहिले नै एकता भइसक्ने थियो भन्नेहरु पनि छन् । हामी सवैलाई थाहा छ । जनताको बहुदलिय जनवादका विशेषता भनेको संविधानको सर्वोच्चता, बहुदवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानवअधिकारको रक्षा, बहुदलिय प्रतिष्पर्धात्मक प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार तथा संवैधानिक प्रतिपक्ष, कानुनी राज्य, बैदेशिक पूँजी र प्रविधिको उपयोग, क्षतिपूर्तिको नीति, बैदेशिक नीति, नेतृत्व र अधिनायकत्व, जनवादी व्यवस्थाको सुदृढीकरण, जनताको बहुदलीय जनवाद ।
मदन भण्डारीको सपनामा देशको समृद्धि लुकेको छ । जनता सुखी र देश समृद्ध भयो भने मात्रै मदन भण्डारीको सपना साकार हुनेछ । एतिवेला नेकपा एमालेको सरकारले दुई बर्ष काम गर्न सक्यो भने कुनै पनि प्रधानमन्त्रीले पाँच बर्ष लगातार काम गरेको देखिने थियो । विगतमा सरकार परिवर्तनमा लागिरहने दलहरुको स्वभाव यो बीचमा पनि देखिएको छ । सरकारमा जाने, सुखभोग गर्ने भन्दा पनि जनतालाई कसरी सुविधा दिने, जनतालाई कसरी सुरक्षा दिने भन्ने कुरामा दलहरुको ध्यान जानुपर्ने थियो । यतिवेला नेकपा एमालेको सरकारबाट पार्टी कार्यकर्ताहरुले मात्रै होइन आम जनताले पनि खोजेको कुरा भनेको यत्ति नै हो । यतिवेला महामारीको बेला छ । यस्तो बेलामा एक थान सिलिण्डरका लागि मानिसहरु तड्पिनुपर्ने अवस्था छ । औषधी उपचार नपाउने अवस्था छ । यस्तो अवस्थाको अन्त्य होस । मदन भण्डारी र जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली ।
[email protected]