राप्ती पोष्ट समाचारदाता
दाङ, २ जेठ । नेपालको गीत संगीतको क्षेत्रमा अर्को तारा अस्ताएको छ । नेपाली गीत संगीतले प्रेमध्वज प्रधानलाई गुमाएको केही दिन नवित्दै वरिष्ठ संस्कृतिकर्मी तथा चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ ।
कोरोना भाइरसबाट संक्रमित भइ विगत एक हप्तादेखि सैनिक अस्पतालमा उपचाररत कार्कीको आइतबार बिहान निधन भएको छोरा पंकज कार्कीले जानकारी दिनुभयो । चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा जीवनभर सक्रिय रहेका कार्कीको ८३ वर्षको उमेरमा निधन भएको हो । उहाँको विसं १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा जन्म भएको थियो ।
कार्कीले नेपालीसहित हिन्दी तथा उर्दू भाषामा साहित्य सिर्जना गर्नुभएको छ । उहाँका कालजयी सृजनाहरुमा तिजको रहर आयो बरिलै, दाइलाई बोलाउँ भने लेक स्वर पुग्दैन, बुझ्नै सकिनौँ तिमिले मेरो आँखाको भाका, माया पिरतीको चोखो कथा, यी ओठ तिम्रा (राष्ट्रिय चलचित्र पुरस्कार पाएको, २०४३ सालमा), छोरीको जन्म हारेको कर्म, अंग अंगमा तरंग बोकी, बैनीको दया छ भने सहितका दर्जनौँ लोक, आधुनिक तथा चलचित्रका गीतहरु रहेका छन् ।
कार्कीका गीतमा नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधानसहितले श्वर दिनुभएको छ । आत्मा बेचेको छैन, ढलेको गिलासँ, हनिमुन–उपन्यास, बसिबियाँलो–कथासंग्रह, माया पिरतीको कथा, जुन निदाउन थाल्यो–गीत संग्रह, कल्पना टुट चुकी है (हिन्दी कविता), दिल गिजर के टुकडे (हिन्दी उर्दू कविता) सहित प्रकाशित छन् ।
उहाँले चलचित्र निर्देशनको काम पनि गर्नुभएको थियो । उहाँको निर्देशनमा बनेका चलचित्रहरु विश्वास, भूमरी, पहिलो प्रेम हुन् । विसं २०२५ सालमा परिवर्तन चलचित्रको पटकथा संवाद लेखनबाट नेपाली चलचित्रमा प्रवेश गर्नुभएको थियो । उहाँका दुई छोरा पारस र पंकज कार्की तथा श्रीतमी गंगा कार्की हुनुहुन्छ ।
कार्कीको निधनमा नेपालका बरिष्ठ संगितकर्मी लगायतले श्रद्धाञ्जली व्यक्त गरेका छन् । बरिष्ठ चलचित्रकर्मी तथा नेपाली गीत संगीत र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएका कार्कीप्रति राप्ती पोष्ट दैनिक परिवार पनि भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ ।