राप्ती पोष्ट
दाङ, २५ भदौ । दाङका विभिन्न वन क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले ११ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले बुधबार बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन गरेको विशेष अप्रेसनका क्रममा ती हतियार बरामद गरेको हो ।
प्रहरीका अनुसार प्रहरी चौकी रामपुरबाट खटिएको टोलीले घोराही उपमहानगरपालिका–१ स्थित शिरुखर्क राष्ट्रिय वनबाट ६ नाल भरुवा बन्दुक बरामद गरेको छ । त्यस्तै प्रहरी चौकी हाँसिपुरको टोलीले बंगलाचुली गाउँपालिका–८ स्थित कएनापानी सामुदायिक वनबाट दुई नाल र अस्थायी प्रहरी पोष्ट बनैको टोलीले लमही नगरपालिका–७ स्थित नवशान्ति सामुदायिक वनबाट तीन नाल भरुवा बन्दुक बरामद गरेको हो ।
बरामद गरिएका हतियार कसले र के प्रयोजनका लागि वनमा लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।



