शालिक ढले पनि आस्था नढलेको कांग्रेसको उद्घोष
राप्ती पोष्ट समाचार
घोराही, भदौ । गत वर्ष भदौ २४ गते घोराहीको बीपी चोकमा तोडफोड गरी ढालिएको नेपाली कांग्रेसका संस्थापक नेता एवं महामानव बीपी कोइरालाको पूर्णकदको शालिक एक वर्षपछि सोही दिन पुनः अनावरण गरिएको छ । बीपीको ११२ औँ जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेस दाङले बीपी चोकमा नयाँ शालिक स्थापना गरी पुनः अनावरण गरेको हो ।
नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पुष्पा भुसालले पूर्णकदको शालिक अनावरण गर्नुभएको थियो ।
एक वर्षअघि तोडफोड गरी ढालिएको शालिककै स्थानमा पुनः शालिक ठडिएपछि कांग्रेसका नेता तथा कार्यकर्ताले यसलाई केवल एउटा शालिक पुनःस्थापनाको विषय नभई लोकतन्त्र, राष्ट्रियता, समाजवाद र राजनीतिक आदर्शप्रतिको प्रतिबद्धताको पुनःघोषणाका रूपमा लिएका छन् ।
गत वर्ष भदौ २४ गतेको घटना घोराहीका लागि पीडादायी दिनका रूपमा स्मरण गरिन्छ । काठमाडौंमा युवाहरू मारिएको घटनाको विरोधमा घोराहीमा पनि युवाहरू सडकमा निस्किएका थिए । प्रारम्भमा प्रदर्शनकारीहरू घोराही उपमहानगरपालिकाको कार्यालयतर्फ पुगेका थिए । त्यहाँबाट फर्किएर चोकमा कोणसभा गरेपछि उनीहरू आ–आफ्नो गन्तव्यतर्फ लागेका थिए । केही समयपछि पुनः ठूलो संख्यामा जम्मा भएको प्रदर्शनकारी समूह नगरपालिकातर्फ गएको थियो ।
नगरपालिका परिसरमा प्रहरीको व्यापक परिचालन भएपछि प्रदर्शनकारी र प्रहरीबीच तनावको अवस्था सिर्जना भएको थियो । त्यस क्रममा ढुंगा प्रहारसमेत भएको थियो । त्यसपछि प्रदर्शनकारीहरू सहिद गेटतर्फ अघि बढेका थिए । सहिद गेट नजिकैबाट प्रदेशका तत्कालीन मन्त्री राजु खनालको घरतर्फ अघि बढ्न खोज्दा बजारमा थप क्षति हुन सक्ने भन्दै केही व्यक्तिले टोलीलाई रोक्ने प्रयास गरेका थिए ।
त्यसपछि प्रदर्शनकारीहरूको एउटा समूह नेपाली कांग्रेस दाङको पार्टी कार्यालयतर्फ पुगेको थियो । पार्टी कार्यालयमा पुगेपछि त्यहाँ रहेका सामानहरू बाहिर निकालिएको र कार्यालयमा आगजनी गरिएको थियो । आगजनीपछि कांग्रेसको पार्टी कार्यालय केही समयमै भग्नावशेषमा परिणत भएको थियो । घोराही बजारमा भएको उक्त घटनाले राजनीतिक दलका कार्यालय, सार्वजनिक संरचना तथा निजी सम्पत्तिको सुरक्षामाथि गम्भीर प्रश्नसमेत उठाएको थियो ।
कांग्रेस पार्टी कार्यालयमा तोडफोड तथा आगजनीपछि अघि बढेको भीड बीपी चोकमा पुगेको थियो । त्यहाँ रहेको बीपी कोइरालाको पूर्णकदको शालिक प्रदर्शनकारीको निशानामा परेको थियो । प्रदर्शनकारीहरूले शालिकमाथि ढुंगा तथा रड प्रहार गर्दै तोडफोड गरेका थिए । त्यसपछि शालिक ढालिएको थियो । निर्जीव शालिकमाथि गरिएको तोडफोडपछि प्रदर्शनकारीहरू त्यहाँबाट नेकपा एमालेको पार्टी कार्यालयतर्फ अघि बढेका थिए ।
एक वर्षअघि जुन दिन बीपीको शालिक ढालिएको थियो, त्यही दिन अर्थात् भदौ २४ गते नै पुनः शालिक ठडिएपछि कांग्रेस नेता तथा कार्यकर्ताले विगतको घटनालाई स्मरण गर्दै लोकतान्त्रिक मूल्य र मान्यताको पक्षमा आफ्नो प्रतिबद्धता दोहो¥याएका छन् । कार्यक्रममा सहभागी कांग्रेसका नेता तथा कार्यकर्ताले ‘शालिक ढलेको हो, आस्था ढलेको छैन’ भन्ने सन्देश दिएका थिए ।
उनीहरूले बीपी कोइरालाको शालिक ढालिँदैमा बीपीले स्थापित गर्न खोजेको राजनीतिक विचार र कांग्रेसप्रतिको जनताको विश्वास समाप्त नहुने बताएका थिए । बरु यस्ता घटनाबाट कांग्रेस अझ सजग, संगठित र मजबुत भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनीहरूको भनाइ थियो ।
बीपी कोइराला नेपाली राजनीतिक इतिहासमा लोकतन्त्र र समाजवादका प्रमुख प्रवक्ताका रूपमा स्थापित हुनुहुन्छ । उहाँले नेपाली राजनीतिमा प्रजातान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता, राष्ट्रियता र सामाजिक न्यायलाई महत्वपूर्ण विषयका रूपमा स्थापित गर्नुभएको कांग्रेस नेताहरू बताउँछन् । त्यसैले बीपीको शालिकलाई केवल धातु वा ढुंगाबाट बनेको संरचनाका रूपमा नभई उहाँको राजनीतिक दर्शन र योगदानको प्रतीकका रूपमा कांग्रेसले लिने गरेको छ ।
एक वर्षअघि भएको तोडफोडपछि बीपीको शालिक पुनःस्थापना गर्ने विषय कांग्रेसका लागि भावनात्मक र राजनीतिक दुवै हिसाबले महत्वपूर्ण बनेको थियो । वर्ष दिनपछि शालिक पुनःस्थापना गरेर अनावरण गरिएसँगै बीपी चोकले पुनः आफ्नो पुरानो स्वरूप प्राप्त गरेको कांग्रेस नेताहरूले बताएका छन् ।
कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताले विगतका घटनाबाट पाठ सिक्दै सार्वजनिक सम्पत्ति, राजनीतिक दलका कार्यालय, ऐतिहासिक व्यक्तित्वका शालिक तथा निजी सम्पत्तिको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । असहमति र विरोध लोकतन्त्रको स्वाभाविक प्रक्रिया भए पनि सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीलाई कुनै पनि अवस्थामा राजनीतिक अभिव्यक्तिको उचित माध्यम मान्न नसकिने उनीहरूको भनाइ थियो ।
गत वर्षको घटनामा घोराही बजारमा रहेका अन्य केही संरचनामा पनि क्षति पुगेको थियो । घोराहीमा सरकारी कार्यालयहरूमा आगजनी गरिएको थियो भने निजी सम्पत्ति, होटल, विभिन्न संघसंस्था तथा कार्यालयहरूमा समेत तोडफोड र आगजनी भएको थियो । घटनाका कारण कतिपय कार्यालयहरू लामो समयसम्म प्रभावित भएका थिए । गत वर्ष आगजनी र तोडफोडबाट क्षति पुगेका कतिपय कार्यालयहरू पुनःनिर्माण तथा मर्मतपछि सञ्चालनमा आएका छन् । कतिपय संरचनामा भने क्षति गम्भीर रहेकाले नियमित काम सञ्चालन गर्न कठिनाइ भएको अवस्था अझै रहेको बताइएको छ । एकै दिनमा भएको व्यापक तोडफोड र आगजनीले घोराहीको आर्थिक, सामाजिक तथा प्रशासनिक गतिविधिमा समेत असर पारेको थियो ।
त्यस घटनाको एक वर्षपछि बीपी चोकमा पुनः शालिक ठडिएको छ । शालिकको पुनःस्थापनासँगै कांग्रेसले विगतको क्षतिको स्मरण मात्र गरेको छैन, राजनीतिक आस्था र विचारलाई संरचनाभन्दा माथि राख्ने सन्देश पनि दिएको छ । शालिक भत्किन सक्छ, संरचना क्षतिग्रस्त हुन सक्छन्, तर कुनै राजनीतिक विचार र लोकतान्त्रिक मूल्यप्रतिको विश्वास त्यति सजिलै भत्काउन नसकिने कांग्रेसका नेता कार्यकर्ताको धारणा छ । बीपी जयन्तीको अवसरमा आयोजित पुनःअनावरण कार्यक्रमले कांग्रेसभित्र बीपीको विचारलाई नयाँ पुस्तासम्म पु¥याउने विषयलाई पनि चर्चामा ल्याएको छ । बदलिँदो राजनीतिक परिवेशमा बीपीले अघि सारेका लोकतन्त्र, राष्ट्रियता र समाजवादका अवधारणालाई व्यवहारमा कसरी लागू गर्ने भन्ने विषयमा पनि गम्भीर बहस आवश्यक रहेको कांग्रेस नेताहरूले बताएका छन् ।
एक वर्षअघि बीपी चोकमा ढलेको शालिक हेरेर कांग्रेस कार्यकर्ताले जुन पीडा महसुस गरेका थिए, त्यही स्थानमा एक वर्षपछि पुनः शालिक ठडिँदा उनीहरूका लागि त्यो क्षण भावनात्मक बनेको थियो । बीपीको शालिक पुनःस्थापना हुँदै गर्दा कांग्रेसका नेता तथा कार्यकर्ताले विगतमा भएको घटनाबाट निराश नहुने, बरु लोकतान्त्रिक आस्था र संगठनलाई थप बलियो बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । एक वर्षअघि ढालिएको शालिक सोही दिन पुनः ठडिनुले एउटा प्रतीकात्मक सन्देश दिएको छ । ‘शालिक ढल्न सक्छ, संरचना भत्किन सक्छन्, तर विचार, आदर्श र आस्था निरन्तर संघर्ष र प्रतिबद्धताबाट पुनःउभिन सक्छन् ।’



