घोराहीको पुनःथापना केन्द्र बन्द गर्ने षडयन्त्र
घोराही, भदौ । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा घोराहीमा बसिरहेका अपांगहरुलाई जवरजस्ती काठमाडौ लगिएको छ । केन्द्रिय उप महासचिव समेत रहेकी दाङ शाखाकी आजिवन सदस्य भगवती बुढाथोकीले अपांगहरुलाई जवरजस्ती काठमाडौं लगेको पाइएको छ । पुनःस्थापना केन्द्रमा रहेका छ जना मध्य चार जनालाई काठमाडौं लगिएको छ भने एकजना आफन्तको घरमा पुगेका छन् । यस्तै अर्को एक जना भने अलपत्र अवस्थामा पुनःस्थापना केन्द्रमा रहेको भान्सा घरको खुल्ला स्थानमा सुत्न थालेका छन् । बुढाथोकीले सवैलाई ‘अव सवै काठमाडौं जाने हो, यहाँको सवै कार्यक्रम बन्द गर्ने हो ।’ भनेपछि चार जना काठमाडौं जान तयार भएको पुनःस्थापना केन्द्रमा आश्रय लिइरहेका सुरेन्द्र चौधरीले बताउनुभयो ।
गत भदौ ५ गतेका दिन केन्द्रिय कार्यालयबाट कार्यकारी निर्देशक चुडामणी पौडेलले शाखामा कार्यरत कर्मचारी विक्रम तामाङलाई एउटा पत्र पठाएर जिल्लाका सवै कार्यक्रम बन्द गर्ने निर्णय भएकाले आफ्नो हिसाव केन्द्रिय उप महासचिव भगवती बुढाथोकीसंग लिनु जानकारी गराएको तामाङले बताउनुभयो । उहाँले आफूले सात महिना देखि तलव नपाएको र तवल नदिएर एक्कासी बर्खास्त गरिएको चिट्ठी पाएको बताउनुभयो ।
तामाङले तलवका लागि बुढाथोकीलाई भन्दा गाली गलौज गर्ने गरेको बताउनुभयो । तामाङका अनुसार बुधबारका दिन एउटा गाडी ल्याएर अपांगहरुलाई काठमाडौं लगिएको हो । आश्रय लिइरहेका अपांगहरुलाई उठाएर काठमाडौं लग्दा जिल्ला शाखामा तालावन्दी गरेर गएको पनि तामाङले बताउनुभयो । कार्यालयमा तालावन्दी गर्दा आफ्ना नीजि प्रयोगका ल्यावटप लगाएका सामानहरु पनि भित्रै थुनिएको तामाङको भनाई छ ।
बुढाथोकीलाई केन्द्रिय अध्यक्ष साम्देन लामाले गएको माघ २४ गतेका दिन संयोजकका रुपमा काम गर्ने जिम्मेवारी दिंदा रुपा वली नेतृत्वमा रहेको समिति भंग गरिएको थियो । छ महिनाको म्यादमा पनि काम गर्न नसकेपछि स्वतः म्याद सकिएको भनिएको कमिटीका संयोजक बुढाथोकीले शाखा कार्यालयका सवै गतिविधि बन्द भूमिका खेलेको बुझाइ रहेको छ । जिल्ला शाखाले आठ बर्ष अघि संचालन गरेको पुनःस्थापना कार्यक्रम बन्द गरिएपछि बसिरहेका मात्रै होइन अरु अपांग पनि समस्यामा परेका छन् ।
पुनःस्थापना केन्द्रमा बसिरहेका डोमबहादुर विकले आफूलाई काठमाडौं जान मन नभएको यहि बस्ने भनेपनि आफ्नो कुरा नसुनेको बताउनुभयो । उहाँले आफूलाई बुढाथोकीले ‘कोही आफन्तको घरमा जाउ यहाँ सवै बन्द भइसक्यो ।’ भन्दै भन्दै कपडा लत्ताहरु बाहिर निकालिदिएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘मेरा आफन्तहरु कोही छैनन्, बंगलाचुली घर हो, त्यहाँ पनि जान सक्ने अवस्था छैन, कहाँ जाने के गर्ने, यहि बाहिर ओच्छ्यान लगाएर सुतेको छु ।’
अपांग संघमा दाताहरुले दिएको खाद्यान्न सामग्री प्रशस्त रहेको छ । सुत्न खानका लागि कुनै समस्या रहेको छैन । कार्यालय पनि नियमित रुपमा संचालनमा थियो तर उपमहासचिव बुढाथोकीले पुनःस्थापना केन्द्र बन्द गराएपछि जिल्लाका अन्य स्थानबाट घोराही आउँदा बस्ने ठाउँ समेत हराएको गुनासो गरेका छन् । पश्चिम दाङबाट आएका सुरेश विकले घोराही आउँदा बस्ने ठाउँ थियो त्यो पनि हरायो भन्दै अपांगका लागि सहारा हराएको बताउनुभयो ।
नेपाल अपांग संघ दाङका संस्थापक अध्यक्ष भोलानाथ योगीले जिल्ला शाखाका सम्पूर्ण कार्यक्रम बन्द गर्ने केन्द्रको निर्णय स्वेच्छाचारी भएको बताउनुहुन्छ । २०५४ सालमा स्थापना भएको नेपाल अपांग संघ २०६८ साल देखि केन्द्रको शाखाका रुपमा आवद्ध भएको थियो । त्यसअघि साविक राप्ती र कर्णाली क्षेत्रमा सेवाका अनेकन काम गरेको स्मरण गर्दै योगीले इतिहासमै पहिलो पटक यस्तो संकट निम्तिएको बताउनुभयो । उहाँले आठ बर्ष अघि देखि संचालनमा रहेको पुनःस्थापना केन्द्र बन्द गर्ने निर्णयले आफूहरु अचम्ममा परेको बताउनुभयो ।
यस्तै पूर्व अध्यक्ष श्रीमन न्यौपानले पनि केन्द्रिय अध्यक्ष लामा र केन्द्रिय उप महासचिव बुढाथोकीको षडयन्त्रबाट दाङ शाखाका सवै कार्यक्रम बन्द गरिएको बताउनुभयो । उहाँले राम्रो संग चलिरहेको पुनःस्थापना कार्यक्रम बन्द गर्ने कार्यले नराम्रो सन्देश गएको पनि बताउनुभयो । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रले संचालन गरेको अपांग पुनःस्थापना केन्द्र यस क्षेत्रको एक मात्र पुनःस्थापना केन्द्रका रुपमा रहेको छ । केन्द्रिय पदाधिकारीले नै पुनःस्थापना केन्द्रलाई बन्द गर्नुका पछाडीको कारण आफूहरुले बुझ्न नसकेको पनि उहाँले बताउनुभयो । जिल्लाका कार्यक्रम बन्द गर्दा आफूहरुसंग कुनै परामर्शै नगरिएको उहाँको भनाई छ ।
दाङ शाखा अन्तरतग एक सय छ जना आजिवन सदस्यहरु रहेका छन् । भने जिल्लामा संचालनमा रहेको पुनःस्थापना केन्द्रका लागि घोराही उपमहानगरपालिकाले रकम उपलव्ध गराउँदै आएको छ । नगरपालिकाको निर्णय र स्विकृतिमा संचालनमा आएको पुनःस्थापना केन्द्र बन्द गर्ने बारेमा आफूहरुलाई कुनै जानकारी नभएको घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले बताउनुभयो । उहाँले काठमाडौंमा विवाद रहेको भन्ने सुनेको, अख्तियारमा मुद्दा परेको भनेर कसैले सुनाएको भएपनि जिल्ला शाखाका सवै कार्यक्रम र पुनःस्थापना केन्द्र बन्द गर्ने निर्णयले आफूहरुलाई अचम्ममा पारेको बताउनुभयो ।
(राप्ती पोष्ट दैनिकबाट)



