एरिया नं. २ बाट मात्रै ७ लाख ११ हजारभन्दा बढी सहयोग संकलन, रकम पीडितको राहतमा प्रयोग गरिने
राप्ती पोष्ट समाचार
दाङ, भदौ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि लायन्स क्लब्स इन्टरनेसनल, डिष्ट्रिक्ट ३२५ ‘एन’ नेपालले २१ लाख रुपैयाँभन्दा बढी रकम संकलन गरेको छ । बाढीपीडितको तत्कालीन आवश्यकता पूरा गर्न लायन्स क्लब, एरिया र व्यक्तिगत तहबाट संकलित सहयोग रकममध्ये कुल २१ लाख ४० हजार ४८३ रुपैयाँ संकलन भएको डिष्ट्रिक्ट गभर्नर लायन टिकाराम चपाईले जारी गर्नुभएको विवरणमा उल्लेख छ ।
भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा पीडितको दुःखमा साथ दिन लायन्सकर्मीहरूले अभियान सञ्चालन गरेका हुन् । गभर्नर चपाईले जारी गर्नुभएको अपिल तथा विवरणअनुसार विभिन्न एरिया, क्लब तथा व्यक्तिगत तवरबाट प्राप्त सहयोग रकमलाई एकीकृत गरी बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री पुर्याउने तयारी गरिएको छ ।
डिष्ट्रिक्ट गभर्नर चपाईले जारी गर्नुभएको विवरणअनुसार पाँचवटा एरियाबाट रकम संकलन भएको छ । एरिया नं. १ बाट २६ हजार २०० रुपैयाँ, एरिया नं. २ बाट ७ लाख ३२ हजार ६०३ रुपैयाँ, एरिया नं. ३ बाट ४ लाख ४ हजार ८६८ रुपैयाँ, एरिया नं. ४ बाट ६ लाख २२ हजार १४९ रुपैयाँ र एरिया नं. ५ बाट ३ लाख ५४ हजार ४६६ रुपैयाँ संकलन भएको उल्लेख छ । यी सबै रकम जोड्दा २१ लाख ४० हजार ४८३ रुपैयाँ पुग्छ ।
गभर्नर चपाईले बाढीपीडितका लागि संकलित रकमलाई राज्यकोषमा समेत सहयोगस्वरूप हस्तान्तरण गरिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार संकलित रकममध्ये ९ लाख रुपैयाँ राज्यकोषमा हस्तान्तरण गरिसकिएको छ । प्रारम्भिक हिसाबमा राज्यकोषमा हस्तान्तरण गरिएको रकम घटाउँदा करिब १२ लाख ४० हजार रुपैयाँ लायन्स अभियानमार्फत उपलब्ध हुने र त्यसलाई बाढी प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री खरिद तथा सम्बन्धित क्षेत्रमा पु¥याउन प्रयोग गरिनेछ ।
गभर्नर चपाईले सहयोग रकमको पारदर्शिता कायम गर्न बैंक स्टेटमेन्ट तथा आवश्यक प्रमाणिकरणको प्रक्रिया पूरा गर्ने कार्य भइरहेको जनाउनुभएको छ । विभिन्न क्लब तथा व्यक्तिहरूले अझै सहयोग गर्न इच्छा व्यक्त गरिरहेकाले संकलित रकमको प्रारम्भिक विवरण सार्वजनिक गरिएको उहाँको भनाइ छ । थप रकम संकलन भए त्यसलाई पनि अभियानमा समेटिने जनाइएको छ ।
एरिया नं. २ बाट मात्रै सात लाखभन्दा बढी
डिष्ट्रिक्ट ३२५ ‘एन’ अन्तर्गतको एरिया नं. २ ले मात्रै सात लाख रुपैयाँभन्दा बढी सहयोग जुटाएको छ । एरिया चिफ लायन भरतराज देवकोटाका अनुसार एरिया नं. २ अन्तर्गतका लायन्स क्लब तथा सहयोगीहरूबाट संकलित ७ लाख ३२ हजार ८०३ रुपैयाँ सम्बन्धित खातामा जम्मा गरिएको छ ।
लायन देवकोटाले आदरणीय लायन मित्रहरूलाई सम्बोधन गर्दै सकारात्मक सोच, दया, करुणा र प्रेमले ओतप्रोत लायनकर्मीहरूको सहयोगका कारण भोटेकोशी तथा त्रिशूली बाढीपीडितका लागि उक्त रकम संकलन गर्न सम्भव भएको बताउनुभएको छ । उहाँले संकलित रकम पीडितसम्म सही समयमा र आवश्यक व्यक्तिसम्म पु¥याउने जिम्मेवारी आफूहरूले लिएको उल्लेख गर्नुभएको छ ।
देवकोटाले सहयोग रकमको प्रयोगमा पारदर्शिता र जवाफदेहिता कायम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । उहाँका अनुसार सहयोग गर्ने प्रत्येक लायन सदस्य तथा सहयोगीले आफ्नो योगदान सही ठाउँमा प्रयोग भएको अनुभूति गर्ने गरी राहत वितरण गरिनेछ ।
एरिया नं. २ अन्तर्गत प्राप्त विवरणमा लायन विनोदकुमार श्रेष्ठबाट ११ हजार रुपैयाँ, लायन लब अधिकारीबाट ६ हजार ३९९ रुपैयाँ, लमही जागरण लायन्स क्लबबाट ५० हजार रुपैयाँ, लायन्स क्लब अफ प्युठानबाट १ लाख ४० हजार ५६५ रुपैयाँ, लायन्स क्लब अफ राप्ती इन्जिनियरिङबाट २० हजार रुपैयाँ, लायन्स क्लब अफ दाङ चैतन्य बाट ६२ हजार ५०० रुपैयाँ सहयोग प्राप्त भएको छ।
त्यस्तै लायन्स क्लब अफ दाङ नारायणपुरबाट ३१ हजार, लायन्स क्लब अफ घोराही अम्बिकेश्वरीबाट २५ हजार, लायन्स क्लब अफ देउखुरीबाट ३७ हजार ११६, लायन्स क्लब अफ राप्ती क्यापिटलबाट २६ हजार ७१५, लायन्स क्लब अफ प्युठान फूलबारीबाट २० हजार, लायन्स क्लब अफ प्युठान भृकुटीबाट ५२ हजार ५००, लायन्स क्लब अफ प्युठान धर्मावतीबाट १० हजार रुपैयाँ सहयोग भएको विवरणमा उल्लेख छ ।
यसैगरी लायन्स क्लब अफ स्वर्गद्वारीबाट १ लाख ११ हजार १११ रुपैयाँ, लायन्स क्लब अफ देउखुरी गोरक्ष्यबाट ३७ हजार ८७१, लायन्स क्लब अफ दाङबाट २६ हजार २६, लायन्स क्लब अफ लमहीबाट ३२ हजार, लायन्स क्लब अफ दाङ रजभिड्याबाट १२ हजार र लायन्स क्लब अफ घोराही सिटीबाट २१ हजार रुपैयाँ सहयोग प्राप्त भएको विवरण सार्वजनिक गरिएको छ ।
‘सहयोग रकम सही ठाउँमा पुग्छ’
लायन देवकोटाले बाढीपीडितका लागि सहयोग गर्ने सबै लायन सदस्यप्रति आभार व्यक्त गर्दै संकलित रकमलाई आवश्यकताका आधारमा राहत सामग्री खरिद तथा वितरणमा प्रयोग गरिने बताउनुभएको छ । उहाँले आफूहरूले सहयोग रकमलाई केवल संकलन गरेर राख्ने नभई बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री पु¥याउने अभियानका रूपमा अघि बढाएको बताउनुभएको छ ।
“हामीले हाम्रो जवाफदेहिता र पारदर्शिता ती दानवीर लायन मित्रहरू समक्ष प्रमाणित गर्ने अवसरका रूपमा लिएका छौँ,” देवकोटाले भन्नुभएको छ ।
उहाँले रसुवा तथा भोटेकोशी क्षेत्रका बाढीपीडितलाई सही समयमा आवश्यक सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बाढीका कारण कतिपय परिवार घरबारविहीन हुनुका साथै खाद्यान्न, कपडा, स्वास्थ्य सामग्रीलगायत आधारभूत आवश्यकताबाट समेत प्रभावित भएको अवस्थामा तत्काल राहत आवश्यक रहेको उहाँको भनाइ छ ।
डिष्ट्रिक्ट गभर्नर चपाईले पनि मानवीय संकटका बेला लायन्सकर्मीहरूले देखाएको एकता र सेवाभाव प्रशंसनीय रहेको बताउनुभएको छ । उहाँले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अभियानमा जोडिएका सबै लायनकर्मी, क्लब, परिवार तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै सहयोगको भावना अझ विस्तार गर्न आग्रह गर्नुभएको छ । “हामीले देखाएको एकता, सद्भाव र मानवता नै हाम्रो वास्तविक शक्ति र विशेषता हो,” गभर्नर चपाईले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ ।
लायन्सको अभियानमा आएको सहयोग रकम बाढी प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री खरिद गरी सम्बन्धित क्षेत्रमा पु¥याउने लक्ष्य राखिएको छ । यसले विपद्को समयमा गैरसरकारी तथा सामाजिक संस्थाहरूले राज्यका संयन्त्रसँग सहकार्य गर्दै प्रभावित नागरिकलाई राहत र पुनःस्थापनामा सहयोग गर्न सक्ने उदाहरणसमेत प्रस्तुत गरेको छ ।



