spot_img
spot_img

प्रतिष्ठानमा मर्मतपछि डायलाइसिस मेसिन संचालनमा

 

राप्ती पोष्ट

दाङ, २१ जेठ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वर्षौंदेखि बिग्रिएर थन्किएका पाँच वटा हेमोडायलाइसिस मेसिन मर्मतपछि पुनः सञ्चालनमा ल्याइएका छन् । मेसिनहरू लामो समयदेखि बन्द अवस्थामा रहँदा मिर्गौला रोगका बिरामीहरू उपचारका लागि लामो समयदेखि पालो कुर्न बाध्य हुँदै आएका थिए ।

प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सह–प्राध्यापक डा. सुरेश रसाइलीका अनुसार पोखराबाट डायलाइसिस सम्बन्धी प्राविधिक विज्ञ टोली बोलाएर बिग्रिएका मेसिनहरू मर्मत गरी सञ्चालनमा ल्याइएको हो । उहाँले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय लगायत सरकारी निकाय तथा निजी क्षेत्रले सि आर सी अन्तर्गत थप डायलाइसिस मेसिन उपलब्ध गराउन चाहेमा प्रतिष्ठान समन्वय गर्न तयार रहेको बताउनुभयो ।

मेसिनहरू सञ्चालनमा आएपछि बिरामीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । डा. रसाइलीका अनुसार यसअघि इमरजेन्सीमा डायलाइसिस गराउने बिरामीको संख्या २२ जनासम्म पुगेकोमा अहिले घटेर तीन जनामा सीमित भएको छ । साथै, दैनिक थप ११ जना नयाँ बिरामीले नियमित डायलाइसिस सेवा पाउन थालेका छन् ।

प्रतिष्ठानमा हाल तीन सिफ्टमा डायलाइसिस सेवा सञ्चालन भइरहेको छ, जसबाट दैनिक ३३ जना मिर्गौला रोगका बिरामीले सेवा लिइरहेका छन् । बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म सञ्चालन हुने सेवाबाट हालसम्म ९१ जना बिरामी लाभान्वित भएको प्रतिष्ठानले जनाएको छ ।

सेवालाई थप प्रभावकारी बनाउन नर्सिङ इञ्चार्जसहित १८ जना नर्सिङ स्टाफलाई विशेष तालिम दिइएको छ । हाल प्रतिष्ठानमा १५ वटा हेमोडायलाइसिस मेसिन सञ्चालनमा रहेका छन् भने थप मेसिन सञ्चालनमा आएपछि प्रतीक्षामा रहेका ५४ जना बिरामीलाई सेवा दिन सकिने अपेक्षा गरिएको छ ।

मेसिन मर्मत तथा सञ्चालनमा ल्याउन प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर शिरीष बुढाथोकीको नेतृत्वमा प्राविधिक टोलीमा आशिष गौतम र अंकित अधिकारीसहितको टोलीले लामो समयदेखि काम गर्दै आएको हो । प्रतिष्ठानले मुलुकमै पहिलोपटक आईसीयूमा रहेका मिर्गौला बिरामीका लागि लक्षित गरी आईसीयूभित्रै डायलाइसिस सेवा पनि सञ्चालन गर्दै आएको छ । विशेषज्ञ चिकित्सक, नर्सिङ इञ्चार्जसहित १८ जनाको टोली निरन्तर सेवा प्रवाहमा खटिएको प्रतिष्ठानले जनाएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार