होटल व्यवस्थापन विषय सञ्चालनमा, उत्कृष्ट नतिजासँगै सम्मान कार्यक्रम
राप्ती पोष्ट
घोराही, ३० वैशाख
दाङको घोराहीस्थित दीपशिखा मावि/कलेज ले यस शैक्षिक सत्रदेखि कक्षा ११ मा होटल व्यवस्थापन विषय थप गरेको छ। २०४९ सालमा स्थापना भएको विद्यालयले समयानुकूल र रोजगारमुखी शिक्षा विस्तार गर्ने उद्देश्यले नयाँ विषय सञ्चालनमा ल्याएको जनाएको छ।
विद्यालयले बुधबार एसईईमा सफल भएका विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्न आयोजना गरेको कार्यक्रममा नयाँ विषय थप गरिएको जानकारी सार्वजनिक गरेको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
विद्यालयका अध्यक्ष माधवप्रसाद शर्मा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रतिनिधि प्रतिकराज बस्नेत ले विद्यार्थी र अभिभावकको मागलाई मध्यनजर गर्दै होटल व्यवस्थापन विषय सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो।
उहाँले पछिल्लो समय प्राविधिक तथा रोजगारमुखी शिक्षाप्रति आकर्षण बढिरहेको उल्लेख गर्दै नयाँ विषयले विद्यार्थीलाई भविष्यमा रोजगारी तथा उद्यमशीलतासँग जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। यसअघि विद्यालयमा अन्य विषयमा अध्ययन अध्यापन हुँदै आएको भए पनि बजारको आवश्यकता र विद्यार्थीको रुचिअनुसार नयाँ कार्यक्रम थप गरिएको उहाँको भनाइ थियो।
दाङको शैक्षिक क्षेत्रमा स्थापित नाम बनाएको दीपशिखा मावि/कलेजले पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तर, अनुशासन र उत्कृष्ट नतिजाका कारण विशेष पहिचान बनाउँदै आएको छ। विद्यालयले राष्ट्रियस्तरका विभिन्न पुरस्कारसमेत हासिल गरिसकेको छ भने जिल्लामा गुणस्तरीय शिक्षाका लागि अग्रणी शैक्षिक संस्थाका रूपमा परिचित छ।
विद्यालयले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलाप, नैतिक शिक्षा र व्यावहारिक सीप विकासमा पनि जोड दिँदै आएको छ।
कार्यक्रममा यस वर्षको एसईई परीक्षामा चार जिपिए ल्याउन सफल विद्यार्थी तेजश्वी डाँगी लाई नगद २० हजार रुपैयाँसहित सम्मान गरिएको थियो। साथै उक्त उपलब्धिमा योगदान पुर्याउने शिक्षकहरूलाई पनि जनही २० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा बोल्दै शिक्षा समन्वय इकाई दाङका प्रमुख देवमणि चौधरी ले एसईई उत्तीर्ण गरेपछि विद्यार्थीहरूको जिम्मेवारी अझ बढ्ने बताउनुभयो। उहाँले अब विद्यार्थीहरूले स्पष्ट लक्ष्यसहित अझ मेहनत गरेर अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
विद्यालयका संस्थापक तथा आर्थिक विभाग प्रमुख राम थापा ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा विद्यार्थीहरू दिपीका भण्डारी, उत्सव केसी, अभिभावक सुष्मा शर्मा श्रेष्ठ, विज्ञान संयोजक शिक्षक सुमन केसी तथा सामाजिक शिक्षक धनबहादुर विसी लगायतले विद्यालयको शैक्षिक वातावरण र उपलब्धिबारे धारणा राख्नुभएको थियो।
विद्यालयका अनुसार गत वर्ष एसईई परीक्षामा सहभागी ९५ जना विद्यार्थी सबै उत्तीर्ण भएका थिए। लगातार उत्कृष्ट नतिजा हासिल गर्दै आएको विद्यालयले यस क्षेत्रको शिक्षामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको सरोकारवालाहरूले बताएका छन्।
कार्यक्रममा अध्यक्ष माधवप्रसाद शर्माले विद्यालयमा सञ्चालन भइरहेका विषयका लागि दक्ष र अनुभवी शिक्षकहरूको व्यवस्था गरिएको जानकारी दिँदै नयाँ विषयमा पनि गुणस्तरीय शिक्षा प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन विद्यालयका प्रिन्सिपल मनोज बुढाथोकी ले गर्नुभएको थियो।