spot_img
spot_img

मसँग केवल पदको चाहना छैन ।

कुराकानी

ध्रुव केसी ( अध्यक्षका प्रत्यासी)

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा यहि २०८३ बैशाख २६ गतेका दिन नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । बर्तमान कोषाध्यक्ष धु्रव केसी अध्यक्षको प्रत्यासीका रुपमा हुनुहुन्छ । उहाँको टिम यतिवेला प्रचार प्रसारमा व्यापक रुपमा जुटेको छ । अध्यक्षका प्रत्यासी केसीसंग राप्ती पोष्टले गरेको कुराकानी (सम्पादक)

स्वागत छ ध्रुवजी ।
–धन्यवाद । राप्ती पोष्ट दैनिकमार्फत आम घोराहीबासी र खानेपानी उपभोक्ता महानुभावहरूसम्म आफ्ना कुरा राख्ने अवसर दिनुभएकोमा म आभार प्रकट गर्दछु ।

तपाई कोषाध्यक्षका रूपमा लामो समय रहनुभयो, अहिले अध्यक्षको प्रत्यासी बन्नुभएको छ । कस्तो अनुभूती गरिरहनुभएको छ ?
मैले यसलाई एउटा स्वाभाविक जिम्मेवारी र निरन्तरताका रूपमा लिएको छु । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा मैले कोषाध्यक्षको रूपमा दुई कार्यकाल बिताउँदा संस्थाको आन्तरिक व्यवस्थापन, आर्थिक पारदर्शिता र प्राविधिक कठिनाइहरूलाई नजिकबाट हेर्ने मौका पाएँ । कुनै पनि संस्थामा काम गर्दा त्यसको जग बुझ्न जरुरी हुन्छ । मैले आर्थिक पाटोलाई इमानदारिताका साथ सम्हाल्दै गर्दा संस्थाले कुन दिशा लिनुपर्छ भन्ने स्पष्ट खाका कोर्ने अवसर पाएँ ।
अहिले म अध्यक्षको प्रत्यासी बनिरहँदा मसँग केवल पदको चाहना छैन, बरु अघिल्ला कार्यकालमा सिकेका अनुभवहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने दृढ इच्छाशक्ति छ । कोषाध्यक्ष हुँदा मैले संस्थाको कोषलाई कसरी जोगाउने र सदुपयोग गर्ने भन्ने सिकेँ भने अब अध्यक्षको भूमिकामा रहेर ती स्रोतहरूलाई घोराहीको खानेपानी समस्या समाधानमा परिचालन गर्ने लक्ष्य राखेको छु । उपभोक्ताहरूले मलाई पत्याउनुको मुख्य कारण मेरो विगतको निष्कलङ्क छवि र संस्थाप्रतिको समर्पण नै हो । त्यसैले यसलाई मैले एउटा नयाँ उचाइको सेवा गर्ने अवसरका रूपमा लिएको छु ।

तपाई र तपाईको टिमले अघि सारेका योजनाहरू के कस्ता रहेका छन् ?
–हाम्रो टिमले ‘स्वच्छ खानेपानी, स्वस्थ घोराही’ भन्ने मूल मन्त्रलाई अघि सारेको छ । हाम्रा योजनाहरू केवल नारामा सीमित छैनन्, ती व्यावहारिक र कार्यान्वयन योग्य छन् । प्रमुख योजनाहरूलाई यसरी उल्लेख गर्नु सान्दर्भिक होला ।
२४ सै घण्टा पानीको आपूर्तिः हाम्रो पहिलो प्राथमिकता घोराहीका हरेक घरमा २४ सै घण्टा स्वच्छ र पर्याप्त पानी पु¥याउनु हो । यसका लागि थप बोरिङहरू निर्माण गर्ने र मौजुदा स्रोतहरूको संरक्षण गर्ने योजना छ । यसका साथै हामीले कटुवा खोला हाइड्याम वा रोल्पाको रुण्टीगढीबाट पानी ल्याउने बारेमा पनि सोचिरहेका छौं ।
पानीको गुणस्तरमा सुधारः हामीले अत्याधुनिक ल्याब स्थापना गरी उपभोक्तालाई वितरण गरिने पानीको नियमित परीक्षण गर्ने र शुद्धीकरण प्लान्टलाई थप प्रभावकारी बनाउनेछौँ । हामीले अहिले वितरण गरिरहेको पानी विश्व स्वास्थ्य संगठनले निर्धारणको गरेको मापदण्ड अनुसारको रहेको छ । हामीले पानीको सुद्धिकरणलाई निरन्तरता दिंदै उपभोक्ताको माग र हितलाई ध्यानमा राखेर अन्य कामहरु गर्ने योजना बनाएका छौं ।

प्राविधिक आधुनिकीकरणः मिटर रिडिङ र महसुल भुक्तानीलाई पूर्णतः डिजिटल बनाइनेछ, ताकि उपभोक्ताहरूले लाइन बस्नुपर्ने झन्झट अन्त्य होस् । ‘स्मार्ट मिटरिङ’ को अवधारणा हामीले अघि सारेका छौँ । इ सेवाबाट भुक्तानी गर्ने व्यवस्था त हामीले मिलाइसकेका छौं । अझै यसमा थप के गर्न सकिन्छ भन्ने बारेमा प्राविधिक इञ्जिनियरहरुसंग परामर्श गरेर काम गर्नेछौं ।

सरसफाई र वातावरणीय सन्तुलनः खानेपानीसँगै सरसफाईलाई जोडेर ढल निकास र फोहोरमैला व्यवस्थापनमा नगरपालिका र अन्य सरोकारवाला निकायसँग समन्वय गर्ने योजना छ । हामीले लामो समयसम्म पानीको आपूर्तीलाई नै मुख्य रुपमा ध्यान दिनुपर्ने अवस्था आयो । अव हामीले हाम्रो नामसंग जोडिएको सरसफाईको विषयलाई पनि अघि बढाउँदैछौं । यसका बारेमा काठमाडौंमा ढल निकास विभागसंग पनि कुरा भएको छ ।

सहुलियत महसुलः न्यून आय भएका र सीमान्तकृत समुदायका लागि निश्चित युनिटसम्म खानेपानी निःशुल्क वा सहुलियत दरमा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता छ । अहिले हामी ऋणमा रहेका छौं । घोराहीमा पानीका आयोजनाहरु संचालनका लागि विभिन्न सहलगानीका आयोजनाहरु संचालन गर्नु परेको थियो । त्यसैले गर्दा महसुलको भर पर्नु परेको हो । सरकारले खानेपानी आयोजनाले प्रयोग गर्ने विद्युत महशुलमा छुट दिने बारेमा कुरा अघि बढेको छ । यदी यस्तो भयो भने महशुलमा कमी ल्याउने र पानीको परिणाम बृद्धि गर्ने बारेमा पनि हामीले योजना बनाइसकेका छौं ।

पहिले गरेका बाचाहरू कति पुरा भए वा अब कति पुरा हुन बाँकी रहेका छन् ?
हामीले विगतमा गरेका अधिकांश बाचाहरू पुरा गरेका छौँ । मैले कोषाध्यक्षको भूमिकामा रहँदा संस्थालाई आर्थिक रूपमा टाट पल्टिनबाट जोगाएर एउटा बलियो जगमा उभ्याएको छु । हामीले थुप्रै नयाँ बोरिङहरू सञ्चालनमा ल्यायौँ, पुराना पाइपलाइनहरू विस्तार गर्यौँ र केही महत्वपूर्ण पानी ट्याङ्कीहरूको निर्माण सम्पन्न भयो । यद्यपि, केही ठूला आयोजनाहरू जुन दीर्घकालीन प्रकृतिका छन्, ती पुरा हुन बाँकी छन् । जस्तै, बबई डाइभर्सन वा अन्य सतहको पानीलाई घोराहीसम्म ल्याउने कुरामा नीतिगत र ठूलो लगानीको खाँचो हुन्छ, जसमा हामीले पहल सुरु गरेका छौँ । पहिलेका अधूरा कामहरूलाई पूर्णता दिन र बदलिँदो सहरीकरण अनुसार पूर्वाधार थप्नु नै मेरो अबको मुख्य कार्यभार हो । ववई लिफ्टिीङ महंगो योजना हो । यो सफल भएको छ । अहिलेका लागि त समस्या ट¥यो अव यस पछि पनि समस्या नआवोस भनेर कटुवाखोला हाइड्यामको योजनाका लागि पहल भइसकेको छ ।

घोराहीमा खानेपानीको क्षेत्रमा गर्नुपर्ने कामहरू के कस्ता बाँकी रहेका छन् ? त्यसका बारेमा केही कुरा राखिदिनुस् न ।
घोराही तीव्र रूपमा विस्तार भइरहेको सहर हो । पश्चिम नेपालकै ठूलो उपमहानगर पनि हो । मुख्य बजार क्षेत्रमा जनसंख्याको चाप बढीरहेकमो छ । यहाँको जनसङ्ख्या वृद्धिसँगै खानेपानीको माग पनि उत्तिकै बढेको छ । मुख्य चुनौती भनेको जमिनमुनिको पानीको सतह घट्दै जानु हो । त्यसैले हामीले अब केवल ‘बोरिङ’ मा मात्र भर परेर हुँदैन । अव हामीले गर्नुपर्ने मुख्य कामहरूमध्य केही छन जसका लागि हामीले योजना बनाएका छौं । सतहको पानी संकलन गर्ने कुरालाई हामीले प्राथमिकतामा राखेका छौं । वर्षाको पानी संकलन गर्ने एउटा योजना हुन सक्छ भने खोलाका मुहानहरूलाई व्यवस्थित गरी पानी ल्याउने योजनालाई मूर्त रूप दिन बाँकी छ । यसका साथै पुरानो पाइपलाइन विस्थापन गर्ने अर्को महत्वपूर्ण काम बाँकी छ । सहरका मुख्य भागमा रहेका पुराना र जीर्ण पाइपहरूका कारण पानी चुहावट हुने र फोहोर मिसिने जोखिम छ, त्यसलाई तुरुन्त फेर्नुपर्नेछ । कतिपय स्थानमा पाईप फेर्ने काम भइसकेको छ । कतिपय स्थानमा नयाँ पाईप विस्तार हुँदा नै नयाँ पाइपलाईन विस्तार भएको छ । पुराना पाइपलाई हटाउने कामलाई अवको योजनामा राखिएको छ । यस्तै पानीको दिगो व्यवस्थापन कसरी गर्ने भन्ने महत्वपूर्ण सवाल हो । खानेपानीका स्रोतहरूको जलाधार संरक्षण र वृक्षारोपण जस्ता वातावरणीय कामहरूमा संस्थाले नेतृत्व लिन बाँकी छ । यी कामहरू मेरो नेतृत्वको टिमले गर्नेछ । घोराही मात्रै थुप्रै आयोजना संचालनमा रहेका छन् । ति सवैसंग सहकार्य र समन्वय गरेर कसरी अघि बढ्ने भन्ने बारेमा योजना बनाउने बारेमा सोचिरहेका छौं । हामीले बजार क्षेत्रको बारेमा मात्रै सोचिरहदा अन्य ग्रामिण क्षेत्रमा पानीको स्रोतलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पनि हाम्रो ध्यान अवश्यै पुग्नेछ ।

– देविवहादुर डिसीको अभाव सधै खड्किने छ ।
– अव हामी कटुवाखोला हाइड्यामको लागि काम गर्ने छौं ।
– पानीको दिगो व्यवस्थापन कसरी गर्ने भन्ने महत्वपूर्ण सवाल हो ।
– मतदाताको विश्वासले मलाई झन् जिम्मेवार बनाएको छ ।

पानीमा राजनीति भयो भन्ने गुनासो धेरै सुनिन्छ, तपाईलाई के लाग्छ ? पानीमा राजनीति भएको हो ?
पानी जीवन हो, र जीवनमा कसैले पनि राजनीति गर्नु हुँदैन । तर, विडम्बना के छ भने निर्वाचनका बेला केही शक्तिहरूले यसलाई राजनीतिकरण गर्न खोज्छन् । मेरो स्पष्ट धारणा छ, खानेपानी संस्था एउटा साझा चौतारी हो । यहाँ सबै विचार र आस्था भएका उपभोक्ताहरू हुनुहुन्छ । म आफैँ एउटा साझा र व्यावसायिक नेतृत्वको वकालत गर्छु । निर्वाचनमा प्यानल बनेर चुनाव लड्नु एउटा लोकतान्त्रिक प्रक्रिया हो, तर चुनाव जितेपछि हामी केवल उपभोक्ताका सेवक हौँ, कुनै दलका कार्यकर्ता होइनौँ । पानीको धारामा कुन दलको मान्छे हो भनेर हेरिँदैन, सबैले बराबर सेवा पाउनुपर्छ । मेरो टिमले राजनीतिलाई संस्थाको ढोका बाहिर राखेर केवल ‘सेवा र नतिजा’ लाई मात्र भित्र भित्र्याउनेछ । हामीले विगतमा पनि राजनीतिक पूर्वाग्रह बिना काम गरेका छौँ र भविष्यमा पनि गर्नेछौँ । अर्को कुरा मलाई अग्रज देविवहादुर डिसीले पानीको अधिकार सवैका लागि हुन्छ । यसलाई राजनीतिको विषय बनाउनु हुँदैन भनेर जानु भएको छ । म उहाँको बाटोमा अघि बढ्ने प्रयासमा पनि छु ।

मतदाताको बीचमा गइरहनुभएको छ, आम मतदाताले कस्तो प्रतिक्रिया दिइरहनुभएको छ ?
मतदाता महानुभावहरू निकै उत्साहित हुनुहुन्छ । घरदैलोका क्रममा जाँदा उहाँहरूले हाम्रो विगतको कामको मूल्याङ्कन गर्नुभएको पाएँ । उहाँहरूले भन्नुहुन्छ, ‘ध्रुवजी, तपाईले कोषाध्यक्ष हुँदा संस्थाको हिसाबकिताब पारदर्शी राख्नुभयो, अब अध्यक्ष बनेर पानीको समस्या पनि समाधान गरिदिनुस् ।’ विशेषगरी महिला उपभोक्ताहरू, जो पानीको समस्याबाट बढी प्रभावित हुनुहुन्छ, उहाँहरूले मेरो नेतृत्वलाई निकै आशाको नजरले हेर्नुभएको छ । मतदाताहरूको एउटै चाहना छ, ‘हामीलाई ठूला कुरा भन्दा पनि समयमा पानी र शुद्ध पानी चाहियो ।’ उहाँहरूको यो विश्वासले मलाई झन् जिम्मेवार बनाएको छ । हामीलाई पूर्ण विश्वास छ कि बैशाख २६ गते घोराहीका उपभोक्ताले हाम्रो टिमलाई अत्यधिक बहुमतले विजयी गराउनुहुनेछ ।

पहिले तपाईसँग देवीबहादुर डिसी हुनुहुन्थ्यो । उहाँको अहिले निधन भएको छ । अब उहाँको योगदानलाई कसरी सम्मान गर्ने भन्ने योजना बनाउनुभएको छ ?
स्व. देवीबहादुर डिसी यो संस्थाका लागि एक कुशल अभिभावक हुनुहुन्थ्यो । उहाँको दूरदर्शिता र मेहनतले नै घोराही खानेपानीले आजको स्वरूप लिएको हो । उहाँसँगै बसेर मैले लामो समय काम गरेँ, उहाँको कार्यशैली र संस्थाप्रतिको इमानदारिता मेरो लागि सधैँ प्रेरणाको स्रोत रहनेछ । अझ भन्ने हो भने उहाँको अभाव हामीलाई सधैँ खट्किनेछ । उहाँको योगदानलाई सम्मान गर्न हामीले केही ठोस योजना बनाएका छौँ । संस्थाको कुनै एउटा महत्वपूर्ण संरचना वा हललाई उहाँको नामबाट नामकरण गर्ने, उहाँको स्मृतिमा अक्षय कोष स्थापना गर्ने र उहाँले देखेका अधुरा सपनाहरूलाई पुरा गर्नु नै उहाँप्रति साँचो श्रद्धाञ्जली हुनेछ । हामी उहाँको त्यागलाई खेर जान दिने छैनौँ ।

आम मतदातालाई के भन्न चाहनुहुन्छ ?
म सम्पूर्ण आदरणीय उपभोक्ता महानुभावहरूलाई विनम्र अनुरोध गर्दछु कि आउँदो बैशाख २६ गते शनिबार हुने निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मत प्रयोग गर्नुहोला । तपाईको एक भोटले घोराहीको खानेपानीको भविष्य कस्तो हुने भन्ने तय गर्नेछ । हामीसँग अनुभव छ, इमानदारिता छ र काम गर्ने जोश छ । हामीले जे गर्न सक्छौँ, त्यही मात्र बोलेका छौँ । तपाईको विश्वासलाई म कहिल्यै टुट्न दिने छैन । ‘काम गर्नेलाई मौका दिनुहोस्, हामी घोराहीको खानेपानीको मुहार फेर्नेछौँ’ भन्न चाहन्छु । हाम्रो टिमलाई मतदान गरी सेवा गर्ने अवसर दिनुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।

अन्त्यमा केही भन्नु छ कि ?
निर्वाचनको सन्दर्भमा विचार राख्न दिनुभएकोमा राप्ती पोष्ट दैनिकलाई आभार व्यक्त गर्दछु । आम मतदाता ज्युले विगतदेखि जुन विश्वास गर्दै आउनुभएको छ त्यो विश्वास पटक्कै कमी हुने छैन ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार