spot_img
spot_img

‘अदालतकी छोरी’लाई सम्मान

अव निर्मम समीक्षा गर्नुपर्छ–प्रधानन्यायाधीश

राप्ती पोष्ट

दाङ, चैत । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले जेनजी आन्दोलनका क्रममा असाधारण साहस प्रदर्शन गरी दाङ जिल्ला अदालतलाई सम्भावित क्षतिबाट जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी प्रहरी जवान संगीता अधिकारीलाई विशेष सम्मान प्रदान गर्नुभएको छ । न्यायालयको गरिमा, सुरक्षा र निरन्तरताका लागि संकटपूर्ण अवस्थामा देखाउनुभएको उहाँको दृढता र समर्पणको उच्च मूल्याङ्कन गर्दै प्रधानन्यायाधीश राउतले उहाँलाई ‘अदालतकी छोरी’ का रूपमा सम्बोधन गर्नुभयो ।

जेनजी आन्दोलनका क्रममा क्षति भएका अदालतको निरिक्षण र जिल्ला अदालत जोगाउन महत्वपूर्ण भूमिका खेल्ने अधिकारीलाई सम्मान गर्नका लागि दाङ आएको बताउँदै प्रधानन्यायाधीश राउतले भदौ २४ गतेका दिन भएको जेनजी आन्दोलनको स्मरण गर्नुभयो । सो आन्दोलनका क्रममा देशभरका विभिन्न अदालतहरूमा तोडफोड र आगजनीका घटना भएका थिए । उहाँका अनुसार उक्त दिन २३ वटा अदालतमा क्षति पुगेको थियो, जसले न्याय प्रणालीमै गम्भीर चुनौती उत्पन्न गरेको थियो ।

प्रधानन्यायाधीश राउतले त्यसबेला आफूले जलेका सबै अदालतहरूको अवलोकन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको स्मरण गराउँदै भन्नुभयो, ‘त्यस समयमा मैले जलेका सबै अदालतहरू हेर्ने प्रतिवद्धता व्यक्त गरेको थिएँ। त्यही क्रममा आज यहाँ आएको हुँ ।’ उहाँका अनुसार सो घटनाले न्यायपालिकाको संरचना मात्र होइन, जनविश्वासमा समेत गम्भीर प्रश्न खडा गरेको थियो । भदौ २५ गतेको दिनको अनुभव स्मरण गर्दै उहाँले भन्नुभयो, ‘त्यतिबेला हाम्रो ध्यान आगो निभाउने र अदालतको सुरक्षा सुनिश्चित गर्नेमा केन्द्रित थियो । सुरक्षाको प्रत्याभूति कसरी दिलाउने भन्ने विषयमा सुरक्षा निकायसँग पटक–पटक संवाद गरिएको थियो ।’ उहाँका अनुसार त्यस्तो कठिन परिस्थितिमा पनि संवैधानिक जिम्मेवारी निर्वाह गर्दै अदालत सञ्चालनलाई निरन्तरता दिनु ठूलो चुनौती थियो ।

उहाँले थप उल्लेख गर्नुभयो कि, ‘त्यो समय यस्तो थियो, जहाँ कोही पनि सहज रूपमा अगाडि आउन सक्ने अवस्था थिएन । तर त्यही अवस्थामा केही व्यक्तिहरूले असाधारण साहस प्रदर्शन गर्नुभयो, जसले न्यायालयलाई जोगाउने काम ग¥यो ।’
यही सन्दर्भमा दाङ जिल्ला अदालतलाई सम्भावित आगजनी र तोडफोडबाट जोगाउन प्रहरी जवान संगीता अधिकारीले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले भन्नुभयो, ‘उहाँले देखाउनुभएको साहस र समर्पण लामो समयसम्म स्मरणीय रहनेछ । यो केवल पदिय दायित्वको निर्वाह मात्र नभई अविचलित निष्ठाको उदाहरण हो ।’

प्रधानन्यायाधीश राउतका अनुसार संगीता अधिकारीको योगदानले न्यायालयप्रतिको कर्तव्यबोध, समर्पण र जिम्मेवारीको उच्च उदाहरण प्रस्तुत गरेको छ । ‘यदि सबैले उहाँजस्तै जिम्मेवारी र साहस देखाउने हो भने, यस्तो क्षति हुनै सक्दैनथ्यो,’ उहाँले भन्नुभयो । उहाँले संगीता अधिकारीलाई ‘अदालतकी छोरी’ को रूपमा सम्वोधन गर्र्दै भन्नुभयो, ‘उहाँ प्रहरीको ड्युटीमा हुनुहुन्थ्यो, तर अदालतलाई जोगाउन जुन योगदान गर्नुभयो, त्यसले उहाँलाई न्यायालयकै सदस्यजस्तै बनाएको छ ।’

कार्यक्रममा बोल्दै न्याय प्रणालीको सुधार र सेवा प्रवाहको विषयमा पनि प्रधानन्यायाधीश राउतले महत्वपूर्ण धारणा राख्नुभयो। उहाँले अदालतको सेवा प्रवाहलाई समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘अदालतले दिने सेवा पहिलेभन्दा फरक र प्रभावकारी हुनुपर्छ । त्यसका लागि हामीले आफैभित्रबाट निर्मम समीक्षा गर्नुपर्ने हुन्छ ।’
उहाँका अनुसार न्याय प्रणालीमा देखिएका कमजोरीहरूलाई स्वीकार गर्दै सुधारको दिशामा अघि बढ्नु आवश्यक छ । ‘कतिपय कुरा संकेतका रूपमा आउँछन्, जसलाई हामीले बुझ्नुपर्छ र फरक ढंगले सोच्नुपर्छ,’ उहाँले भन्नुभयो । प्रधानन्यायाधीश राउतले न्यायालय केवल न्याय दिने संस्था मात्र नभई राज्यका अन्य निकायहरूको सञ्चालनमा समेत महत्वपूर्ण भूमिका खेल्ने संस्था भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘अदालत सञ्चालनमा आएपछि मात्रै अन्य धेरै सरकारी कार्यालयहरू सुचारु रूपमा चल्न सक्छन । नगरपालिका, नापी, मालपोत, प्रहरी प्रशासन सबै अदालतसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन् ।’

उहाँका अनुसार समाज अस्थिर अवस्थामा पुगेका बेला न्यायालयको भूमिका अझ महत्वपूर्ण हुन्छ । ‘जब समाज अस्तव्यस्त हुन्छ, तब सबैले फरक ढंगले सोच्नुपर्छ । न्यायको मन्दिरलाई प्रदूषित हुनबाट जोगाउनु हाम्रो साझा दायित्व हो,’ उहाँले स्पष्ट पार्नुभयो । उक्त अवसरमा गत भदौ २४ गतेका दिन क्षति भएको कार्यालय भवनको भिडियो समेत प्रस्तुत गरिएको थियो ।
सम्मान कार्यक्रम जिल्ला न्यायाधीश प्रकाश प्रसाद पण्डितको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला अदालतका श्रेष्तेदार भूपाल भण्डारीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रम पश्चात अदालतमा भएको क्षतिको बारेमा छानविन भइरहेको छ कि छैन ? भन्ने संचारकर्मीको जिज्ञासामा त्यो छानविन गर्ने र अनुसन्धान गर्ने निकाय आफूहरु नरहेको बताउनुभयो ।

कार्यक्रममा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश, लुम्बिनी प्रदेश प्रहरी प्रमुख भूपेन्द्र खत्री, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल लगायत न्याय क्षेत्र तथा प्रशासनिक क्षेत्रका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
सोही अवसरमा प्रधानन्यायाधीश राउतले तुलसीपुरस्थित उच्च अदालतको समेत अवलोकन गर्नुभएको थियो । भदौ २४ गते तुलसीपुर उच्च अदालत, सरकारी वकिलको कार्यलयहरुमा क्षति भएको थियो । घोराहीमा उहाँले जिल्ला बार घोराहीको कार्यालयमा पुगेर कानुन व्यवसायीहरूसँग पनि छलफल गर्नुभएको थियो । उहाँको दाङ भ्रमणले न्यायालयप्रतिको जनविश्वास अभिवृद्धि गर्नुका साथै न्याय प्रणाली सुधारका लागि आवश्यक संवाद र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार