spot_img
spot_img

सामाजिक सेवा हुँदै साजिदाको संसदीय यात्रा

राप्ती पोष्ट

दाङ/ दाङ जिल्लाको घोराही उपमहानगरपालिकामा सामाजिक सेवा, महिला सशक्तिकरण र समावेशी राजनीतिमा सक्रिय रूपमा चिनिने नाम हो, साजिदा सिद्दिकी । ०६० को दशकमा सामाजिक सेवामा जुट्नुभएकी सिद्दिकी संसदको यात्रामा पुग्ने यस क्षेत्रकै पहिलो मुस्लिम महिला बन्नुभएको छ ।

समाजसेवा, सामुदायिक नेतृत्व र राजनीतिक सक्रियताको संयोजनबाट पहिचान बनाउनुभएकी सिद्दिकी हाल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट प्रतिनिधिसभाको समानुपातिक प्रणालीमार्फत सांसदमा मनोनित हुनुभएको छ । मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै संघीय संसदमा पुग्नु उहाँका लागि मात्र नभई दाङका मुस्लिम समुदाय तथा महिलाका लागि पनि महत्वपूर्ण उपलब्धि मानिएको छ ।

साजिदा सिद्दिकीको जन्म दाङ जिल्लामा भएको हो र उहाँ घोराही क्षेत्रमै हुर्कनु–बढ्नुभएको हो । बहुसांस्कृतिक र बहुजातीय समाज रहेको दाङमा हुर्कँदै गर्दा उहाँले विभिन्न समुदायबीचको सहकार्य र सामाजिक समावेशिताको महत्व नजिकबाट अनुभव गर्नुभयो । यही अनुभवले उहाँलाई समाजसेवा र सार्वजनिक जीवनतर्फ आकर्षित गरेको बताइन्छ । बाल्यकालदेखि नै समाजका विभिन्न समस्याप्रति संवेदनशील स्वभाव भएकी सिद्दिकीले शिक्षा हासिल गर्ने क्रममा पनि सामाजिक काममा सक्रियता देखाउन थाल्नुभएको थियो । उहाँको आफ्नो समुदायमा रहेको दमनको प्रतिरोध गर्दै उहाँ सामाजिक सेवाबाट राजनीतिमा आउनुभएको थियो ।

साजिदा सिद्दिकी सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । उहाँ विशेषगरी महिला सशक्तिकरण, सामाजिक समावेशिता, शिक्षा र स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूमा सक्रिय रहनुभएको छ । उहाँ सिसा नामक सामाजिक संस्थाकी अध्यक्ष समेत रहनुभएको छ । उक्त संस्थामार्फत महिला, बालबालिका तथा विपन्न समुदायका लागि विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । सामाजिक चेतना अभिवृद्धि, सीप विकास, महिला आत्मनिर्भरता र सामुदायिक नेतृत्व विकास जस्ता गतिविधिमा संस्थाले काम गर्दै आएको छ ।

सिसा संस्थाको नेतृत्व सम्हाल्दै सिद्दिकीले विशेषगरी मुस्लिम समुदायका महिला तथा अन्य वञ्चित वर्गका महिलालाई सामाजिक तथा आर्थिक रूपमा सक्षम बनाउने अभियानमा योगदान दिनुभएको छ । ग्रामीण क्षेत्रमा महिला चेतना अभिवृद्धि गर्ने, बालबालिकाको शिक्षा सुनिश्चित गर्ने र सामाजिक समावेशिताको वातावरण निर्माण गर्ने कार्यमा उहाँको सक्रियता देखिन्छ । सिद्दिकी महिला अधिकार र समावेशी समाज निर्माणका पक्षमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ । उहाँले समाजमा अझै पनि विभिन्न समुदाय, विशेषगरी अल्पसंख्यक तथा मुस्लिम महिलाले भोगिरहेका समस्या र चुनौतीबारे विभिन्न कार्यक्रममा आफ्ना धारणा व्यक्त गर्दै आउनुभएको छ । उहाँको विचारमा सामाजिक परिवर्तनका लागि महिलाको सहभागिता अत्यन्त आवश्यक छ । महिला शिक्षित र सशक्त भए समाजमा सकारात्मक परिवर्तन सम्भव हुने उहाँको विश्वास छ । त्यसैले उहाँले महिला नेतृत्व विकास, सामाजिक सहभागिता र आर्थिक सशक्तिकरणका विषयमा विभिन्न कार्यक्रममार्फत काम गर्दै आउनुभएको छ ।

सामाजिक क्षेत्रबाट सक्रियता देखाउँदै आउनुभएकी सिद्दिकी क्रमशः राजनीतितर्फ पनि आकर्षित हुनुभयो । समाज परिवर्तनका लागि नीति निर्माणको तहमा पुग्नुपर्ने आवश्यकता महसुस गर्दै उहाँ राजनीतिक गतिविधिमा सक्रिय हुनुभएको बताइन्छ । उहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग आवद्ध रहँदै पार्टीको संगठन विस्तार तथा सामाजिक अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ । पार्टीभित्र उहाँ केन्द्रीय सदस्यको जिम्मेवारीमा समेत रहनुभएको छ । एमालेभित्र मुस्लिम समुदायका प्रतिनिधि व्यक्तित्वका रूपमा उहाँलाई चिनिन्छ । पार्टी संगठन सुदृढीकरण, समुदायमा राजनीतिक चेतना अभिवृद्धि तथा सामाजिक सद्भाव कायम गर्ने गतिविधिमा उहाँको सक्रियता रहेको बताइन्छ ।
एमालेले प्रतिनिधिसभाको समानुपातिक प्रणाली अन्तर्गत चयन गरेको सांसदको सूचीमा साजिदा सिद्दिकीको नाम समावेश भएको छ । मुस्लिम महिला क्लस्टरबाट उहाँ समानुपातिक सांसदमा मनोनित हुनुभएको हो ।

यो मनोनयनलाई दाङ जिल्लाका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । विशेषगरी मुस्लिम समुदायबाट महिला प्रतिनिधित्व सुनिश्चित हुनु समावेशी लोकतन्त्रको दृष्टिले सकारात्मक कदम मानिएको छ । संसदमा पुगेसँगै सिद्दिकीले महिला अधिकार, सामाजिक समावेशिता, शिक्षा, स्वास्थ्य तथा अल्पसंख्यक समुदायका मुद्दालाई प्रभावकारी रूपमा उठाउने बताउनुभएको छ । दाङ जिल्लामा नेकपा एमालेबाट प्रत्यक्ष तर्फको सांसद नभएको अवस्थामा सिद्दिकीको उपस्थितिले यस क्षेत्रका मुद्दाहरु संसदसम्म पुग्ने अपेक्षा गरिएको छ । जिल्लाको धरातललाई राम्रोसंग बुझेको प्रतिनिधि भएकाले पनि उहाँको उपस्थितिलाई महत्वका साथ हेरिएको छ । सामाजिक सेवाबाट सुरु भएको साजिदा सिद्दिकीको यात्रा अहिले संघीय संसदसम्म पुगेको छ । समाजसेवा, महिला सशक्तिकरण र समावेशी राजनीतिप्रतिको उहाँको प्रतिबद्धता नै उहाँको पहिचान बनेको छ । दाङबाट मुस्लिम महिला प्रतिनिधिका रूपमा संसदमा पुग्नु उहाँको व्यक्तिगत उपलब्धि मात्र नभई समावेशी लोकतन्त्रको अभ्यासका लागि पनि महत्वपूर्ण सन्देश हो । आगामी दिनमा उहाँले संसदमा उठाउने आवाज र निर्वाह गर्ने भूमिकाले समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार