राप्ती पोष्ट
दाङ, फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रत्यक्षतर्फ दाङ जिल्लाका तीनै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवारहरूले स्पष्ट विजय हासिल गर्दा अन्य राजनीतिक दल र सवै स्वतन्त्र उमेदवारको जमानत जफत भएको छ । निर्वाचन जित हात पार्ने सवैको लक्ष्य हुन्छ तर जमानत जोगाउन सक्नु अर्को उपलव्धि जस्तो हुन्छ । निर्वाचन ऐनअनुसार प्रत्यक्षतर्फ उम्मेदवार बनेका व्यक्तिले कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसकेमा उसको जमानत जफत हुने व्यवस्था छ । गएको निर्वाचनमा दाङ क्षेत्र नम्बर १, २ र ३ मा धेरै उम्मेदवारले न्यून मत प्राप्त गरेका कारण जमानत जफत भएको देखिएको छ भने मुख्य प्रतिस्पर्धी दलका केही उम्मेदवारले मात्र आफ्नो जमानत जोगाउन सकेका छन् ।
दाङ–१ मा रास्वपाका उम्मेदवार देवराज पाठक ४२ हजार छ सय दुई मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेन्द्र चौधरीले १५ हजार दुई सय ८० मत प्राप्त गर्नुभयो भने तेस्रो स्थानमा नेकपा ९एमाले० का रेवतीरमण शर्मा घिमिरेले छ हजार आठ सय २५ मत प्राप्त गर्नुभयो । चौथो स्थानमा नेपाली कम्युनिष्ट पार्टीका मेटमणि चौधरी चार हजार नौ सय ६५ मतमा सिमित रहनुभयो । क्षेत्र नं। १ मा दुई जना उमेदवारको मात्रै जमानत जोगिएको छ ।
यस क्षेत्रको कुल सदर मत झण्डै ८० हजारको हाराहारीमा थियो । त्यसअनुसार जमानत जोगाउन कम्तीमा करिब आठ हजार मत आवश्यक पर्दथ्यो । यस आधारमा दाङ–१ मा रास्वपाका देवराज पाठक, नेपाली कांग्रेसका योगेन्द्र चौधरी मात्रै जमानत जोगाउन सफल हुनुभयो । नेकपाका चौधरी, एमालेका शर्मा घिमिरे सहित अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरूले १० प्रतिशत मतको सीमा पार गर्न नसक्दा उनीहरूको जमानत जफत भएको छ ।
यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका विनय वीसी, राष्ट्रिय जनमोर्चाका गणेश प्रसाद आचार्य, नेकपा माओवादीका प्रकाश शाही, जनता समाजवादी पार्टीका भरतलाल चौधरी, राष्ट्रिय रिपब्लिक नेपालका मीनबहादुर थेडी मगर, मंगोल नेशनल अर्गनाइजेसनका खुमबहादुर गाहा मगर, आम जनता पार्टीका सिताराम यादव, राष्ट्रिय परिवर्तन पार्टीका रणजीत चौधरी, स्वतन्त्र उम्मेदवार मलिकराम यादव तथा कुलप्रसाद केसी लगायतका उम्मेदवारहरूले निकै न्यून मत पाएपछि जमानत जफत भएको छ ।
दाङ क्षेत्र नम्बर २ मा पनि त्यस्तै अवस्था देखिएको छ । यहाँ रास्वपाका उम्मेदवार विपिनकुमार आचार्यले भारी मतान्तरका साथ विजय हासिल गर्नुभयो । उहाँले करिब ४३ हजार पाँच सयभन्दा बढी मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एमालेका प्रभावशाली नेता शंकर पोखरेल दोस्रो स्थानमा रहँदै करिब १५ हजारभन्दा बढी मत ल्याउनुभयो भने नेपाली कांग्रेसका किरणकिशोर घिमिरे तेस्रो स्थानमा करिब ११ हजार पाँच सयभन्दा बढी मत प्राप्त गर्न सफल हुनुभयो । यस क्षेत्रमा कुल सदर मतका आधारमा जमानत जोगाउन सात हजार पाँच सय भन्दा बढी मत आवश्यक पर्ने थियो । यस क्षेत्रमा रास्वपाका विपिनकुमार आचार्य, एमालेका शंकर पोखरेल र नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले मात्र जमानत जोगाउन सक्नुभयो । नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यको पनि जमानत जोगिएको छैन ।
यस क्षेत्रमा नेकपा, राप्रपा, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, विभिन्न साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले अपेक्षाकृत निकै कम मत पाएपछि उनीहरूको जमानत जफत भएको देखिन्छ । विशेषगरी एमालेका प्रभावशाली नेता तथा पूर्वमुख्यमन्त्री पोखरेल दोस्रो स्थानमा सीमित हुनु र रास्वपाले भारी मतान्तरले जित्नु देशमै चर्चित राजनीतिक घटना भएको छ । दाङ क्षेत्र नम्बर ३ मा पनि समान प्रवृत्ति देखिएको छ । यहाँ रास्वपाका कमल सुवेदीले ४४ हजार दुई सय ४८ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक गिरीले १६ हजार चार सय ५३ मत प्राप्त गर्नुभयो भने एमालेका घनश्याम पाण्डेले १२ हजार एक सय ९५ मत ल्याउनुभयो । यस क्षेत्रमा कुल सदर मत झण्डै ८० हजारको आसपासमा रहेको थियो । यस अनुसार दाङ–३ मा रास्वपाका कमल सुवेदी, नेपाली कांग्रेसका दीपक गिरी र एमालेका घनश्याम पाण्डेले मात्र जमानत जोगाउन सफल हुनुभयो । प्रदेश सभाबाट राजीनामा दिएर निर्वाचनमा होमिनुभएका नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले पनि जमानत जोगाउन सक्नु भएन ।
अन्य सबै साना दल र स्वतन्त्र उम्मेदवारहरूले १० प्रतिशत मत कटाउन नसकेपछि उनीहरूको जमानत जफत भएको छ । समग्रमा दाङ जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा नयाँ दल रास्वपाले भारी मतान्तरका साथ विजय हासिल गर्दै परम्परागत दलहरूलाई ठूलो चुनौती दिएको छ । यस्तै मुख्य प्रतिस्पर्धा प्रायः तीन दलबीच सीमित देखिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङका प्रमुख निर्वाचन अधिकृत प्रकाश प्रसाद पण्डितका अनुसार तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका उम्मेदवारमध्ये सीमित उम्मेदवारले मात्र आवश्यक मत प्राप्त गरेर जमानत जोगाएका छन् भने अधिकांश उम्मेदवारले आवश्यक मत नपुग्दा जमानत जफत भएको छ । उहाँले निर्वाचनको अन्तिम मतपरिणामका आधारमा क्षेत्र नम्बर १ मा दुई जनाले मात्रै जमानत जोगाएका छन् । यो क्षेत्रबाट नेकपाबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बन्नुभएका कुलप्रसाद केसीले एक हजार आठ सय ६७ मत प्राप्त गर्नुभयो ।
प्रमुख निर्वाचन अधिकृत पण्डितले निर्वाचन प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको बताउनुभयो । उहाँले निर्वाचनमा धेरै उम्मेदवार सहभागी भए पनि आवश्यक मत प्राप्त गर्न नसकेका कारण जमानत जफत हुने अवस्था देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन आयोगको नियमअनुसार कुल सदर मतको न्यूनतम १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेको छ । सोही प्रावधानका आधारमा दाङका अधिकांश उम्मेदवारको जमानत जफत भएको हो ।



