‘तपाई मत दिनुस, म परिणाम दिनेछु’
राप्ती पोष्ट
दाङ, फागुन । निर्वाचनको दिन नजिक हुँदै जाँदा दाङ क्षेत्र नं. २ मा नेकपा एमालेले वडा केन्द्रित सभा थालेको छ । सोही क्रममा यस क्षेत्रका उमेदवार शंकर पोखरेल आफ्नो जन्मथलो तुलसीपुर उपमहागनरपालिका वडा नं. १९ मा पुग्नुभयो । विगतको तुलनामा भावुक रुपमा प्रस्तुत हुनुभएका पोखरेलले जनताको आशा र अपेक्षालाई विश्वासमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले दाङको समृद्धि र समुन्नत भविष्यका लागि आफूलाई विजयी गराउन आग्रह गर्नुभयो ।
वडा नं. १९ वडा कमिटीद्वारा आयोजित सभामा बोल्दै पोखरेलले भावुक स्वरमा भन्नुभयो, ‘तपाईंहरूले आश दिनुहोस्, म त्यसलाई विश्वासमा बदल्नेछु । जनताको मत मेरा लागि पद प्राप्तिको माध्यम होइन, दायित्व पूरा गर्ने अवसर हो ।’ उहाँले विगतमा आफूले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गरेको उल्लेख गर्दै दाङको सडक पूर्वाधार, सिँचाइ, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गर्नुभयो । उहाँले लबको लक्ष्य दाङलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर जिल्लाका रूपमा विकास गर्नु रहेको स्पष्ट पार्नुभयो ।
दाङलाई केवल प्रशासनिक केन्द्र होइन, आर्थिक केन्द्रका रूपमा स्थापित गर्ने हाम्रो योजना छ ।’ उहाँले भन्नुभयो । सभामा बोल्दै उहाँले एमाले सरकारका पालामा सुरु गरिएका जनपक्षीय कार्यक्रमहरूले नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयो । ‘एमाले सरकार हुँदा नै वृद्धभत्ता सुरु गरिएको हो, जुन आज बढेर मासिक चार हजार रुपैयाँ पुगेको छ,’ उहाँले भन्नुभयो, ‘हामीले योगदानमा आधारित सामाजिक सुरक्षा योजना, स्वास्थ्य बीमा कार्यक्रम र विद्यालयस्तरमा दिवा खाजा कार्यक्रम जस्ता आधारभूत सामाजिक सुरक्षाका कार्यक्रम अघि सारेका छौं ।’ उहाँका अनुसार यी कार्यक्रमहरू केवल चुनावी नारामा सीमित नभई कार्यान्वयनमा गएका योजनाहरू हुन् ।
पोखरेलले सामाजिक सुरक्षाको दायरा अझै फराकिलो बनाउने प्रतिबद्धता व्यक्त गर्दै राज्यको दायित्व नागरिकप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो। गरिब, श्रमिक, ज्येष्ठ नागरिक तथा विपन्न वर्गलाई राज्यको संरक्षण आवश्यक रहेको भन्दै उहाँले एमालेको नीति समावेशी र जनमुखी रहेको जिकिर गर्नुभयो । सम्बोधनका क्रममा महासचिव पोखरेलले वैदेशिक रोजगारीमा रहेका नेपाली युवालाई लक्षित गर्दै नयाँ प्रस्ताव सार्वजनिक गर्नुभयो । उहाँका अनुसार विदेशमा रहेका युवाले वैधानिक माध्यमबाट घरमा रेमिट्यान्स पठाउँदा सरकारले थप पाँच हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने योजना अघि सारिएको छ । ‘हाम्रो उद्देश्य युवालाई औपचारिक बैंकिङ प्रणालीमार्फत रकम पठाउन प्रोत्साहित गर्नु हो,’ उहाँले भन्नुभयो, ‘यसले देशको अर्थतन्त्रलाई बलियो बनाउने मात्र होइन, युवाको कमाइ सुरक्षित पनि बनाउँछ ।’
आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा दाङमा थुप्रै विकास आयोजना अघि बढाइएको उल्लेख गर्दै पोखरेलले सडक, स्वास्थ्य, सिँचाइ र औद्योगिक पूर्वाधारमा महत्वपूर्ण प्रगति भएको दाबी गर्नुभयो । उहाँका अनुसार घोराही–तुलसीपुर सडक विस्तारको काम तीव्र पारिएको थियो भने ग्रामीण सडकहरूको स्तरोन्नति र कालोपत्रे कार्यले गाउँ–गाउँमा पहुँच विस्तार भएको छ । ‘सडक विकासले मात्र आर्थिक गतिविधि विस्तार हुन्छ,’ उहाँले भन्नुभयो, “दाङलाई प्रदेशको आर्थिक केन्द्रका रूपमा विकास गर्ने आधार तयार गरिएको छ ।’
स्वास्थ्य क्षेत्रतर्फ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार र गुणस्तर सुधारका पहल गरिएको उहाँले उल्लेख गर्नुभयो । साथै चार सय शय्याको नयाँ अस्पताल निर्माणको योजना अघि सारिएको बताउँदै उहाँले दाङलाई स्वास्थ्य सेवाको क्षेत्रीय हब बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारको नेतृत्वमा स्वास्थ्य पूर्वाधार विस्तारले सर्वसाधारणलाई सहज उपचार सेवा उपलब्ध गराउन सहयोग पुगेको छ ।
दाङको कृषि सम्भावनालाई मध्यनजर गर्दै बबई र ग्वारखोला हाई–ड्याम परियोजनामार्फत जिल्लाको एक तिहाइ भूभागमा बाह्रै महिना सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको पोखरेलले बताउनुभयो । ‘दाङको समृद्धि कृषिसँग जोडिएको छ,’ उहाँले भन्नुभयो, ‘सिँचाइको दिगो व्यवस्था बिना कृषिमा रूपान्तरण सम्भव छैन ।’ उहाँले ती परियोजनाहरूले उत्पादन वृद्धि, किसानको आम्दानी वृद्धि र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । पोखरेलले दाङमा साढे तीन सय बिघा जमिन औद्योगिक क्षेत्रका लागि प्राप्त भइसकेको जानकारी दिँदै अब ठूला उद्योग स्थापना गरेर स्थानीय स्तरमै रोजगारी सिर्जना गरिने बताउनुभयो । ‘युवा विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न उद्योग खोल्नैपर्छ ।’ उहाँले जोड दिनुभयो, ‘दाङलाई औद्योगिक नक्शामा स्थापित गर्ने हाम्रो स्पष्ट योजना छ ।’
उहाँले कृषि, पर्यटन र उद्योगलाई एकीकृत ढंगले अघि बढाएर दाङको अर्थतन्त्र सुदृढ बनाइने धारणा राख्नुभयो । स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने र लगानीमैत्री वातावरण बनाउने योजना एमालेसँग रहेको उहाँको भनाइ थियो । महासचिव पोखरेलले केवल ज्ञापनपत्र बोकेर हिँड्ने प्रतिनिधि होइन, बजेट ल्याएर कार्यान्वयन गर्न सक्ने हैसियत भएको जनप्रतिनिधि चुन्न दाङबासीलाई आग्रह गर्नुभयो । ‘हामीले काम गरेर देखाएका छौं,’ उहाँले भन्नुभयो, “अब निरन्तरताका लागि तपाईंहरूको साथ आवश्यक छ ।’
उहाँले फागुन २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी नेकपा एमालेलाई पहिलो शक्ति बनाउन अपिल गर्नुभयो । विकास, स्थायित्व र समृद्धिको यात्रामा एमालेको विकल्प नरहेको दाबी गर्दै उहाँले राजनीतिक स्थिरतासँगै आर्थिक समृद्धि सम्भव हुने बताउनुभयो । यसैबीच तुलसीपुर १६ मा आयोजित वडास्तरिय सभालाई सम्बोधन गर्दै पोखरेलले विकास र समृद्धिको नेतृत्व गर्नसक्ने उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो । उहाँले ज्ञापनपत्र बुझेर विकासका लागि मन्त्रालय धाउने नभई ज्ञापनपत्रलाई कार्यान्वयन गर्ने व्यक्ति आफूलाई विजयी बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य कोमल वली, नेता भागवत विश्वासीलगायतका वक्ताहरूले पनि मन्तव्य राख्दै पोखरेलको नेतृत्वमा दाङले तीव्र विकासको गति लिने विश्वास व्यक्त गर्नुभएको थियो । वडा कमिटीका अध्यक्ष लोकबहादुर रोकाको अध्यक्षतामा कार्यक्रम भएको थियो । यसैगरी दुधरास क्षेत्रमा पोखरेलले घरदैलो गर्नुभएको थियो ।



