spot_img
spot_img

घोराही लैंगिक हिसा नियन्त्रित पालिका घोषणा गर्न अनुगमन

राप्ती पोष्ट

घोराही, माघ । घोराहीलाई लैंगिक हिंसा नियन्त्रित पालिका घोषणाका लागि तयारी तिव्र पारिएको छ । आगामी माघ १५ गते नगरपालिका स्थापनाका दिन पारेर घोराहीलाई लैंगिक हिंसा नियन्त्रित पालिका घोषणा गर्ने तयारी गरिएको छ ।
सोही क्रममा बुधबार घोराहीका विभिन्न सरोकारवाला निकायमा पुगेर अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको संयोजकत्वमा रहेको अनुगमन समिति घोराही उपमहानगरपालिका वडा नं. १४ का विभिन्न स्थानमा पुगेको थियो । नगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख मोती विश्वकर्माका अनुसार अनुगमनका आधारमा लैंगिक हिंसा नियन्त्रित पालिका घोषणाको कार्यक्रमलाई अन्तिम रुप दिइनेछ ।

बुधवार वडा नं. १४ मा गठित वडास्तरिय समितिका पदाधिकारीसंग लैंगिक हिंसा नियन्त्रित पालिका घोषणाका लागि वडाले गरेको तयारीका बारेमा छलफल समेत गरिएको थियो । वडा संयोजक तथा वडासदस्य रचना कुमालले वडामा पटक पटक बैठक बसेर लैंगिक हिंसा नियन्त्रित पालिका घोषणको कार्यक्रमका बारेमा छलफल गरिएको बताउनुभयो ।
उहाँले गएको भदौ २४ गते भन्दा पहिले यहि विषयमा चार पटक बैठक बसेको जानकारी गराउनुभयो । पहिले बैठक बसेका माइन्युटहरु जेनजी आन्दोलनका क्रममा नष्ट भएको भन्दै त्यसपछि पनि चार पटक बैठक बसेर आवश्यक तयारी गरिएको बताउनुभयो । उहाँले वडामा लैंगिक हिंसाका कुनै पनि घटना हुन नदिनका लागि टोल विकास संस्थाहरुलाई परिचालन गरिएको बताउनुभयो । वडा नं. १४ मा रहेका ३२ वटा टोललाई यसमा सक्रिय बनाइएको पनि उहाँको धारणा थियो ।

उहाँले घोराही–१४ मा गठन गरिएका बाल क्लवहरु, किशोरी समुहहरु, टोल विकास संस्थाहरु लगायतसंग छलफल गरिएको भन्दै नगर घोषणाका लागि वडा नं. १४ तयार रहेको बताउनुभयो । उहाँले घोराही उपमहानगपालिका वडा नं. १४ मा छिटफुट रुपमा मात्रै लैंगिक हिंसाका घटनाहरु हुने गरेको बताउनुभयो । यसैगरी घोराही १४ मा रहेको सभागृह टोल विकास संस्थाका अध्यक्ष नरबहादुर बुढाथोकीले टोल विकास संस्थाले घोराहीलाई लैंगिक हिंसा नियन्त्रित पालिका घोषणाका लागि विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । यस्तै जनचेतना टोलका नरेन्द्र बुढामगरले बालवालिकालाई सक्रिय बनाउने, टोलको सरसफाई गर्दा लैंगिक हिंसा नियन्त्रणका बारेमा जानकारी दिने गरेको बताउनुभयो । उहाँले कतिपयले सवै कुरा नवुझेकाले आफूहरुले कुरा बुझाउने काम गरिरहेको बताउनुभयो ।

घोराही उपमहानगरपालिका वडा नं. १४ मा रहेको बाल विकास माविमा फोकल पर्सन तोकेर विद्यालयमा अभियान संचालन गरिएको छ । फोकल पर्सन विद्यालयकी शिक्षिका शिवा थापाले लैंगिक हिंसा न्युनिकरणका लागि विद्यालयमा बालवालिकाहरुको समुह निर्माण गरिएको जानकारी गराउनुभयो । उहाँले बाल क्लव, किशोरी क्लव, रेडक्रस र स्काउटको टोली गठन गरिएको बताउनुभयो । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि माथिका सवै विद्यार्थीहरुलाई लैंगिक हिंसा नियन्त्रित पालिका घोषणाको बारेमा जानकारी गराइएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार शुक्रवारका दिन विद्यालयमा हुने अतिरिक्त कृयाकलापको कार्यक्रममा यहि विषयमा जानकारी गराउने गरिएको छ । विद्यालय सुरु हुनु अघि प्राथना गर्दा विद्यार्थीहरुलाई पालै पालो लैंगिक हिंसाका बारेमा बोल्न लगाउने गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक खिमबहादुर बुढाले विद्यालयको सेवा क्षेत्रमा कुनै पनि खालको लैंगिक हिंसाका घटना नहोउन भनेर विद्यार्थीहरुलाई सचेत गराइएको बताउनुभयो । उहाँले नगरपालिकाले दिएको मापदण्ड अनुसार काम भइरहेको बताउनुभयो । घोराही १४ मा रहेको उज्ज्वल महिला विकास संस्थाकी विष्णुकुमारी भुषालले वडामा रहेका आठवटा आमा समूहले लैंगिक हिंसा नियन्त्रित पालिका घोषणाका लागि काम गरिरहेको बताउनुभयो । उहाँले सुरुको अवस्थामा केही समस्या बाँकी रहेको जस्तो देखिएपनि पछिका दिनमा सडक नाटक लगायत जनचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

यसैगरी घोराही उपमहानगरपालिकाका उप प्रमुख हुमा डिसीले घोराहीलाई लैंगिक हिंसा नियन्त्रित पालिका घोषणाका लागि भइरहेको कामले तिव्रता पाएको बताउनुभयो । पूर्ण रुपमा हिंसा नियन्त्रण हुन सक्दैन कि भन्ने आफूहरुलाई लागेको भएपनि त्यो भन्दा राम्रो अवस्था देखेको उहाँले बताउनुभयो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले घोराही उपमहानगरपालिकालाई लैंगिक हिंसा नियन्त्रित पालिका घोषणाको लागि व्यापक तयारी भएको बताउनुभयो । उहाँले हिंसा नियन्त्रण गर्ने कुरा सुन्यमा झार्न गाह्रो रहेको बताउनुभयो । विकशीत देशमा पनि हिंसाका घटना हुने गरेको भन्दै उहाँले न्यूनिकरणका लागि प्रयास गर्नुपर्ने बताउनुभयो । केही घटना भइहालेमा न्यायीक समितिका माध्यमबाट न्यायिक निरुपणमा जान सकिने धारणा उहाँको थियो ।

 

लैंगिक हिंसा नियन्त्रित पालिका घोषणाको सन्दर्भमा भएका कामहरुको अनुगमन गर्दै जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले घोराहीलाई समुन्नत बनाउनका लागि यो अभियान महत्वपूर्ण रहने बताउनुभयो । विगतमा दाङ जिल्लामा संचालन गरिएका विभिन्न अभियानहरुलाई घोराहीले सवैभन्दा पहिले पुरा गर्ने गरेको स्मरण गर्दै घोराही नेपालका सवै पालिकामध्य लैंगिक हिंसा नियन्त्रित पहिलो पालिका हुन थालेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले यो कामका लागि निकै मेहनत भएको पनि बताउनुभयो । घोराहीलाई आगामी माघ १५ गतेका दिन लैंगिक हिंसा नियन्त्रित पालिका घोषणा गर्नु अघि आधारभूत रुपमा २२ वटा र संस्थागत रुपमा १० वटा सुचक तयार पारिएको थियो । विज्ञहरुले तयार पारेका सुचकहरुका आधारमा कार्यक्रम अघि बढेको थियो । सुचक पुरा भएको वा नभएको भन्ने बारेमा घोराहीका विभिन्न वडामा अनुगमन गरिएको थियो । अनुगमनमा जनप्रतिनिधिहरु, पत्रकारहरु, विज्ञहरु लगायतको सहभागिता थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार