spot_img
spot_img

पत्रकार विपुल पोखरेलको ‘सङ्कल्पन’माथि चर्चा–परिचर्चा

राप्ती पोष्ट

घोराही, चैत । पत्रकार तथा लेखक विपुल पोखरेल द्वारा लिखित लेख–संग्रह ‘सङ्कल्पन’माथि शनिबार घोराहीमा विशेष चर्चा–परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । बौद्धिक बहस र साहित्यिक विमर्शलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा सहभागी वक्ताहरूले पुस्तकमा समेटिएका विचार, दृष्टिकोण र विश्लेषणलाई बहुआयामिक रूपमा केलाएका थिए ।

गत चैत ३ गते प्रथम राष्ट्रपति रामबरण यादव द्वारा काठमाडौंमा सार्वजनिक गरिएको ‘सङ्कल्पन’ पुस्तकलाई मोफसलमै पनि गहिरो विमर्शको विषय बनाइएको थियो । कार्यक्रम गोरक्ष दैनिक की प्रकाशक सुलोचना गौतम को अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख वक्ताका रूपमा साहित्यकार गिरिराज अधिकारीले ‘सङ्कल्पन’ पुस्तकको विस्तृत चर्चा गर्नुभयो । उहाँले लेखक पोखरेलको लेखन यात्रा, पत्रकारिता क्षेत्रमा उहाँको योगदान तथा राजनीतिक–सामाजिक विषयप्रतिको चासोबारे प्रकाश पार्दै पुस्तकको वैचारिक धरातलमाथि विश्लेषण प्रस्तुत गर्नुभयो ।

अधिकारीले ‘सङ्कल्पन’ केवल लेखहरूको सङ्ग्रह मात्र नभई समकालीन नेपाली समाज, राजनीति र मिडियाको प्रतिबिम्बका रूपमा हेर्न सकिने उल्लेख गर्नुभयो । ‘यो पुस्तकले लेखकको दीर्घ अनुभव, अध्ययन र समसामयिक विषयप्रतिको संवेदनशीलता देखाउँछ ।’ उहाँले भन्नुभयो, ‘यसमा उठाइएका विषयहरूले पाठकलाई सोच्न बाध्य बनाउँछन् ।’
कार्यक्रममा उपप्राध्यापक सुन्दर गौतम ले पनि पुस्तकका विविध पक्षमाथि टिप्पणी गर्नुभयो । उहाँले नेपालमा गुणस्तरीय लेखनको अभाव रहेको चर्चा गर्दै ‘सङ्कल्पन’ ले त्यो अभाव केही हदसम्म पूर्ति गरेको धारणा राख्नुभयो । ‘लेखनमा गहिराइ र विश्लेषण आवश्यक हुन्छ, जुन यस पुस्तकमा देखिन्छ ।’ गौतमले भन्नुभयो, ‘यसले पाठकलाई केवल जानकारी मात्र होइन, दृष्टिकोण पनि दिन्छ ।’

त्यस्तै समीक्षक विपिन आचार्य ले पुस्तकमा उठाइएका विकास र लोकतन्त्रका विषयहरूलाई विशेष रूपमा उल्लेख गर्नुभयो । उहाँले विकासका सूचकहरूलाई केवल आर्थिक मापदण्डमा नभई लोकतान्त्रिक मूल्य–मान्यताका आधारमा पनि मूल्यांकन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । “लोकतन्त्रको वास्तविक मापन सामाजिक न्याय र समानतामा हुन्छ,” उहाँले भन्नुभयो, “यस पुस्तकले त्यही विमर्शलाई अघि सारेको छ ।”

विश्लेषक सर्जन गौतम ले ‘सङ्कल्पन’मा समेटिएका दार्शनिक पक्षहरूको चर्चा गर्दै पुस्तकले विचारको गहिराइ प्रस्तुत गरेको बताउनुभयो । उहाँले लेखकले आलोचनात्मक चेतसहित लेख्नुपर्ने आवश्यकता औंल्याउँदै राजनीतिक संलग्नताले कहिलेकाहीँ स्वतन्त्र आलोचनात्मक दृष्टिकोणलाई कमजोर बनाउने खतरा रहेको धारणा राख्नुभयो ।

“लेखकले सधैं स्वतन्त्र र आलोचनात्मक सोच राख्नुपर्छ,” गौतमले भन्नुभयो, “यदि अझै केही गहिरो अध्ययन र मेहनत गरिएको भए यो पुस्तक ऐतिहासिक दस्तावेजकै रूपमा स्थापित हुन सक्थ्यो ।” उहाँले पुस्तकले उठाएका विषयहरूलाई थप अनुसन्धान र विमर्शको आधारका रूपमा लिन सकिने उल्लेख गर्नुभयो ।

‘सङ्कल्पन’मा लोकतन्त्र, मिडिया, सामाजिक न्याय, राजनीतिक बहस तथा समसामयिक मुद्दाहरूलाई समेटिएका लेखहरू रहेका छन् । विशेषगरी २०७२ सालको संविधान निर्माणपूर्वका राजनीतिक बहस, खबरदारी र जनअपेक्षाहरूलाई समेत पुस्तकमा समेटिएको चर्चा कार्यक्रममा गरिएको थियो । यसले तत्कालीन राजनीतिक परिवेश र विचारधारात्मक संघर्षलाई पनि झल्काउने सहभागीहरूको भनाइ थियो ।

कार्यक्रममा संविधान सभा सदस्य अनिता देवकोटा, राप्ती साहित्य परिषद्का पूर्व अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल पत्रकार महासंघ का केन्द्रीय सचिव सविन प्रियासन लगायतले पनि आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । वक्ताहरूले पुस्तकले समाजमा बहसको संस्कृति विकास गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

लेखक विपुल पोखरेलले आफ्नो लेखन यात्राबारे संक्षेपमा प्रकाश पार्दै ‘सङ्कल्पन’मा समेटिएका लेखहरू विभिन्न समय र सन्दर्भमा लेखिएका भए पनि ती सबैले समाज र राष्ट्रप्रतिको जिम्मेवारीबोधलाई प्रतिबिम्बित गर्ने बताउनुभयो । “लेखन मेरो लागि अभिव्यक्ति मात्र होइन, उत्तरदायित्व पनि हो,” उहाँले भन्नुभयो, “समाजलाई सही दिशा दिन लेखनले भूमिका खेल्नुपर्छ भन्ने विश्वासका साथ मैले यो कृति तयार पारेको हुँ ।”

कार्यक्रममा स्वागत मन्तव्य सुदीप गौतमले व्यक्त गर्नुभएको थियो भने सञ्चालन आदिम केसीले गर्नुभएको थियो । ‘सङ्कल्पन’ विपुल पोखरेलको तेस्रो कृति हो । यसअघि पनि उहाँका विभिन्न लेख तथा पुस्तकहरू प्रकाशित भइसकेका छन् । नयाँ कृतिमार्फत उनले समसामयिक विषयहरूमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै नेपाली बौद्धिक क्षेत्रलाई समृद्ध बनाउने प्रयास गरेको सहभागीहरूले बताएका छन् ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार