spot_img
spot_img

विएन फुडको १२ औं बर्षमा नयाँ उत्पादन

बेकरी विक्रि गर्ने विएन फुडको उत्पादन कुकिज पनि

राप्ती पोष्ट

घोराही, चैत । घोराही उपमहानगरपालिका–१७ मा सञ्चालित विएन फुड प्रोडक्सन ले आफ्नो १२ औँ स्थापना दिवसको अवसर पारेर नयाँ उत्पादनका रूपमा कुकिज सार्वजनिक गरेको छ । शनिबार आयोजित विशेष कार्यक्रममा उक्त उत्पादन औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

प्रबन्ध निर्देशक नरेशकुमार श्रेष्ठ को अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन दाङ जिल्ला उद्योग वाणिज्य संघ का अध्यक्ष बसन्त जोशी ले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, पत्रकार, स्थानीय तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

२०७१ साल चैत १२ गते स्थापना भएको कोशेली बेकरीबाट सुरु भएको यो उद्योग अहिले विएन फुड प्रोडक्सनका रूपमा विस्तार भई विभिन्न खाद्य सामग्री उत्पादन गर्दै आएको छ । सुरुका दिनमा बेकरीका सीमित परिकार उत्पादन गर्दै आएको उद्योगले समयसँगै आफ्नो उत्पादन दायरा बढाउँदै लगेको छ । हालसम्म केक, ब्रेड, बिस्कुटलगायतका बेकरी आइटम उत्पादन गर्दै आएको कम्पनीले अब नयाँ स्वाद र परिकारका रूपमा कुकिज उत्पादन सुरु गरेको हो ।

कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक श्रेष्ठले १२ वर्षसम्मको यात्रामा उद्योगले विभिन्न उतार–चढाव पार गर्दै आफूलाई स्थापित गर्न सफल भएको उल्लेख गर्नुभयो । ‘हामीले सानो स्तरबाट सुरु गरेर आज विभिन्न खाद्य सामग्री उत्पादन गर्ने अवस्थामा पुगेका छौँ ।’ उहाँले भन्नुभयो, ‘अब उपभोक्ताको माग र बजारको आवश्यकतालाई ध्यानमा राख्दै नयाँ–नयाँ उत्पादन ल्याउने क्रममा कुकिज सार्वजनिक गरेका हौँ ।’

उहाँका अनुसार कुकिज उत्पादन विभिन्न स्वाद र गुणस्तरमा तयार गरिएको छ, जसले बजारमा प्रतिस्पर्धात्मक उपस्थिति जनाउने विश्वास गरिएको छ । साथै, आगामी दिनमा नमकिन, अचार लगायतका अन्य खाद्य सामग्री उत्पादन गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो । उत्पादन मात्र नभई त्यसको प्रभावकारी बजारीकरणका लागि सबै पक्षको सहयोग आवश्यक पर्ने उहाँको भनाइ थियो । ‘उद्योग विस्तार गर्नु सजिलो छैन, तर हामीले निरन्तर प्रयास गरिरहेका छौँ,’ श्रेष्ठले थप्नुभयो, ‘अब बजारमा हाम्रो पहुँच अझै विस्तार गर्न सबैको साथ र सहयोग आवश्यक छ ।’

कुकिज सार्वजनिक गर्ने १२ औं स्थापना दिवसको कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले उद्योग सञ्चालन व्यापारभन्दा फरक र चुनौतीपूर्ण क्षेत्र भएको बताउनुभयो । उहाँले उद्योगीहरूले निरन्तर मेहनत, योजना र दूरदृष्टि राख्नुपर्नेमा जोड दिनुभयो । ‘व्यापारभन्दा उद्योग सञ्चालन धेरै जटिल र दीर्घकालीन प्रतिबद्धता माग्ने क्षेत्र हो,’ जोशीले भन्नुभयो, ‘२४ घण्टा नै सोच्नुपर्ने, योजना बनाउनुपर्ने र बजारको माग बुझ्नुपर्ने हुन्छ ।’ उहाँले उत्पादनका लागि आवश्यक प्राविधिक तथा विषयगत ज्ञानको महत्त्व औंल्याउँदै गुणस्तर कायम राख्न उद्योगीहरू सजग हुनुपर्ने सुझाव दिनुभयो ।

जोशीले कोशेली बेकरीबाट सुरु भएको संस्थाले विभिन्न खाद्य वस्तु उत्पादन गरी देशका विभिन्न भागमा पठाउन थालेकोमा खुशी व्यक्त गर्नुभयो । साथै, खाद्य वस्तुको गुणस्तरबारे बिना परीक्षण आरोप लगाउनु उपयुक्त नहुने धारणा व्यक्त गर्दै यसमा सम्बन्धित निकायहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । ‘कुनै पनि खाद्य वस्तु राम्रो कि नराम्रो भन्ने कुरा परीक्षण बिना भन्न मिल्दैन ।’ उहाँले स्पष्ट पार्नुभयो, ‘यसमा प्रशासन, स्थानीय तह र नियामक निकायले जिम्मेवार भूमिका खेल्नुपर्छ ।’

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ का निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेल ले लगानी सुरक्षाको विषयमा ध्यानाकर्षण गराउनुभयो । उहाँले उद्योग तथा व्यवसाय फस्टाउनका लागि लगानीमैत्री वातावरण अपरिहार्य रहेको बताउनुभयो । ‘उद्योगमा लगानी गर्नेहरूलाई सुरक्षित वातावरण दिन सकिएन भने दीर्घकालीन विकास सम्भव हुँदैन ।’ उहाँले भन्नुभयो, ‘नीतिगत स्पष्टता, प्रशासनिक सहजीकरण र लगानीमैत्री वातावरण आजको आवश्यकता हो ।’
कार्यक्रममा उद्योगका विभिन्न क्षेत्रमा योगदान पु¥याउने कर्मचारीहरूलाई सम्मानसमेत गरिएको थियो । लामो समयदेखि कार्यरत निराजन चौधरी, उत्पादन क्षेत्रमा सक्रिय नन्द किशोर, सहायक लेखापालमा बढुवा हुनुभएकी अञ्चना चौधरी, प्रबन्धकको जिम्मेवारी पाउनुभएका सुरेन्द्र गौतम तथा सुपरभाइजरको जिम्मेवारी पाउनुभएकी दीपा बुढा मगरलाई सम्मान गरिएको हो । कार्यक्रमले संस्थाको आन्तरिक व्यवस्थापन सुदृढीकरणसँगै कर्मचारीको मनोबल उच्च राख्न यस्ता सम्मान कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने सन्देश दिएको छ ।

ममता थापाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम घोराही–१० स्थित फन भ्यालीमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरूले स्थानीय उद्योगको प्रवद्र्धन, उत्पादन विस्तार र रोजगारी सिर्जनामा विएन फुड प्रोडक्सनले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । १२ वर्षको यात्रापछि नयाँ उत्पादन सार्वजनिक गर्दै विएन फुड प्रोडक्सनले आफूलाई थप विस्तार गर्ने संकेत दिएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार