के हुँदैछ देवीकोट दर्शन दौडमा
राप्ती पोष्ट
दाङ, २६ फागुन । दाङको राप्ती गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर खुला ‘देवीकोट दर्शन दौड’ प्रतियोगिता आयोजना गर्ने भएको छ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको देवीकोट क्षेत्रको प्रचार–प्रसार, पर्यटन प्रवद्र्धन र युवाहरूमा खेलप्रतिको रुचि बढाउने उद्देश्यले फागुन २९ गते उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
मंगलबार गाउँपालिकाले भालुवाङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार प्रतियोगिता फागुन २९ गते बिहान ७ बजेदेखि सञ्चालन हुनेछ । राप्ती गाउँपालिका–४ मौरीघाटबाट सुरु हुने दौड करिब आठ किलोमिटरको दूरी पार गर्दै राप्ती गाउँपालिका–९ स्थित ऐतिहासिक देवीकोट मन्दिर परिसरमा पुगेर सम्पन्न हुनेछ ।
गाउँपालिकाले आयोजना गर्न लागेको यो प्रतियोगिता महिला तथा पुरुष दुवैका लागि खुला रहेको छ । राष्ट्रव्यापी स्तरको प्रतियोगिता भएकाले देशभरका इच्छुक खेलाडीहरूले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुनेलाई नगद ५० हजार रुपैयाँ, द्वितीय हुनेलाई ४० हजार रुपैयाँ र तृतीय हुनेलाई ३० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष विष्टले धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने देवीकोट क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाउन तथा स्थानीय पर्यटनलाई प्रवद्र्धन गर्न प्रतियोगिता महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार खेलकुदले मानिसको शारीरिक, मानसिक तथा संवेगात्मक विकासमा सकारात्मक भूमिका खेल्ने भएकाले गाउँपालिकाले खेलकुदका यस्ता गतिविधिलाई प्राथमिकता दिँदै आएको छ । ‘देवीकोट क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्दै युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न यो कार्यक्रम आयोजना गरिएको हो ।‘ अध्यक्ष विष्टले भन्नुभयो ।
प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम तय गरिएको गाउँपालिकाले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, खेलकुदकर्मी, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले फागुन १८ गतेदेखि २८ गतेसम्म नाम दर्ता गराउन सक्नेछन् ।
गाउँपालिकाका अनुसार दर्ता प्रक्रिया निःशुल्क राखिएको छ । खेलाडीहरूले राप्ती गाउँपालिकाको कार्यालयमा उपस्थित भएर वा इमेलमार्फत निवेदन पठाएर नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ । हालसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका गरी करिब १७ जना भन्दा बढी खेलाडीहरूले आफ्नो नाम दर्ता गराइसकेको जानकारी गाउँपालिकाले दिएको छ ।
गाउँपालिकाले आगामी दिनमा प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको संख्या अझ बढ्ने अपेक्षा गरेको छ । विशेषगरी मध्यपश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट खेलाडीहरू सहभागी हुने अनुमान गरिएको छ । प्रतियोगिताले खेलकुद गतिविधि विस्तारका साथै स्थानीय स्तरमा खेल संस्कृतिको विकासमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
देवीकोट क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । प्राचीनकालदेखि नै श्रद्धालुहरूको आस्था केन्द्रका रूपमा रहेको यो मन्दिर परिसरमा वर्षेनी विभिन्न धार्मिक गतिविधि तथा मेला महोत्सवहरू आयोजना हुँदै आएका छन् । पछिल्ला वर्षहरूमा स्थानीय तह र प्रदेश सरकारको पहलमा यहाँका धार्मिक तथा पर्यटकीय संरचनाहरूको विकासमा पनि ध्यान दिन थालिएको छ ।
गाउँपालिकाका अनुसार देवीकोट क्षेत्रमा मन्दिरको जीर्णोद्धार, पदमार्ग निर्माण तथा अन्य आधारभूत पूर्वाधार विकासका कामहरू पनि अघि बढाइएका छन् । यसले गर्दा धार्मिक पर्यटनको सम्भावना बढ्दै गएको स्थानीयवासी बताउँछन् । यदि उचित योजना र प्रचार–प्रसारका साथ यहाँको विकास गर्न सकियो भने देवीकोट क्षेत्र लुम्बिनी प्रदेशकै महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य बन्न सक्ने विश्वास गरिएको छ ।
राप्ती गाउँपालिकाले स्वर्गद्वारी, अम्बिकेश्वरी मन्दिर र देवीकोटलाई समेटेर धार्मिक पर्यटन सर्किटका रूपमा विकास गर्ने दीर्घकालीन योजना पनि अघि सारेको छ । यी तीनवटै धार्मिक स्थललाई एउटै पर्यटन मार्गमा जोड्न सकियो भने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने र स्थानीय आर्थिक गतिविधि पनि सशक्त बन्ने अपेक्षा गरिएको छ । स्थानीय स्तरमा पर्यटनको विकास हुँदा होटल, यातायात, कृषि उत्पादन तथा हस्तकला व्यवसायजस्ता क्षेत्रले पनि लाभ पाउने विश्वास गरिएको छ । गाउँपालिकाले धार्मिक तथा प्राकृतिक सम्पदालाई संरक्षण गर्दै पर्यटनमार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य राखेको जनाएको छ ।
देवीकोट दर्शन दौड प्रतियोगिताले धार्मिक पर्यटन र खेलकुदलाई एकसाथ जोड्ने प्रयास गरेको गाउँपालिकाको भनाइ छ। खेलकुद गतिविधि र धार्मिक आस्थाको संगमले यस क्षेत्रको पहिचान अझ व्यापक रूपमा फैलिने अपेक्षा गरिएको छ ।
गाउँपालिकाले प्रतियोगितामा देशभरका खेलाडी, युवावर्ग तथा सरोकारवाला निकायलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ । प्रतियोगिताले देवीकोट क्षेत्रको धार्मिक तथा पर्यटकीय सम्भावनालाई उजागर गर्दै स्थानीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । स्थानीयवासीहरू पनि यस्तो कार्यक्रमले गाउँपालिकाको पहिचान राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा व्यक्त गर्छन् । धार्मिक, सांस्कृतिक र खेलकुद गतिविधिलाई एकसाथ अघि बढाउने प्रयासले राप्ती क्षेत्रको समग्र विकासमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ ।



