शरद अधिकारी
२०८४ मा हुनुपर्ने निर्वाचन दुई बर्ष अघि भएको छ । राजनीतिक दलहरुले निर्वाचनको मितिलाई लिएर मिसन–०८४ भन्ने भाष्य बनाएका थिए । मिसन ०८४ को समय नआउँदै ०८२ मा धेरै कुरा देखिएको छ । निर्वाचनको परिणाम सवैका सामुमा जग जाहेर भइसकेको छ । प्रत्यक्ष र समानुपातिक तर्फ गरेर राष्ट्रिय स्वतन्त्र पार्टीले सानदार बहुमत हासिल गर्ने स्पष्ट छ । संसद २७५ लाई मान्ने हो भने बहुमतका लागि १३८ ल्याउनु पर्दछ । १३८ संख्याका लागि प्रत्यक्ष तर्फका १६५ मध्य राष्ट्रिय स्वतन्त्र पार्टीले ७५ प्रतिशत भन्दा बढी स्थानमा जित हासिल गरेको अवस्था छ । नेपालमा अहिलेको संवैधानिक व्यवस्था अनुसार कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत आउँदैन भनिन्थ्यो । तर अहिलेको निर्वाचनले ति सवै भनाई चिरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत ल्याएको छ । स्पष्ट बहुमत मात्रै होइन कि दुई तिहाई नै ल्याउने हो कि भन्ने देखिएको छ । संविधानमा समानुपातिक प्रावधान राख्नु हुँदैन भन्ने यदाकदा सुनिन्थ्यो । समानुपातिक भन्ने प्रावधान राख्नु हुँदैन भन्ने बिषय पहिलेका राजनीतिक दलले समानुपातिकलाई बदनाम गरेका कारणले हो । राजनीतिमा लाग्दै नलागेकाहरुलाई समानुपातिक सांसद बनाइदिने । आफन्तलाई समानुपातिक सांसद बनाइदिने गरेका कारणले नै समानुपातिक प्रणाली बदनाम भएको हो । समानुपातिक निर्वाचन प्रणालीले पछि परेका वा पारिएका बर्ग समुदायलाई अघि ल्याउनका लागि काम गर्नुपर्ने थियो । तर यहाँ त्यसको ठिक विपरित आफ्ना मान्छे भर्ती गर्ने थलो भएकाले बदनाम भएको हो । समानुपातिकको प्रशंग यति मात्रै ।
फागुन २१ गतेका दिन निर्वाचन हुँदैन भन्ने एकथरी ज्योतिषीहरु थिए । यस्तै केही राजनीतिक दलका नेताहरु थिए । ज्योतिषीहरुको कुरा यहाँ गर्नु नै पर्दैन । किन भने ति ज्योतिषीहरु जो पटक पटक फेल भइसकेका छन् । ग्रह नक्षेत्र हेर्छन होला । केही अनुमान गर्दछन पनि होला । तर कसरी राजनीतिक विषयमा ठोकुवा गर्दछन । निर्वाचन हुँदैन भनेर ठोकुवा गर्ने ज्योतिषीहरु, निर्वाचन भयो भने काँग्रेस ठूलो दल हुन्छ । ओली जित्छन्, बालेन हार्दछन् भन्दै भविश्यवाणि गर्नेहरुलाई देख्दा ज्योतिषी पेशा अव संकटमा पर्दछ कि भन्ने अनुमान होइन कि ठोकुवा नै गर्न सकिन्छ । ज्योतिषीहरुले के खाएर यस्तो कुरा गरेका होलान ? अर्को केही राजनीतिककर्मीहरु थिए जो निर्वाचन हुँदैन भनेर ठोकुवा गरिरहेका थिए । कतिपयले राजनीतिबाट सन्यास लिने घोषणा गरेका थिए । राजनीतिबाट सन्यास लिने घोषणा गर्नेहरुले सन्यास लिन्छन वा लिंदैनन् त्यो अर्को कुरा होला तर निर्वाचन फागुनको २१ गते कुनै पनि हालतमा हुँदैन भनेर ठोकुवा गर्नेहरुका पछिल्तिर सायद तिनै ज्योतिषहरु थिए होलान । जसले गर्दा निर्वाचन हुँदैन भनिरहेका थिए । केही राजनीतिक दलका नेताहरुले गरेको आशंका भनेको त निर्वाचन भयो भने शान्तिपूर्ण हुँदैन । हतियारहरु बाहिर छन् । कैदी बन्दीहरु फरार भएका ति बाहिर छन् । शान्ति सुरक्षाका कारणले गर्दा निर्वाचन हुँदैन भनेर हो । राजनीतिमा यतिसम्मको दावी वा तर्क गर्न पाइन्छ । तर निर्वाचन भयो भने कान काटेर फाल्ने कुरा, घाँटी रेट्ने कुरा गर्नु भनेको होसमा भएर गरिएको कुरा होइन सायद ।
यतिवेला नेपाली जनताले धेरै दिएका छन् । किन दिएका छन भन्ने कुराको समीक्षा जितेकाहरुले अवश्यै गर्नेछन् । अव हारेकाहरुको कुरा गरौं । राजनीतिमा जित हार हुन्छ । काँग्रेसबाट गएकाहरुको धेरै ठूलो संख्या रास्वपामा छँदैछ अव कुरा नेपालका बामपन्थीहरुको भविश्य के हुन्छ भन्ने हो ? नेपालमा बामपन्थीले पाउने गरेको दुई तिहाइको मत कहाँ पुग्यो । भूँइमान्छेको प्रतिनिधित्व गर्नेहरुको अवस्था किन यस्तो भयो । यसपालीको निर्वाचनपछि यि बिषयमा समीक्षा गर्ने आँट नेतृत्वले राख्न सक्नुपर्छ ।
निर्वाचन हुनेमा आशंका त थियो तर भयो । निर्वाचन सम्पन्न गरेकोमा सवैभन्दा बधाईको पात्र सुशिला कार्की हुनुभएको छ । निर्वाचनको परिणामलाई एकातिर छोड्ने हो भने सुशिलाले देखाएको सहास अदम्य रहेको छ । सुशिला कार्की जो नेपालको पहिलो महिला प्रधानन्यायाधीशको भुमिकामा हुनुहुन्थ्यो । हाम्रो संविधान अनुसार प्रधानन्यायाधीश भइसकेको व्यक्ति यस्तो खालको राजकीय भूमिकामा जान मिल्दैन । यो संविधानको कुरा हो । तर देशले माग्यो भने जो व्यक्तिले जुन सुकै भूमिका निर्वाह गर्न तयार हुनुुपर्छ । निर्वाचन तुलनात्मक रुपमा शान्तिपूर्ण रुपमा सम्पन्न भयो । पहिले निर्वाचन चरण चरणमा गर्नुपर्ने हुन्थ्यो । अहिले त्यस्तो भएन । मतदाताहरुले मतदान गरे । गणना भयो । निर्वाचनमा सवै दल सहभागी भए । कुनै ठूलो राजनीतिक दल निर्वाचनमा सहभागी नहुने भनेर निर्णय गरेको भए निर्वाचन नहुन सक्थ्यो वा प्रभावित हुन सक्थ्यो । बुद्धीमत्तापूर्ण तरिकाले प्रधानमन्त्रीले निर्वाचन गराउनका लागि निर्वाचन आयोगलाई सहजिकरण गर्नुभयो । सवै काम समयमा भयो । मनोनयनका समयमा अप्रिय भएन । प्रचार प्रसारका क्रममा केही स्थानमा अप्रिय भएको हो तर त्यो निर्वाचन विथोलिने अवस्थामा गएन । निर्वाचन विथोलिएको भए मुलुकमा अझ बढी संकटको अवस्था आउन सक्थ्यो होला । यसर्थ निर्वाचन सम्पन्न गराउनुभएकोमा सवैभन्दा बढी बधाईको पात्र सुशिला कार्की बन्नुभएको छ । बधाई छ ।
निर्वाचनको परिणामको कुरा गरौं । निर्वाचनमा यस्तो परिणाम आउला भनेर कसैले पनि कल्पना गरेको थिएन । स्वयम राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत वा दुई तिहाई मत मागेको भएपनि उसका नेताहरुले पनि गोप्य रिपोर्ट भन्दै ६० सिटसम्म प्रत्यक्षमा जित्ने अनुमान गरेको कुरा आइरहेको थियो । कतिसम्म भने नेपालको राजनीतिक केन्द्र राजधानी काठमाडौंका १५ वटा निर्वाचन क्षेत्रमा मुस्कीलले केही स्थानमा मात्रै जित्ने अनुमान गरिएको थियो । जसरी २०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा प्रयक्षतर्फ माओवादीले नतिजा ल्याएको थियो त्यो भन्दा पनि अभुतपूर्व रुपमा परिणाम रास्वपाको पक्षमा गएको छ । त्यतिवेला समानुपातिकको सिट सख्या अलि बढी थियो । जसले गर्दा कुनै पनि राजनीतिक दलको बहुमत पुग्ने अवस्था थिएन । त्यो समयमा प्रत्यक्षमा भन्दा समानुपातिकमा सिट संख्या बढी थियो । अहिले प्रत्यक्षमा मात्रै पनि बहुमत आउन सक्ने अवस्था बनेको छ । निर्वाचनको परिणामलाई आफ्नो पक्षमा पार्नका लागि सवैले प्रयत्न गर्दछन् ।
राजनीति गरेको हो भने आफ्नो पक्षमा परिणाम पार्नका लागि सवैले जोड बल गर्दछन् । प्रचार प्रसारको तरिका बदल्छन् । हिजोका दिनमा पर्चा पोष्टर फालेर, वाल पेन्टिङ गरेर, घर घरमा गएर मानिसलाई आफ्नो पक्षमा कन्भिन्स गर्ने अवस्था थियो । आजका दिनमा त्यो अवस्था रहेन । आजका दिनमा मानिसहरुलाई कन्भिन्स गर्नका लागि हात हातका मोवाइल काफि रहेछन् । मोवाईलमा रहेका अनेकन थरी एप्स मानिसका लागि सन्देश प्रवाह गर्ने साधन भएका छन् । अहिले पढ्ने म्यासेज होइन, हेर्ने र सुन्ने म्यासेजले काम गर्दछ । त्यस्ता सन्देशले मानिसलाई बढी आकर्षित गर्दछ । निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्नका लागि कसैले यस्ता अस्त्र प्रयोग गरेको छ भनेर त्यसलाई गाली गर्नु भन्दा निर्वाचनको बदलिएको टे«न्डलाई बुझ्नु नै बुद्दिमानी हुन्छ ।
यसपालीको निर्वाचनमा रास्वपाले जितेको छ । नयाँ नयाँ युवाहरु संसदमा पुग्ने भएका छन् । कोही पढे लेखेका छन् । कोही विभिन्न विषयमा अनुभवी र जानकार छन् । संसदीय खेलमा कच्चा होलान् । यि नयाँ भएपनि कुरा छिट्टै बुझ्नेछन् । यिनीहरुले संसदीय भाषा बुझेर राम्रो काम गर्दै राजनीतिमा लामो समय टिक्ने काम गरे भने त्यो देशका लागि पनि राम्रो पक्ष हो । तर जसरी २०६४ सालमा माओवादीका सांसदहरु त्यसपछि विलाएर गए, रास्वपाका सांसदहरुको अवस्था पनि यस्तै हुने त होइन भन्ने शंका छ । नेपालमा लोकपृय भएर आउने र त्यसैगरी समाप्त हुने विगतलाई रास्वपाले कसरी लिन्छ त्यो भविश्यमा थाहा हुन्छ । निर्वाचन लोकतान्त्रिक प्रणाली हो । निर्वाचनमा जित हार हुन्छ । जित्नेले सत्तामा जान्छ र सरकार चलाउँछ । हार्नेले संसदबाट खवरदारी गर्दछन् । अरुले सडकबाट खवरदारी गर्दछन् । नेपालमा २०४६ साल पछि नै सरकार र संसद अस्थिर हुँदै आएको छ । २०४८ सालमा बहुमत पाएको काँग्रेसले पाँच बर्ष सरकार चलाउन सकेन । फलस्वरुप २०५१ सालमा मध्यावधी भयो । २०५६ सालमा भएको निर्वाचनबाट बहुमत पाएको काँग्रेस केही बर्षमा फुट््यो । माओवादी र एमालेका बीचमा एकता भएर बनेको नेकपाले पनि त्यहि नियती भोग्यो । झण्डै दुई तिहाई बहुमतको सरकार पाँच बर्ष चल्न सकेन । त्यसपछिको निर्वाचन दुवैले आफ्नो अस्तित्व त जोगाए यसपाली सवै संकटमा रहेका छन् । यो निर्वाचनले नेपालका कम्युनिष्टहरुलाई घन हानेको जस्तो भएको होला । पूँजीवादी विचार बोक्ने नेपाली काँग्रेस र रास्वपाका बीचमा तालमेल हुन सक्छ । यद्दपी रास्वपामा बामपन्थी विचार बोकेर राजनीतिमा आएकाहरुको संख्या उल्लेख्य रहेको छ । उनिहरुको भविश्यमा के सोच्दछन वा के गर्दछन् भन्ने विषय रहस्यमै रहेको छ । निर्वाचनमा जित हासिल गरेका सवैलाई अग्रिम शुभकामना । राम्रो काम गरुन । संविधानमा रहेका कमी कमजोरीहरु हटाउन । हिजोका दिनमा सुशासनको जुन मुद्दा थियो त्यो अव सुन्न नपरोस ।
जहाँसम्म समीक्षाको कुरा छ । कसले गर्ने ? पुराना राजनीतिक दलहरुले निर्वाचनमा पराजयको समीक्षा गर्दछन् कि गर्दैनन ? आजको दिनमा सवैभन्दा महत्वपूर्ण विषय यहि हो । अर्को कुरा जितेकाहरुले आफ्नो जितको समीक्षा गर्दछन् कि गर्दैनन् ? तपाईले कसैसंग केही माग्नुभयो । मागेको भन्दा बढी पाउनु भयो भने त्यतिवेला तपाईलाई कस्तो महशुस हुन्छ ? दिनेले किन धेरै दियो होला भन्ने अवश्यै लाग्छ । यतिवेला नेपाली जनताले धेरै दिएका छन् । किन दिएका छन भन्ने कुराको समीक्षा जितेकाहरुले अवश्यै गर्नेछन् । अव हारेकाहरुको कुरा गरौं । राजनीतिमा जित हार हुन्छ । काँग्रेसबाट गएकाहरुको धेरै ठूलो संख्या रास्वपामा छँदैछ अव कुरा नेपालका बामपन्थीहरुको भविश्य के हुन्छ भन्ने हो ? नेपालमा बामपन्थीले पाउने गरेको दुई तिहाइको मत कहाँ पुग्यो । भूँइमान्छेको प्रतिनिधित्व गर्नेहरुको अवस्था किन यस्तो भयो । यसपालीको निर्वाचनपछि यि बिषयमा समीक्षा गर्ने आँट नेतृत्वले राख्न सक्नुपर्छ । sharadreetu@gmail.com



