spot_img
spot_img

सामाजिक अभियन्ता योगीलाई उत्कृष्ट महिला सम्मान

राप्ती पोष्ट

दाङ, फागुन ।  कुनै समय गाउँका महिलाहरू घरको चुलो–चौकोमै सीमित रहने सामाजिक संरचनामा परिवर्तन ल्याउने सपना देख्नु पनि ठूलो साहस मानिन्थ्यो । त्यही समय महिलालाई शिक्षित, सचेत र आर्थिक रूपमा सक्षम बनाउने उद्देश्य लिएर गाउँ–गाउँ पुगेकी एक महिला अहिले समाजसेवाको क्षेत्रमा उदाहरणीय व्यक्तित्वका रूपमा स्थापित हुनुभएको छ, उहाँ हुनुहुन्छ विमला योगी ।

समाजसेवामा दीर्घकालीन योगदान पु¥याएको कदर गर्दै त्रिभुवननगर जेसिजले आइतबार विमला योगीलाई “शारदा खगराज लोहनी उत्कृष्ट महिला पुरस्कार–२०२६” प्रदान गरेको छ । समाजसेवा, महिला सशक्तीकरण र आर्थिक रूपान्तरणका क्षेत्रमा लामो समयदेखि निरन्तर काम गर्दै आउनुभएकी योगीलाई यो सम्मान प्रदान गरिएको हो । दाङ जिल्लामा महिलाहरूको आर्थिक, सामाजिक तथा राजनीतिक चेतना अभिवृद्धि गर्न उल्लेखनीय भूमिका खेल्दै आउनुभएकी योगीको योगदानलाई सम्मानस्वरूप त्रिभुवननगर जेसिजले यो पुरस्कार प्रदान गरेको हो । समाज रूपान्तरणका लागि उहाँले देखाएको प्रतिबद्धता, साहस र समर्पणका कारण जिल्लामा सामाजिक अभियन्ताका रूपमा परिचित हुनुहुन्छ ।
योगीले आफ्नो जीवनको ठूलो समय समाजसेवामा समर्पित गर्नुभएको छ । विशेषगरी महिलाहरूलाई संगठित गर्ने, शिक्षित बनाउने र आर्थिक रूपमा आत्मनिर्भर बनाउनका लागि उहाँले निरन्तर संघर्ष गर्नुभएको छ । महिलाहरूको सामाजिक उत्थानका लागि काम गर्दा उहाँले धेरै कठिनाइहरू पनि सामना गर्नुप¥यो । तर ती सबै चुनौतीका बीच पनि उहाँ आफ्नो उद्देश्यबाट कहिल्यै पछि हट्नुभएन ।

एक समय यस्तो पनि थियो, जब गाउँका महिलाहरू घरको सीमाभित्र मात्र सीमित रहने सामाजिक मान्यता थियो । महिलाले बाहिर निस्केर सामाजिक गतिविधिमा संलग्न हुनु राम्रो मानिँदैनथ्यो । शिक्षा, आर्थिक गतिविधि वा राजनीतिक सहभागितामा महिलाको भूमिका न्यून थियो । यही सामाजिक संरचनालाई परिवर्तन गर्ने लक्ष्यका साथ विमला योगीले आफ्नो अभियान सुरु गर्नुभएको थियो । महिलाहरूको सामाजिक उत्थानका लागि काम गर्ने क्रममा उहाँले एउटा महत्वपूर्ण कुरा बुझ्नुभयो । आर्थिक रूपान्तरणबिना सामाजिक रूपान्तरण सम्भव हुँदैन । महिलाहरू आर्थिक रूपमा सक्षम नभएसम्म उनीहरूको सामाजिक स्थिति पनि मजबुत हुन सक्दैन भन्ने निष्कर्षमा उहाँ पुग्नुभयो । त्यसपछि उहाँले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने अभियानलाई प्राथमिकता दिन थाल्नुभयो ।

समाजका पीडित र उपेक्षित महिलाहरूको पीडा बुझ्न उहाँ गाउँ–गाउँ पुग्नुभयो । द्वन्द्वपीडित महिलाहरूका घरमा पुगेर उनीहरूको दुःख सुन्नुभयो । आँसु पुछ्नुभयो । महिलाहरूका साझा समस्याहरूलाई नजिकबाट बुझेर समाधान खोज्ने प्रयास गर्नुभयो । महिलाहरूलाई संगठित गर्दै उनीहरूलाई आत्मविश्वास र साहसका साथ अघि बढ्न प्रेरित गर्नुभयो । महिलाहरूलाई संगठित गर्ने क्रममा उहाँले समाजका विभिन्न समस्याहरू नजिकबाट देख्नुभयो । अशिक्षा, गरिबी, घरेलु हिंसा र जातीय विभेदजस्ता समस्या धेरै गाउँमा गहिरो रूपमा जरा गाडेर बसेका थिए । धेरै महिलाहरू आफ्नो नाम लेख्नसमेत नसक्ने अवस्थामा थिए । ल्याप्चे लगाएर कागजमा सहमति जनाउनुपर्ने अवस्था थियो ।

यही अवस्थालाई परिवर्तन गर्ने लक्ष्यका साथ विमला योगीले महिलाहरूका लागि साक्षरता अभियान सुरु गर्नुभयो । ल्याप्चे लगाउने महिलाहरूलाई हस्ताक्षर गर्न सक्ने बनाउनु उहाँको प्रमुख अभियान बन्यो । शिक्षाको उज्यालो बिना समाज परिवर्तन सम्भव छैन भन्ने विश्वासका साथ उहाँले शिक्षालाई प्राथमिकतामा राख्नुभयो । यस अभियानलाई संस्थागत रूपमा अघि बढाउन उहाँले एउटा महत्वपूर्ण निर्णय लिनुभयो । आफ्ना समकालीन साथीहरूलाई साथमा लिएर उहाँले २०५० सालमा “नेपाल महिला सामुदायिक सेवा केन्द्र” स्थापना गर्नुभयो । उहाँकै नेतृत्वमा स्थापना भएको यो संस्थाले महिलाहरूको चेतना अभिवृद्धि गर्ने उद्देश्य राख्यो ।

संस्थाको स्थापना पछि गाउँ–गाउँमा प्रौढ शिक्षा अभियान सञ्चालन गरियो । महिलाहरूलाई साक्षर बनाउने अभियान सुरु भयो। तर यो यात्रा सहज भने थिएन । गाउँमा प्रौढ शिक्षा अभियान सञ्चालन गर्न जाँदा विभिन्न अवरोध र विरोध पनि सामना गर्नुप¥यो । कतिपय गाउँमा उनीहरूलाई गाउँमै पस्न नदिने प्रयास गरियो । कतिपयले बहिष्कारसमेत गरे । “घर भाँड्न आएका” जस्ता आरोप लगाइयो। सामाजिक संरचना परिवर्तन गर्ने प्रयासलाई धेरैले सहज रूपमा स्वीकार्न सकेनन् । तर ती सबै आरोप र अवरोधका बीच पनि विमला योगी आफ्नो अभियानबाट पछि हट्नुभएन ।

रातको समयमा लाल्टिनको उज्यालोमा महिलाहरूलाई पढाउन सुरु गरिएको थियो । प्रौढ शिक्षा अभियानमार्फत महिलाहरूलाई अक्षर चिनाउने, हस्ताक्षर गर्न सिकाउने र सामाजिक चेतना जगाउने प्रयास गरियो। यस अभियानले धेरै गाउँका महिलाहरूको जीवनमा नयाँ उज्यालो ल्यायो । योगीका अनुसार गाउँ–गाउँमा असमानताका धेरै गम्भीर समस्या थिए । कतै घरेलु हिंसा थियो, कतै जातीय विभेदको समस्या थियो । गरिबी र अशिक्षाले धेरै महिलाको जीवन कठिन बनाएको थियो । यी सबै समस्याको मूल कारण चेतनाको कमी भएको उहाँले अनुभव गर्नुभयो । त्यसैले चेतनाको विकास नै समाज परिवर्तनको आधार हो भन्ने निष्कर्षमा पुगेर उहाँले शिक्षाको अभियानलाई अझ व्यापक बनाउनुभयो । प्रौढ शिक्षा अभियानमार्फत ग्रामीण महिलाहरूमा चेतना जगाउने प्रयासलाई निरन्तरता दिनुभयो ।

२०२५ सालमा घोराही उपमहानगरपालिका–१३ सेवार बनगाउँमा भएको हो । उहाँले उच्च शिक्षा त्रिभुवन विश्वविद्यालयबाट प्राप्त गर्नुभएको छ । समाजशास्त्र तथा अर्थशास्त्र विषयमा स्नातकोत्तर अध्ययन गर्नुभएको उहाँ शैक्षिक रूपमा पनि सक्षम व्यक्तित्व हुनुहुन्छ । शिक्षा र सामाजिक चेतनाको महत्व बुझेर उहाँले आफ्नो जीवनलाई समाजसेवामा समर्पित गर्नुभयो । विभिन्न संस्थागत पहलमार्फत महिलाहरूको आर्थिक सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गर्नुभयो । २०५४ सालमा उहाँले सामुदायिक बचत तथा ऋण सहकारी संस्था स्थापना गर्नुभयो । यस संस्थामार्फत महिलाहरूलाई बचत र ऋणको माध्यमबाट आर्थिक गतिविधिमा संलग्न गराउने प्रयास गरियो । यसले धेरै महिलाहरूलाई साना व्यवसाय सुरु गर्न सहयोग पुग्यो ।

त्यसैगरी २०७८ सालमा उहाँको पहलमा महिला सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापना गरिएको थियो । यसबाहेक अन्य विभिन्न बचत तथा महिला सहकारी संस्थाहरूको स्थापना र सञ्चालनमा पनि उहाँको महत्वपूर्ण भूमिका रहेको छ । आर्थिक सशक्तीकरणको क्षेत्रमा काम गर्दै उहाँ मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडमा दुई वर्ष प्रमुख कार्यकारी निर्देशकका रूपमा पनि कार्य गर्नुभएको छ । यस अवधिमा उहाँले ग्रामीण महिलाहरूलाई आर्थिक गतिविधिमा जोड्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुभयो ।

योगी विभिन्न सामाजिक तथा राजनीतिक संस्थाहरूमा पनि सक्रिय रहनुभएको छ । उहाँ महिला अधिकार र मानव अधिकारको क्षेत्रमा पनि निरन्तर सक्रिय हुनुहुन्छ । नेपाल मानव अधिकार संगठन दाङको पूर्वअध्यक्षको जिम्मेवारीसमेत उहाँले सम्हाल्नुभएको छ । २०४६ सालको जनआन्दोलनका क्रममा पनि उहाँ सक्रिय रूपमा सहभागी हुनुभएको थियो । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सहभागी हुँदै उहाँले लोकतन्त्र र नागरिक अधिकारका पक्षमा आफ्नो आवाज उठाउनुभएको थियो । समाजसेवामा उहाँले पु¥याएको योगदानका कारण विभिन्न संस्थाहरूले उहाँलाई सम्मान गर्दै आएका छन् । २०७९ सालमा उत्कृष्ट सामाजिक कार्यका लागि राष्ट्रपति कार्यालयबाट उहाँलाई सम्मान गरिएको थियो । यो सम्मान उहाँको समाजसेवाप्रतिको समर्पणको कदरका रूपमा हेरिएको छ । त्यसैगरी २०८० सालमा दाङ महिला जेसिजले पनि सामाजिक योगदानका लागि उहाँलाई सम्मान गरेको थियो । घोराही खानेपानी तथा सरसफाइ संस्थाले सामाजिक योगदानको कदर गर्दै उहाँलाई सम्मान प्रदान गरेको थियो ।

घोराही उपमहानगरपालिकाले २०८० सालमा बालबालिकालाई सहयोग पु¥याएको योगदानका लागि उहाँलाई सम्मान गरेको थियो । लायन्स क्लब अफ घोराही सिटीले पनि महिला तथा बालबालिकाको सामाजिक तथा आर्थिक सशक्तीकरणमा योगदान पु¥याएको भन्दै उहाँलाई सम्मान प्रदान गरेको थियो । आज दाङका धेरै महिलाहरू साक्षर भएका छन्, आर्थिक रूपमा सक्रिय भएका छन् र सामाजिक गतिविधिमा आत्मविश्वासका साथ सहभागी भइरहेका छन् । यस परिवर्तनको यात्रामा विमला योगी जस्ता सामाजिक अभियन्ताहरूको ठूलो योगदान रहेको छ ।

हरेक बर्ष आठ मार्चमा वितरण गर्ने गरी पाँच लाख रुपैयाको अक्षयकोष सहित स्थापित पुरस्कार उहाँले पहिलो पटक पाउनुभयो । ‘यसै बर्ष देखि वितरण गर्न थालिएको हो, धेरै नामहरु आएका थिए तर उहाँको नाम छनौट भयो ।’ छनौट समितिमा रहुनभएका जेसिजका पूर्व अध्यक्ष समेत रहनुभएका कुमार राज श्रेष्ठले भन्नुभयो । त्रिभुवननगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा भएको कार्यक्रममा जेसिजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीको पनि उपस्थिति थियो । योगीलाई सम्मान गर्दै कार्कीले यस बर्ष जेसिजका हरेक शाखाहरुले आठ मार्चमा विभिन्न रचनात्मक कार्य गरेको बताउनुभयो । उहाँले नयाँ सोच बोक्नेहरुलाई सम्मान गरेर जेसिजले नयाँ थालनी गरेको बताउनुभयो । उहाँले महिलाको त्याग र समर्पणले मात्रै परिवर्तन सम्भव भएका धेरै उदाहरण रहेको बताउनुभयो । उहाँले युवाहरुले समाज परिवर्तनका लागि सकारात्मक सोच राख्नुपर्ने बताउँदै महिला शसक्तिकरणका लागि अनेकन कृयाकलापहरु गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, जिल्ला अध्यक्ष सन्तोष सुवेदी, दाङ महिला जेसिजकी अध्यक्ष अर्चना शर्मा, सिसा नेपालकी अध्यक्ष साजिदा सिद्दकी, पत्रकार महिला मञ्चकी अध्यक्ष लक्ष्मी आचार्य लगायतले बोल्नुभएको थियो । त्रिभुवननगर जेसिजकी पूर्व अध्यक्ष समेत रहनुभएकी खगराज लोहनी र शारदा लोहनीकी सुपुत्री माया लोहनीले पुरस्कार स्थापना गर्नुभएको हो । उहाँले पाँच लाख रुपैया अक्षयकोष बनाउनुभएको छ । सोही रकमको व्याजबाट हरेक बर्ष पुरस्कार प्रदान गरिन्छ । यो पहिलो बर्ष हो । पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा प्रतिक लोहनीले शारदा खगराज लोहनीका बारेमा बताउनुभएको थियो । कार्यक्रम संयोजक श्याम कुमार गिरीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन महासचिव बावुराम पाण्डेले गर्नुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार