spot_img
spot_img

शंकर पोखरेलको संकल्प पत्र सार्वजनिक

‘पाँच वर्ष–पाँच क्रान्ति’ मार्फत दाङ रूपान्तरणको प्रतिवद्धता

राप्ती पोष्ट
दाङ । नेकपा (एमाले) का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर पोखरेलले “दाङको विकास, दाङबासीको सम्मान–सबल दाङ, समृद्ध नेपाल” मूल नारासहित विस्तृत तथा बहुआयामिक संकल्प पत्र सार्वजनिक गर्नुभएको छ । ‘पाँच वर्ष–पाँच क्रान्ति’लाई मुख्य एजेन्डा बनाउँदै उहाँले दाङलाई तीव्र आर्थिक, सामाजिक र संरचनात्मक रूपान्तरणको दिशामा अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

संकल्प पत्र सार्वजनिक गर्दै पोखरेलले दाङ अहिले ऐतिहासिक “टर्निङ पोइन्ट” मा उभिएको उल्लेख गर्नुभयो । अबको निर्वाचन विकास र समृद्धिको स्पष्ट दिशातर्फ अघि बढ्ने वा पछाडि फर्कने भन्ने विषयमा जनताको निर्णायक छनोट हुने उहाँको भनाइ थियो । विगतमा अघि सारिएका अधिकांश प्रतिबद्धता पूरा भएको दाबी गर्दै उहाँले अधुरा योजनाहरू सम्पन्न गर्न पुनः अवसर दिन मतदातासँग आग्रह गर्नुभएको छ ।

राजधानी स्थापनादेखि पूर्वाधार विस्तारसम्म

पोखरेलले दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने संकल्प सफलतापूर्वक पूरा भएको उल्लेख गर्नुभयो । संस्थापक मुख्यमन्त्रीका रूपमा संघीयता कार्यान्वयनको नेतृत्व गर्नुभएको स्मरण गराउँदै उहाँले राजधानीको गुरुयोजना निर्माण, प्रदेशसभा भवन तथा स्थायी संरचना निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

दीर्घकालीन पूर्वाधार विकासलाई प्राथमिकता दिँदै उहाँले घोराही–तुलसीपुर चारलेन सडक समयमै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । घोराही–लमही सडक खण्डअन्तर्गत अर्जुनखोला–मसौट तथा चौपट्टा खण्डका चारलेन सडकका लागि डीपीआर तयार भइसकेको र वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।

३५० बिगाहा क्षेत्रफलमा घोराही औद्योगिक क्षेत्र स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढिसकेको र डीपीआर तयारी तीव्र रूपमा भइरहेको उहाँको भनाइ थियो । ग्वार खोला हाई ड्याम र माडी डाइभर्सन आयोजनाका लागि बजेट विनियोजन तथा अध्ययन कार्य अघि बढाइएको पनि उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य र शिक्षामा फड्को

स्वास्थ्य क्षेत्रतर्फ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस र एमडी अध्ययन सुरु हुनु जिल्लाका लागि ऐतिहासिक उपलब्धि भएको उहाँले उल्लेख गर्नुभयो । लमहीमा ट्रमा सेन्टर स्थापना प्रक्रिया अन्तिम चरणमा पुगेको र चालु आर्थिक वर्षभित्र सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उहाँको भनाइ थियो ।

त्यसैगरी त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत घोराही क्याम्पस निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको र दाङलाई उच्च प्राविधिक शिक्षाको केन्द्र बनाउने आधार तयार भएको उहाँले बताउनुभयो ।

कृषि, खानेपानी र पर्यटन पूर्वाधार

स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत उत्पादन वृद्धि र किसानको आयआर्जनमा उल्लेख्य सुधार भएको दाबी गर्दै उहाँले कृषि आधुनिकीकरणलाई अझ प्रभावकारी बनाइने बताउनुभयो । दाङमा खानेपानी तथा सरसफाइ क्षेत्रमा करिब दुई अर्ब रुपैयाँ लगानी भएको र जिल्ला अस्पतालहरूलाई ५० शैयासम्म स्तरोन्नति गरिएको जानकारी उहाँले दिनुभयो ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासअन्तर्गत अम्बिकेश्वरी मन्दिर, छिल्लिकोट र धारपानी क्षेत्रमा पूर्वाधार विस्तार गरिएको उल्लेख गर्दै पर्यटन प्रवर्द्धनलाई आर्थिक विकाससँग जोडिने उहाँले बताउनुभयो ।

फोरलेन सडक, पुल र रंगशाला निर्माण

लमही–घोराही–तुलसीपुर फोरलेन सडक पुनः सुरु भई तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै उहाँले घोराही–५ धर्नास्थित नेत्रलाल पार्क निर्माणाधीन रहेको र वडा नं. १६ मा नेत्रलाल बहुउद्देश्यीय रंगशालाको निर्माण कार्य सुरु भएको जानकारी दिनुभयो । सेवार, हापुर र कालाखोलामा चारलेन पुल निर्माण भइरहेको र मध्य दाङको सडक सञ्जाल सुदृढ बनाउने कामलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ थियो ।

‘पाँच वर्षमा पाँच क्रान्ति’ : रूपान्तरणको स्पष्ट खाका

पोखरेलले आफ्नो संकल्प पत्रको केन्द्रीय प्राथमिकताका रूपमा “पाँच वर्षमा पाँच क्रान्ति” अघि सार्नुभएको छ । पहिलो क्रान्ति आर्थिक तथा पूर्वाधार क्षेत्रमा केन्द्रित हुने, जसअन्तर्गत सडक विस्तार, औद्योगिक क्षेत्र स्थापना, जलाशय तथा सिँचाइ आयोजना कार्यान्वयन र लगानीमैत्री वातावरण निर्माण गरिने उहाँले बताउनुभयो ।

दोस्रो शैक्षिक क्रान्तिमार्फत डिजिटल शिक्षा, प्राविधिक अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिइनेछ । तेस्रो स्वास्थ्य क्रान्तिअन्तर्गत जिल्ला अस्पतालहरूको स्तरोन्नति, विशेषज्ञ सेवा विस्तार र मेडिकल कलेज पूर्वाधार सुदृढीकरण गरिने योजना रहेको उहाँको भनाइ थियो ।

चौथो प्रविधि क्रान्तिमार्फत ई–गभर्नेन्स विस्तार, डिजिटल सेवा प्रवाह र नवप्रवर्तन केन्द्र स्थापना गरिनेछ भने पाँचौँ सुशासन क्रान्तिअन्तर्गत भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति, पारदर्शी प्रशासन र परिणाममुखी कार्यसंस्कृति विकास गरिने लक्ष्य राखिएको उहाँले स्पष्ट पार्नुभयो ।

राजनीतिक रूपमा आफू स्थापित भइसकेको अवस्थामा अब विकासका लागि साझा जनप्रतिनिधि बन्नुपर्ने आवश्यकता औंल्याउँदै पोखरेलले केन्द्रमा सशक्त उपस्थिति बिना दाङले अपेक्षित बजेट र प्राथमिकता पाउन नसक्ने धारणा राख्नुभयो । कोइलाबास नाका सञ्चालन, औद्योगिक क्षेत्र विस्तार र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै उहाँले मतदातालाई विकास, स्थायित्व र समृद्धिको पक्षमा उभिन आग्रह गर्नुभएको छ ।

संकल्प पत्र पुरा विवरण हेर्नुहोस

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार