राप्ती पोष्ट
घोराही, फागुन । जिल्ला प्रहरी कार्यालय दाङले गत महिनाको शान्ति–सुरक्षा अवस्था समग्रमा सुधारोन्मुख रहेको जनाएको छ । नियमित पत्रकार भेटघाट कार्यक्रममा कार्यालयले गत महिनाका गतिविधि, उपलब्धि तथा चुनौतीबारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक रेशम बोहराले माघ महिनामा कुल ७५ वटा मुद्दा दर्ता भएको जानकारी दिनुभयो । तीमध्ये १९ वटा मुद्दा फछ्र्योट भइसकेका छन् भने ५६ वटा मुद्दा अनुसन्धान प्रक्रियामा रहेका छन् । अदालतको आदेशअनुसार सजाय भोग्नुपर्ने ५६ जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेकाहरूको कुल बाँकी सजाय १४ वर्ष पाँच दिन रहेको प्रहरीले जनाएको छ । फरार प्रतिवादी पक्राउ कार्यलाई तीव्रता दिइएकाले अदालतका फैसला कार्यान्वयनमा प्रगति देखिएको जनाइएको छ ।
माघ महिनामा आत्महत्याका १० वटा घटना दर्ता भएका छन् । अघिल्ला महिनाको तुलनामा घटनामा कमी आएको प्रहरीको दाबी छ । आत्महत्या न्यूनिकरणका लागि विशेष कार्ययोजना बनाएर समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएकाले सकारात्मक प्रभाव देखिएको प्रहरीको भनाइ छ । विद्यालय, स्थानीय तह तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै मनोसामाजिक परामर्श तथा जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको थियो ।
गत महिनामा ५ ग्राम ५६० मिलिग्राम लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । लागूऔषध विरुद्ध २५ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेका १३ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ । उक्त कारबाहीबाट दुई लाख ९६ हजार छ सय १८ रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यस्तै, अवैध बन पैदावार ओसारपसार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् भने २३ हजार आठ सय ४८ रुपैयाँ जरिवाना असुल गरिएको छ । भन्सार छली गरी अवैध रूपमा सामान ओसारपसार गर्नेबाट २८ लाख ७९ हजार एक सय ५८ रुपैयाँ बराबरको जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।
माघ महिनामा सवारी दुर्घटना न्यूनिकरणका लागि ३१ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका थिए । चालक, सहचालक तथा सर्वसाधारणलाई ट्राफिक नियम पालनाबारे जानकारी गराइएको थियो। प्रहरीका अनुसार दुर्घटना दर घट्दो क्रममा रहेको छ । बालबालिकाविरुद्ध हुने अपराध न्यूनिकरणसम्बन्धी २२ वटा कार्यक्रम सञ्चालन गरिएको थियो। विद्यालय सम्पर्क कार्यक्रम ३० वटा र समुदायस्तरमा एक सय ३४ वटा सचेतना कार्यक्रम सम्पन्न भएका छन् । महिला तथा बालबालिका सेलमा एक सय २२ वटा उजुरी परेका थिए । तीमध्ये २० वटा घरेलु हिंसासम्बन्धी रहेका थिए भने १७ वटा उजुरी मिलापत्रमार्फत टुंग्याइएको छ ।
माघ महिनामा प्रहरीको आपतकालीन नम्बर १०० मा पाँच हजार पाँच सय एक वटा फोन आएका छन् । सबै फोनमा प्रतिक्रिया दिइएको प्रहरीले जनाएको छ । यसले प्रहरीप्रति जनविश्वास बढ्दै गएको संकेत गरेको बताइएको छ ।
प्रहरी उपरीक्षक दीपक श्रेष्ठले पछिल्लो समय बैंकिङ कसुरसम्बन्धी मुद्दा बढ्दै गएको बताउनुभयो । आर्थिक लेनदेन तथा चेक अनादरका घटनामा वृद्धि देखिएकाले यस क्षेत्रमा थप निगरानी आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरिएको बताउनुभयो । माघको पहिलो सातादेखि संयुक्त सुरक्षा परिचालन सुरु गरिएको छ । दिन–रात गस्ती बढाइएको छ भने उम्मेदवारहरूसँग नियमित सम्पर्क राख्ने कार्य भइरहेको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्र र तुलसीपुरको टरिगाउँ विमानस्थलमा संयुक्त सुरक्षा फोर्स परिचालन गरिएको छ । निर्वाचनमा खटिनका लागि प्रहरी कर्मचारी तयारी अवस्थामा रहेका छन् र विदा समेत रोकिएको छ । प्रहरीले आगामी दिनमा पनि समुदाय–प्रहरी सहकार्यलाई थप सशक्त बनाउँदै अपराध नियन्त्रण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।



