spot_img
spot_img

भाइवैनीहरुसंग– ४८९

भाइवैनीहरु, धेरै धेरै सँझना अनि माया, पक्कै पनि आराम हुनुहुन्छ होला । देशमा चुनावको माहोल छाएको छ । उमेदवारहरु घर घरमा हिडिरहेका छन् । आज म तपाईहरूसँग आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनको सन्दर्भमा केही महत्वपूर्ण कुरा जानकारी दिन गर्न चाहन्छु । भाइवैनीहरुलाई निर्वाचन भनेको त ठूला मान्छेहरूको काम जस्तो लाग्न सक्छ, तर यसको महत्व तपाईहरूले पनि बुझ्नुपर्छ । बालवालिकाहरुसंग पनि निर्वाचनको विषय जोडिएको हुन्छ । मतदान गर्नेहरुसंग मात्रै यो विषय जोडिएको छैन । त्यसैले आज म तपाईलाई निर्वाचन भनेको के हो ? यो किन महत्वपूर्ण छ ? र तपाईहरूले यसमा कसरी सहयोग गर्न सक्नुहुन्छ ? भन्ने बिषयमा केही कुरा जानकारी दिन थालिरहेको छु । निर्वाचन भनेको देशका नागरिकहरूले आफ्ना प्रतिनिधि छान्ने प्रक्रिया हो । हामी सबैले प्रत्यक्ष रूपमा शासन चलाउँदैनौँ, तर हामीले छानेका प्रतिनिधिहरूले संसद्, प्रदेश सभा वा स्थानीय तहमा बसेर कानून बनाउँछन्, नीति तय गर्छन् र देश सञ्चालन गर्छन् । त्यसैले निर्वाचन लोकतन्त्रको आधार हो । लोकतन्त्र भनेको जनताको शासन, जनताद्वारा, जनताका लागि चल्ने शासन व्यवस्था हो । अहिले संसदको निर्वाचन भइरहेको छ । यस्तै प्रदेशतहको निर्वाचन हुन्छ । अनि पालिकातहको निर्वाचन हुन्छ ।

जब तपाईका बुबा–आमा, दाजु–दिदी वा हजुरबुबा–हजुरआमाले मतदान गर्नुहुन्छ, उहाँहरूले देशको भविष्य कस्तो बनाउने भन्ने निर्णयमा भाग लिइरहनुभएको हुन्छ । विद्यालय कस्तो बनाउने, सडक, अस्पताल, रोजगारी, वातावरण संरक्षण कसरी गर्ने भन्ने जस्ता विषयमा प्रभाव पार्ने नेतृत्व चयन गर्ने माध्यम नै निर्वाचन हो । त्यसैले निर्वाचन महत्वपूर्ण छ, किनकि यसले तपाईहरूको भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्छ । तपाईहरू सोच्न सक्नुहुन्छ कि हामी त सानै छौँ, हामीले के गर्न सक्छौँ ?’ तर तपाईहरुले याद राख्नुपर्ने कुरा के हो भने लोकतन्त्रको संस्कार सानैदेखि सिकिन्छ । तपाईहरूले घरभित्रैबाट राम्रो अभ्यास सुरु गर्न सक्नुहुन्छ । उदाहरणका लागि, विद्यालयमा कक्षा प्रतिनिधि छान्दा निष्पक्ष रूपमा मतदान गर्नु, साथीहरूको मतलाई सम्मान गर्नु यी सबै लोकतान्त्रिक अभ्यास हुन् । तपाईहरुले कक्षामा मोनिटर छान्नु भएको होला । विभिन्न सदनमा प्रतियोगिताहरु हुन्छ होला । अन्य कुनै कामका लागि क्याप्टेन चुन्नुहुन्छ होला । यो पनि निर्वाचन हो । कतै कतै यस्तै छनौट गर्दा पनि मतदान भएको भन्ने सुनिरहेका हुन्छौैं ।

अर्को कुरा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुनु अत्यन्त जरुरी हुन्छ । स्वच्छ भन्नाले कसैलाई लोभ, प्रलोभन वा दबाब नदिई स्वतन्त्र रूपमा मत हाल्न पाउनु हो । निष्पक्ष भन्नाले सबै उम्मेदवारलाई समान अवसर मिल्नु हो । भयरहित भन्नाले कुनै धम्की, झगडा वा हिंसा बिना शान्तिपूर्ण रूपमा मतदान सम्पन्न हुनु हो । यसमा तपाईहरूको भूमिका सानो देखिए पनि अर्थपूर्ण हुन्छ । पहिलो कुरा, घरमा सकारात्मक सन्देश दिनुहोस् । यदि घरमा राजनीतिक बहस हुन्छ भने झगडा होइन, संवाद गर्न प्रेरित गर्नुहोस् । ‘हामीले शान्तिपूर्वक मतदान गर्नुपर्छ’ भन्ने सन्देश तपाईहरूले दिन सक्नुहुन्छ । अहिले मात्रै होइन जहिले पनि निर्वाचनको समयमा गलत सूचना फैलिएको हुन्छ । तपाईले गलत सूचना नफैलाउनुहोस् । आजकल सामाजिक सञ्जालमा विभिन्न किसिमका हल्ला र अपुष्ट खबरहरू फैलिने गर्छन् । तपाईहरूले कुनै पनि कुरा सुन्नुभयो भने त्यसलाई तुरुन्तै विश्वास नगरी अभिभावक वा शिक्षकसँग सोध्ने बानी बसाल्नुहोस् । सत्य सूचना मात्र साझा गर्ने संस्कार विकास गर्नुहोस् ।

फागुनको २१ गते मतदानको दिन हो । घरका ज्येष्ठ सदस्यलाई सहयोग गर्नुहोस् । कतिपय ठाउँमा मतदान केन्द्र टाढा हुन सक्छ । तपाईहरूले उहाँहरूको साथ दिन सक्नुहुन्छ, लाइनमा बस्दा सहयोग गर्न सक्नुहुन्छ, पानी बोकेर दिन सक्नुहुन्छ । यस्ता साना सहयोगले पनि ठूलो अर्थ राख्छ । निर्वाचनको बेला कतै झगडा हुन सक्छ । यस्तो बेला त्यसबाट टाढा रहनुहोस् । यदि कतै झगडा वा उत्तेजना देख्नुभयो भने त्यसमा संलग्न नहुनुहोस् । बरु सुरक्षित स्थानमा जानुहोस् र ठूला मान्छेलाई खबर गर्नुहोस् । शान्ति कायम राख्नु सबैको दायित्व हो । विद्यालय र समुदायमा निर्वाचनको महत्वबारे सकारात्मक चर्चा गर्नुहोस् । तपाईहरूले आफ्ना साथीहरूलाई पनि भन्न सक्नुहुन्छ । ‘निर्वाचन हाम्रो भविष्यको आधार हो, त्यसैले हामीले यसलाई सम्मान गर्नुपर्छ ।’ भाइबहिनीहरू, लोकतन्त्र केवल मतदानको दिन मात्र सीमित हुँदैन । यो दैनिक व्यवहारमा झल्किनुपर्छ, एकअर्काको विचार सुन्ने, फरक मतलाई सम्मान गर्ने, नियम पालना गर्ने, र जिम्मेवार नागरिक बन्ने अभ्यासबाट लोकतन्त्र बलियो हुन्छ । फागुन २१ गतेको निर्वाचन हाम्रो देशका लागि महत्वपूर्ण अवसर हो । तपाईहरू अहिले मतदाता नहुन सक्नुहुन्छ, तर भोलिका मतदाता र नेतृत्व तपाईहरू नै हुनुहुन्छ । आज सिकेको लोकतान्त्रिक मूल्यले भोलि तपाईहरूलाई जिम्मेवार नागरिक बनाउनेछ । मैले पहिलो पटक निर्वाचन भन्ने थाहा पाएको २०४३ सालमा हो । त्यतिवेला म कक्षा चारमा पढ्दथें । २०५४ साल यता मैले पटक पटक मतदान गरेको छु । कहिले स्थानीय तहको निर्वाचनमा त कहिले संघीय संसदको निर्वाचनमा । केही बर्ष पछि तपाईले पनि त्यो अधिकार पाउनुहुन्छ । १८ बर्ष पुगेको जो कोहीले मतदान गर्न पाउँछ । मतदान गर्न नपाउँदा पनि निर्वाचनलाई सफल बनाउनका लागि यहाँहरुको भूमिका महत्वपूर्ण हुन्छ । आजका लागि यिनै कुरा गर्दै तपाईहरले आफ्नो घर, विद्यालय र समुदायमा शान्ति, सद्भाव र सत्यको पक्षमा उभिनहुनेछ भन्ने अपेक्षाका साथ विदा हुन्छु ।

उहि तपाईको दाजु शरद ऋतु ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार