के के हुँदैछ तयारी ?
विमल योगी/राप्ती पोष्ट
दाङ, २ फागुन । दाङ जिल्लाको धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल पाण्डवेश्वर (धारपानी) मन्दिर परिसरमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि महाशिवरात्रिका अवसरमा लाग्ने ऐतिहासिक धारपानी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेला यही फागुन ३ गते सोमबारका दिन आयोजना हुँदैछ भने आज शनिबारदेखि फागुन ४ गतेसम्म विविध धार्मिक, सांस्कृतिक तथा व्यवस्थापकीय गतिविधिसहित सञ्चालन गरिने भएको छ ।
मन्दिर व्यवस्थापन समितिले शुक्रबार मन्दिर परिसरमै पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी, व्यवस्थापन योजना, सुरक्षात्मक प्रबन्ध, यातायात, पार्किङ, तथा सामाजिक अनुशासन सम्बन्धी विस्तृत जानकारी दिएको थियो । समितिका अध्यक्ष गणेश कुमार अधिकारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा यस वर्षको मेला विगतभन्दा अझ व्यवस्थित, अनुशासित र भक्तमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
मेलालाई व्यवस्थित, प्रभावकारी र सुरक्षित रूपमा सम्पन्न गर्न १६ वटा उपसमिति गठन गरिएको छ । ती उपसमितिहरूले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन् । मूल व्यवस्थापन समितिको संयोजकत्व अध्यक्ष अधिकारी स्वयंले सम्हाल्नुभएको छ । उपसमितिहरूमा सुरक्षा, स्वास्थ्य, यातायात व्यवस्थापन, सरसफाइ, विद्युत्, खानेपानी, सांस्कृतिक कार्यक्रम, प्रचार–प्रसार, आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन, पार्किङ व्यवस्थापन लगायतका क्षेत्र समेटिएका छन् ।
समितिले मेलामा अनुमानित हजारौँ भक्तजनको उपस्थितिलाई मध्यनजर गर्दै तीन सय ५१ जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ । स्वयंसेवकहरूलाई पहिचानयोग्य पोशाक तथा परिचयपत्र प्रदान गरिनेछ, जसले गर्दा भक्तजनलाई आवश्यक सहयोग, मार्गनिर्देशन तथा आकस्मिक अवस्थामा तत्काल समन्वय गर्न सहज हुने अपेक्षा गरिएको छ ।
महाशिवरात्रिको मुख्य दिन फागुन ३ गते बिहान ९ बजेर ३७ मिनेटदेखि १०ः३० बजेसम्म विशेष शिवपूजन तथा त्रिशूल सलामी कार्यक्रम तय गरिएको छ । समितिका अनुसार उक्त समयमा विशेष पूजा, आरती तथा धार्मिक अनुष्ठान सम्पन्न गरिनेछ । सो अवसरमा स्थानीय पुरोहितहरूद्वारा वैदिक मन्त्रोच्चारण गरिनेछ भने भक्तजनले पाण्डवेश्वर महादेवको दर्शन गरी पूजा–अर्चना गर्नेछन् ।

धारपानी मेला विशेषतः शिवभक्तहरूको आस्थाको केन्द्रका रूपमा परिचित छ । महाशिवरात्रिको दिन यहाँ दाङसहित बाँके, बर्दिया, रोल्पा, प्युठान लगायतका जिल्लाबाट भक्तजनहरू दर्शनका लागि आउने गर्दछन् । मेलामा सहभागी हुन आउने भक्तजनलाई सहज आवागमन सुनिश्चित गर्न घोराहीदेखि धारपानीसम्मको सडक खण्डमा रहेका खाल्डाखुल्डी पुर्ने तथा मर्मत गर्ने काम सम्पन्न गरिएको समितिले जनाएको छ । केही स्थानमा अस्थायी मर्मत गरी धुलो नियन्त्रण तथा सवारीसाधन सञ्चालन सहज बनाइएको छ ।
घोराही–धारपानी मार्गमा सञ्चालन हुने सवारीसाधनको भाडादर पनि निर्धारण गरिएको छ । समितिका अनुसार बसको एकतर्फी भाडा ७५ रुपैयाँ र अटो रिक्शाको १०० रुपैयाँ तोकिएको छ । अनियन्त्रित भाडा असुली हुन नदिन सम्बन्धित यातायात व्यवसायीहरूसँग समन्वय गरी दर सार्वजनिक गरिएको समितिको भनाइ छ ।
मेलालाई सभ्य, शान्तिपूर्ण र धार्मिक मर्यादाभित्र राख्न विशेष सुरक्षा तथा सामाजिक अनुशासन सम्बन्धी निर्णयहरू पनि गरिएको छ । समितिका अध्यक्ष अधिकारीले फागुन २ गतेदेखि ४ गतेसम्म मन्दिर वरपरको निश्चित क्षेत्रभित्र मदिरा तथा लागुपदार्थको बिक्री–वितरण र सेवन पूर्ण रूपमा निषेध गरिएको जानकारी दिनुभयो ।
निषेधित क्षेत्रको सिमाना स्पष्ट रूपमा तोकिएको छ । मन्दिरको पूर्वतर्फ रङघरा क्षेत्र, उत्तरतर्फ बबई नदी किनार, दक्षिणतर्फ पाण्डवेश्वर धार्मिक वन क्षेत्र र पश्चिमतर्फ घोराही–धारपानी पर्यटन मार्गको कालोपत्रे भागसम्म कसैले पनि मदिरा तथा लागुपदार्थ बेच्न वा सेवन गर्न पाउने छैन । यस निर्णयले मेलामा हुने सम्भावित उच्छृङ्खल गतिविधि, झैँ–झगडा, चोरी–डकैती वा अन्य अपराधजन्य गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । आवश्यक परेमा स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोग पनि लिइने जनाइएको छ ।
मेलाका दिन सवारीसाधनको अत्यधिक चाप हुने भएकाले अव्यवस्थित पार्किङका कारण हुने जाम तथा दुर्घटना न्यूनीकरण गर्न सशुल्क पार्किङको व्यवस्था गरिएको छ । समितिका सचिव तथा प्रचार–प्रसार उपसमितिका संयोजक विष्णुराम आचार्यका अनुसार पार्किङ दर यसप्रकार निर्धारण गरिएको छ । ठूला बस र ट्रकको प्रति पटक ८० रुपैयाँ, मिनीबस र साना ट्रकको ५० रुपैयाँ, कार तथा जिपको ३० रुपैयाँ, ठूला ट्र्याक्टर र अटोको २० रुपैयाँ, पावर टेलरको ४० रुपैयाँ तथा मोटरसाइकलको १० रुपैयाँ तोकिएको छ । पार्किङ शुल्कबाट उठेको रकम मेलाको व्यवस्थापन, सरसफाइ तथा अन्य आवश्यक कार्यमा खर्च गरिने समितिले जनाएको छ ।
मेलामा ठूलो संख्यामा भक्तजन आउने भएकाले सरसफाइलाई प्राथमिकतामा राखिएको छ । अस्थायी शौचालयको व्यवस्था, फोहोर व्यवस्थापनका लागि डस्टबिनको जडान, तथा नियमित सरसफाइ टोली परिचालन गरिनेछ । स्वास्थ्यसम्बन्धी आकस्मिक अवस्था सामना गर्न प्राथमिक उपचार कक्षको व्यवस्था गरिने तयारी छ । स्थानीय स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूलाई प्राथमिक उपचार सामग्रीसहित तयारी अवस्थामा राखिनेछ । धारपानी मेला केवल धार्मिक अनुष्ठान मात्र नभई स्थानीय अर्थतन्त्रसँग पनि जोडिएको छ । मेलाका अवसरमा स्थानीय उत्पादन, हस्तकला सामग्री, खाद्य परिकार, खेलौना तथा अन्य व्यापारिक स्टलहरू सञ्चालन हुने गर्दछन् । यसले स्थानीय व्यवसायी, किसान तथा उद्यमीलाई आम्दानीको अवसर प्रदान गर्ने गर्दछ ।
पत्रकार सम्मेलनमा समितिले सम्पूर्ण भक्तजन, स्थानीयवासी तथा व्यवसायीहरूलाई मेलालाई शान्तिपूर्ण र सभ्य बनाउन सहयोग गर्न आग्रह गरेको छ । धार्मिक स्थलको मर्यादा कायम राख्दै अनुशासित सहभागिता जनाउन सबैमा अपिल गरिएको छ । अध्यक्ष अधिकारीले भन्नुभयो, “धारपानी मेला हाम्रो सांस्कृतिक तथा धार्मिक पहिचान हो । यसलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न सबैको सहकार्य आवश्यक छ ।” यस वर्षको तयारीलाई हेर्दा धारपानी मेला विगतका वर्षभन्दा अझ व्यवस्थित, अनुशासित र सहभागितामूलक हुने संकेत देखिएको छ । धार्मिक आस्था, सामाजिक सद्भाव र स्थानीय विकासलाई जोड्ने यो मेला सफलतापूर्वक सम्पन्न होस् भन्ने कामनासहित सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ ।



