spot_img
spot_img

सञ्जीवनी टिचिङ हस्पिटलबाट सेवा शुभारम्भ हुँदै

तत्कालका लागि तीन सय बेड
हरेक महिना निःशुल्क शिविर चल्ने
दुई महिनासम्म नाम लेखाउन पैसा नलाग्ने
३५ जना दक्ष चिकित्सक उपलव्ध

राप्ती पोष्ट

दाङ, माघ । दाङबाट अब गम्भीर बिरामी लिएर नेपालगञ्ज, भैरहवा वा काठमाडौं धाउनुपर्ने बाध्यताबाट क्रमशः मुक्त हुने अवस्थामा पुगेको छ । ‘Care For All अर्थात् सबैको ख्याल राखौँ भन्ने मूल नारासहित घोराही उपमहानगरपालिका–३ बर्गदुवा भानपुरमा स्थापना गरिएको सञ्जीवनी टिचिङ हस्पिटलले अत्याधुनिक प्रविधिसहितको बहुविशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने अन्तिम तयारी गरेको छ ।

केही महिना अघि औपचारिक उद्घाटन गरिएको भएपनि सेवाको शुभारम्भ भने भोली माघको २८ गतेबाट गरिने भएको छ । आन्तरिक रुपमा गर्नुपर्ने तयारीका कामहरु गर्दै जाँदा केही ढिलाई भएको सञ्जीवनी टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत दिपक रोकाले बताउनुभयो । उहाँका अनुसार भवन निर्माणको काम २०७८ सालमा निर्माण कार्य सुरु गरिएको सञ्जीवनी टिचिङ हस्पिटलले दाङ लगायत पश्चिम नेपालमै उत्कृष्ठ सेवा दिने तयारी गरिरहेको छ । रोकाले अव दाङ जिल्लाबाट बाहिर उपचारका लागि जाने एम्वुलेन्स सवै बन्द हुने दावी गर्नुभयो ।

निजी क्षेत्रको लगानीमा स्थापना भए पनि अस्पतालले आम नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्ने योजना बनाएको छ । दाङ मात्र होइन, रोल्पा, प्युठान, सल्यान, रुकुम पूर्व र पश्चिमलगायत आसपासका जिल्लाका नागरिकहरू यस अस्पतालका मुख्य सेवाग्राही रहने छन् । सञ्जीवनी टिचिङ हस्पिटल स्थापना गर्नुपूर्व दाङ क्षेत्रमा सम्भावनाका बारेमा अध्ययन गरिएको पनि उहाँले बताउनुभयो । ‘धेरै अध्ययन अनुसन्धानपछि सञ्जीवनी टिचिङ हस्पिटल खोल्ने योजना बनेको हो ।’ उहाँले भन्नुभयो ।

हाल सञ्जीवनी टिचिङ हस्पिटल तीन सय शैयाको मल्टिस्पेसियलिटी अस्पतालका रूपमा सञ्चालनमा आउनेछ । जसमा ओपिडी सेवाअन्तर्गत जनरल फिजिसियन, हाडजोर्नी, नाक–कान–घाँटी, स्त्री तथा प्रसूति, जनरल सर्जरी, मानसिक रोग, स्नायु रोग, छाला तथा यौन रोग, बालरोग, मुटुरोग, ग्यास्ट्रोएन्टेरोलोजी, नेत्ररोग तथा फिजियोथेरापी सेवा उपलब्ध हुनेछन् ।

अस्पतालको अर्को महत्वपूर्ण पक्ष भनेको क्रिटिकल केयर सेवा हो । आईसीयू, एसआईसीयू, एमआईसीयू, पीआईसीयू, एनआईसीयू तथा एचडीयू सेवा उपलब्ध गराइएकाले जटिल अवस्थाका बिरामीलाई जिल्लामै उपचार सम्भव हुने दावी ग्रिएको छ । यसले समयमै उपचार नपाएर हुने मानवीय क्षतिलाई न्यूनिकरण गर्ने अपेक्षा गरिएको छ । सञ्जीवनी टिचिङ हस्पिटलमा आधुनिक प्रविधियुक्त डायग्नोस्टिक सेवा समेत उपलब्ध छन् । डिजिटल एक्स–रे, सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउन्ड, इन्डोस्कोपी र कोलोनोस्कोपी सेवाले बिरामीको रोग पहिचान छिटो र प्रभावकारी बनाउन सहयोग पु¥याइरहेको छ ।

त्यसैगरी अस्पतालमा फार्मेसी, प्रयोगशाला, ब्लड बैंक तथा एम्बुलेन्स सेवा समेत सञ्चालन गरिनेछ । २४ घण्टा इमर्जेन्सी सेवा तथा मोडुलर अपरेशन थिएटरमार्फत सामान्यदेखि जटिल (मेजर) शल्यक्रियासमेत गरिनेछ । मेडिकल व्यवसायी खुमाप्रसाद अर्यालको छैठौं परियोजनाका रुपमा सञ्जीवनी टिचिङ हस्पिटल घोराहीमा संचालनमा आउँदैछ ।

सञ्जीवनी टिचिङ हस्पिटलले आफूलाई केवल उपचार केन्द्रमा सीमित नराखी शिक्षण अस्पतालका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य लिएको छ । अस्पताल व्यवस्थापनका अनुसार आगामी तीन वर्षभित्र शैयाको संख्या पाँच सय पु¥याउने योजना छ भने एमबीबीएससहित विभिन्न स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । ‘तत्कालका लागि एमविविएस र विडिएसका कक्षाहरु संचालन गरिनेछ ।’ प्रमुख प्रशासकिय अधिृकत अनिल अर्यालले बताउनुभयो ।

अस्पताल सञ्चालनसँगै हाल करिब तीन सय जनाले प्रत्यक्ष रोजगारी पाइसकेका छन् । चिकित्सक, नर्स, प्राविधिकदेखि प्रशासनिक कर्मचारीसम्मको सहभागिताले स्थानीय रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुग्ने विश्वास गरिएको छ । यसले दाङ क्षेत्रको समग्र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

अस्पतालले जनस्वास्थ्य ऐन २०७५, जनस्वास्थ्य सेवा नियमावली २०७७, स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ लगायत प्रचलित कानुनको पालना गर्दै सेवा प्रवाह गरिरहेको जनाएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत रोकाका अनुसार, ‘सञ्जीवनी टिचिङ हस्पिटल आम नागरिकको पहुँचमा गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सञ्चालनमा आएको हो । स्थानीय नागरिक, राजनीतिक दल, पेशाकर्मी, व्यवसायी तथा संघ–संस्थाबाट निरन्तर सहयोगको अपेक्षा गरेका छौँ ।’

स्वास्थ्य सेवा काठमाडौंकेन्द्रित हुँदै गएको सन्दर्भमा दाङ देउखुरीमै अत्याधुनिक सुविधासहितको शिक्षण अस्पताल सञ्चालनमा आउनु दाङ र आसपासका जिल्लाका लागि मात्र होइन, लुम्बिनी प्रदेशकै स्वास्थ्य क्षेत्रका लागि पनि महत्वपूर्ण उपलब्धि मानिएको छ । अस्पतालले सामाजिक जिम्मेवारी अन्तरगत आगामी चैत महिनासम्म उपचारका लागि आउने विरामीको नाम लेख्ने शुल्क निशुल्क गर्ने भएको छ । यस्तै हरेक महिना दुर्गम क्षेत्रमा एउटा निशुल्क स्वास्थ्य शिविर संचालन हुनेछ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार