राप्ती पोष्ट
घोराही, माघ । पूर्वी रुकुमको मौलिक खानाको स्वाद अब घोराहीमै चाख्न पाइने भएको छ । घोराही उपमहानगरपालिका–१५ भिङ्ग्रेली चोकमा ‘नविलक रेष्टुरेन्ट’ सञ्चालनमा आएसँगै रुकुमेली परिकारका पारखीहरूका लागि नयाँ गन्तव्य थपिएको छ । रुकुम जिल्लाबाटै ल्याइएका खाद्य सामग्री प्रयोग गरेर परिकार तयार गरिने यो रेष्टुरेन्टले छोटो समयमै ग्राहकको ध्यान तान्न सफल भएको छ ।
पूर्वी रुकुमको सिस्ने गाउँपालिका निवासी तिलक खड्काको लगानी र पहलमा सञ्चालनमा आएको नविलक रेष्टुरेन्टले रुकुमको मौलिकता र स्वादलाई दाङसम्म ल्याउने उद्देश्य राखेको छ । गाउँघरमा उत्पादन हुने अर्गानिक खाद्य सामग्रीलाई प्राथमिकतामा राख्दै सुरु गरिएको यो रेष्टुरेन्टमा पाइने खानाले रुकुमको पहिचान झल्काउने गरेको ग्राहकहरूको अनुभव छ ।
रेष्टुरेन्टमा प्रयोग हुने अधिकांश खाद्य सामग्री रुकुम जिल्लाबाटै ल्याइन्छ । अर्गानिक रूपमा खेती गरिएका तरकारी, चामल तथा गेडागुडीसँगै सानी भेरी नदीका माछा यहाँको मुख्य आकर्षण बनेका छन् । विशेषगरी सानी भेरीको असला माछा खान पाइने सुविधा घोराहीका लागि नौलो मानिन्छ । साथै सिस्ने रुकुमबाट ल्याइएको सिमीको दाल, कालो चामल, रातो चामल, कोदोको रोटी तथा पानी घट्टमा पिसिएको गहुँको पिठोबाट बनाइने रोटीले रुकुमेली स्वादको झल्को दिन्छ ।
रेष्टुरेन्टमा लोकल कुखुराको मासु, खसीको सुकुटी जस्ता परिकार पनि उपलब्ध छन् । गाउँघरमा जस्तै मसला र पकाउने तरिका अपनाइने भएकाले यहाँको खाना घरको स्वादसँग नजिक रहेको ग्राहकहरूको प्रतिक्रिया छ । आधुनिक फास्टफुडभन्दा फरक ढंगले मौलिक र पोषिलो खानालाई प्राथमिकता दिइएको खड्काले बताउनुभयो । करिब आठ लाख रुपैयाँ लगानीमा सञ्चालनमा आएको नविलक रेष्टुरेन्टले स्थानीय स्तरमै रोजगारीसमेत सिर्जना गरेको छ । हाल रेष्टुरेन्टमा तीन जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । भविष्यमा सेवा विस्तारसँगै रोजगारी संख्या थप गर्ने योजना रहेको सञ्चालक खड्काको भनाइ छ ।
मूल्यको हिसाबले पनि रेष्टुरेन्टलाई सर्वसुलभ बनाइएको छ । कुखुराको मासु वा माछा खाना खाँदा प्रतिव्यक्ति ४५० रुपैयाँ पर्ने व्यवस्था छ । सादा खाना १५० रुपैयाँमा उपलब्ध छ भने रातो चामलको भातसहित सादा खाना खाँदा २०० रुपैयाँ शुल्क लाग्ने गरेको छ । स्वाद, मात्रा र मूल्यको सन्तुलन मिलेकाले ग्राहक सन्तुष्ट देखिन्छन् । यसका साथै सिस्नोको तरकारी पनि उपलव्ध हुने गरेको छ । यो पनि रुकुमबाटै ल्याइन्छ ।
रेष्टुरेन्टमा आएर खाना खाएपछि रुकुमकै स्वाद आउने गरेको अनुभव रुकुमबाट दाङ आएका विनोद केसी सुनाउनुहुन्छ । ‘घोराहीमा आएर सानी भेरीको माछा खान पाउँदा घर सम्झिएजस्तो लाग्छ ।’ उहाँले भन्नुभयो, ‘रुकुममा पाइने स्वाद र सामग्री यहाँ पनि पाउँदा धेरै खुशी लागेको छ ।’ उहाँले आफूले नविलकमा आएर ढिडो खाँदा गाउँघरमा खाएकै झल्को आएको पनि सुनाउनुभयो ।
नविलक रेष्टुरेन्टमा रुकुमबाट दाङ आएका मानिस मात्र होइन, घोराही र आसपासका स्थानीय बासिन्दाहरू पनि नियमित रूपमा खान आउने गरेका छन् । पछिल्लो समय अर्गानिक खाना र मौलिक स्वादप्रति बढ्दो आकर्षणका कारण रेष्टुरेन्टमा दैनिक ग्राहकको संख्या बढ्दै गएको सञ्चालक बताउँछन् । सञ्चालक खड्काका अनुसार उहाँले यसअघि रुकुममै होटल व्यवसाय सञ्चालन गर्नुभएको अनुभव छ । त्यही अनुभवका आधारमा दाङमा पनि फरक स्वाद र पहिचानसहितको रेष्टुरेन्ट खोल्ने सोच बनेको हो । ‘शहरमा धेरै रेष्टुरेन्ट छन्, तर गाउँको वास्तविक स्वाद कमै पाइन्छ ।’ उहाँले भन्नुभयो, ‘त्यही अभावलाई महसुस गरेर रुकुमको अर्गानिक सामग्री प्रयोग गरी यो रेष्टुरेन्ट सुरु गरेका हौं ।’
खानाको स्वाद, सरसफाइ र पाहुनाप्रति अपनाइने व्यवहारका कारण ग्राहकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको उहाँको भनाइ छ । ‘खाना खान आउने अधिकांशले पुनः आउने प्रतिबद्धता जनाउनुहुन्छ, यही नै हाम्रो लागि सबैभन्दा ठूलो सफलता हो ।’ खड्काले थप्नुभयो । रेष्टुरेन्टमा एक पटकमा करिब २० जनालाई सजिलै खाना खुवाउन सकिने क्षमता रहेको छ । कसैले सामूहिक रूपमा अर्डर गरेमा अग्रिम जानकारीका आधारमा आवश्यक परिकार तयारी गरिदिने व्यवस्था समेत गरिएको छ । यसले पारिवारिक जमघट, समूहगत भेटघाट तथा कार्यालयस्तरका कार्यक्रमका लागि समेत रेष्टुरेन्ट उपयुक्त बन्दै गएको छ ।

रुकुमेली खानाको स्वादसँगै यहाँ प्रयोग हुने सामग्रीले स्थानीय कृषि र उत्पादनलाई समेत प्रवद्र्धन गरेको छ । गाउँबाट सिधै ल्याइने अन्न, दाल, तरकारी र मासुले किसानको उत्पादनलाई बजारसँग जोड्ने काम गरिरहेको छ । यसले एकातर्फ ग्रामीण अर्थतन्त्रलाई सहयोग पु¥याएको छ भने अर्कोतर्फ शहरका उपभोक्तालाई स्वस्थ र गुणस्तरीय खाना उपलब्ध गराएको छ ।
खानामा मौलिकता, स्वादमा अपनत्व र सेवामा सरलता भएकाले नविलक रेष्टुरेन्ट छोटो समयमै घोराहीको चर्चित खानास्थल बन्न थालेको छ । रुकुमको पहिचान बोकेको यो रेष्टुरेन्टले दाङको खाद्य संस्कृतिमा नयाँ रंग थपेको स्थानीयहरूको बुझाइ छ । रुकुमको स्वाद दाङमै पाइएपछि हरेक दिन खानाका लागि आउनेहरूको संख्या बढ्दै गएको छ । गाउँको मौलिकता र शहरको सहजतालाई जोड्ने नविलक रेष्टुरेन्टले भविष्यमा रुकुमेली खानालाई अझ व्यापक रूपमा चिनाउने अपेक्षा गरिएको छ ।



