शरद अधिकारी
राजनीति भन्ने शब्द सुन्नासाथ धेरै मानिसको मनमा शक्ति, सत्ता, दल, चुनाव, भाषण र विवादको चित्र आउँछ । कतिपयका लागि राजनीति सेवा हो भने कतिपयका लागि यो स्वार्थ, अवसरवाद र सत्ताको खेल मात्र बनेको छ । वास्तवमा राजनीति समाजलाई दिशानिर्देश गर्ने, राज्यलाई चलायमान बनाउने र नागरिकको जीवनस्तर उकास्ने सबैभन्दा शक्तिशाली माध्यम हो । तर जब यही राजनीति आफ्नै मूल्य, मान्यता र नैतिकताबाट विचलित हुन्छ, तब त्यसको गर्भबाट ‘अराजनीति’ जन्मिन्छ । आज नेपाली समाजले भोगिरहेको संकटको मूल कारण यही राजनीति भित्र हुर्किरहेको अराजनीति हो । राजनीति के हो ? भन्ने प्रश्नको उत्तर सरल देखिए पनि यसको गहिराइ अत्यन्त व्यापक छ । राजनीति मूलतः राज्यसत्ता सञ्चालन गर्ने कला र विज्ञान हो । समाजका फरक–फरक वर्ग, समुदाय र विचारबीच सन्तुलन कायम गर्दै साझा हितका लागि नीति निर्माण र कार्यान्वयन गर्नु नै राजनीति हो । राजनीति शक्ति प्राप्त गर्ने मात्र होइन, त्यो शक्तिलाई कसरी प्रयोग गरिन्छ भन्ने नै यसको आत्मा हो । जब शक्ति जनताको हितमा प्रयोग हुन्छ, त्यही राजनीति लोककल्याणकारी बन्छ । जब शक्ति सीमित व्यक्तिको लाभका लागि दुरुपयोग हुन्छ, त्यहीँबाट अराजनीतिक प्रवृत्तिको सुरुवात हुन्छ ।
राजनीति किन आवश्यक छ भन्ने प्रश्न अझ महत्वपूर्ण छ । यदि राजनीति नहुने हो भने समाज दिशाविहीन हुन्छ । विकास, समानता, न्याय, अधिकार र कर्तव्यको सुनिश्चितता राजनीतिबिनाको समाजमा सम्भव हुँदैन । शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, सुरक्षा र कूटनीति सबै राजनीतिक निर्णयकै उपज हुन् । राजनीति समाजको मेरुदण्ड हो । तर मेरुदण्ड कमजोर भए शरीर जस्तै ढल्छ, राजनीति कमजोर र विकृत हुँदा राज्य र समाज पनि अस्थिर बन्छ । राजनीतिले के गर्दछ त ? राजनीतिले संविधान निर्माण गर्छ, कानुन बनाउँछ, सरकार गठन गर्छ, बजेट विनियोजन गर्छ र राज्य संयन्त्र सञ्चालन गर्छ । यसले नागरिकको अधिकार सुरक्षित गर्छ, सामाजिक न्यायको ढोका खोल्छ र विकासको मार्गचित्र कोर्छ । राजनीतिक नेतृत्वले सही दृष्टिकोण राखेमा मुलुक छोटो समयमै समृद्धिको दिशामा अघि बढ्न सक्छ । विश्वका धेरै मुलुक यसको उदाहरण हुन् । तर राजनीतिले के गर्दैन ? राजनीतिले व्यक्तिगत लोभ पूरा गर्न हुँदैन, नातावाद र कृपावादलाई प्रश्रय दिन हुँदैन, जनताको विश्वास बेच्न हुँदैन । राजनीतिले अपराधीकरणलाई संरक्षण गर्न हुँदैन र लोकतान्त्रिक मूल्यलाई कमजोर पार्न हुँदैन । जब राजनीति यस्ता कार्यमा संलग्न हुन्छ, त्यो राजनीति रहँदैन, अराजनीति बन्छ ।
राजनीति गर्नेमा कस्ता संस्कार आवश्यक छन् भन्ने प्रश्न अत्यन्त गम्भीर छ । राजनीति मूलतः संस्कार र चरित्रको परीक्षा हो । राजनीतिज्ञमा इमानदारी, त्याग, सहनशीलता, पारदर्शिता, जवाफदेहिता र राष्ट्रिय हितप्रतिको निष्ठा अनिवार्य हुनुपर्छ । सत्ता अस्थायी हो तर नैतिकता स्थायी हुन्छ भन्ने चेत राजनीतिज्ञमा हुनुपर्छ । विचार फरक हुन सक्छ तर विचारका नाममा घृणा, विभाजन र हिंसा फैलाउनु राजनीतिक संस्कार होइन । राजनीति गर्नेले भुल्न नहुने कुरा एउटै हो—राजनीति जनताको सेवा हो, व्यापार होइन । जनताले दिएको मत कुनै वस्तु होइन जसलाई सत्तासँग साट्न मिलोस् । राजनीति जनभावनाको जिम्मेवारी हो । यो जिम्मेवारी बिर्सँदा नै राजनीतिज्ञ जनताबाट टाढिँदै जान्छन् । नेपालको राजनीतिमा पछिल्ला दशकमा अराजनीतिक घटनाक्रमहरू तीव्र रूपमा देखिएका छन् । विशेषतः २०७४ पछि बनेका सरकारहरू, संसदको अभ्यास र दलगत व्यवहारले यो प्रवृत्ति झनै उजागर गरेको छ । दलभित्र विचारभन्दा पद र गुट हावी हुनु, चुनावी घोषणापत्र कागजमै सीमित हुनु, सरकार गठन र विघटनको खेल निरन्तर दोहोरिनु, सत्ताका लागि अस्वाभाविक गठबन्धन बन्नु र भत्किनु, यी सबै अराजनीतिक प्रवृत्तिका उदाहरण हुन् ।
संविधान जारी भइसकेपछि पनि राजनीतिक अस्थिरता अन्त्य हुन नसक्नु गम्भीर संकेत हो । २०७८ सालमा प्रतिनिधिसभा दुई पटक विघटन गरिनु, सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्नुपर्ने अवस्था आउनु र कार्यपालिका तथा न्यायपालिकाबीचको टकरावले लोकतान्त्रिक अभ्यासलाई नै प्रश्नको घेरामा ल्यायो । दुई तिहाइको सरकार टिक्न नसक्नु, संसद विघटनजस्ता असंवैधानिक अभ्यास, अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति र अदालतलाई समेत राजनीतिक विवादमा तानिनु अराजनीतिक मानसिकताकै परिणाम हुन् । राजनीतिमा अपराधीकरण अर्को डरलाग्दो पक्ष बनेको छ । पछिल्ला निर्वाचनहरूमा करोडौँ खर्च हुने चर्चा सार्वजनिक हुनु, ‘जित्न सक्ने’लाई मात्र टिकट दिने प्रवृत्ति र राजनीतिक आडमा कानुनी कारबाही रोकिनु सामान्य बन्दै गएको छ । यसले नीति होइन पैसा केन्द्रमा रहने राजनीति निर्माण गरेको छ । आपराधिक पृष्ठभूमिका व्यक्तिहरू राजनीतिक संरक्षणमा शक्तिशाली बन्नु, मुद्दा लागेकाहरू सांसद र मन्त्री हुनु, पैसाको बलमा टिकट वितरण हुनु लोकतन्त्रका लागि गम्भीर खतरा हो । यसले राजनीति शुद्ध प्रतिस्पर्धाको क्षेत्र होइन, शक्तिको अड्डा मात्र बनाउँदै लगेको छ ।
राजनीतिलाई पवित्र बनाउने वा प्रदूषित गर्ने दुवै शक्ति मानवमै निहित हुन्छ । यदि राजनीति मूल्य, नैतिकता र जनउत्तरदायित्वमा आधारित भयो भने यही राजनीति परिवर्तनको मूल शक्ति बन्छ । तर स्वार्थ, अहंकार र लोभले निर्देशित भयो भने यही राजनीति समाजको सबैभन्दा ठूलो अभिशाप बन्न पुग्छ । आजको आवश्यकता राजनीति त्याग होइन, राजनीति शुद्धीकरण हो । अराजनीतिक प्रवृत्तिविरुद्ध विचार, व्यवहार र साहसका साथ उभिन सक्नु नै साँचो राजनीतिक चेतना हो । जब राजनीति पुनः सेवा, सिद्धान्त र सदाचारमा फर्किन्छ, तब मात्र लोकतन्त्र बलियो हुन्छ र राष्ट्र समुन्नतिको यात्रामा अगाडि बढ्छ ।
नेपाली राजनीतिमा देखिएको अर्को अराजनीतिक अभ्यास भनेको जिम्मेवारीबाट पन्छिने संस्कार हो । सरकार परिवर्तन भएलगत्तै अघिल्लो सरकारले गरेका सबै निर्णय बदर गर्ने, विकास योजनामा निरन्तरता नदिने र पाँच वर्षे कार्यकाल पूरा नहुँदै सरकार ढल्ने क्रमले प्रशासनिक संयन्त्र नै थाकेको देखिन्छ । असफलता स्वीकार नगर्ने, गल्ती सुधार्न नचाहने र सधैं दोष अरूमाथि थोपर्ने प्रवृत्तिले राजनीति नैतिक रूपमा दिवालिया बन्दै गएको छ । जनताका समस्या समाधानभन्दा सत्ता जोगाउने चिन्ता हाबी हुँदा नीति निर्माण गौण बन्छ । राजनीतिक दलभित्रको लोकतन्त्र कमजोर हुनु पनि अराजनीतिक अवस्थाको गहिरो कारण हो । ठूला दलका महाधिवेशनहरूमा नीति बहसभन्दा नेतृत्व चयनको गणित हावी हुनु, फरक धार राख्ने नेताहरूलाई पाखा लगाइनु र पार्टी निर्णय सीमित घेरामा हुनु लोकतान्त्रिक संस्कारसँग मेल खाँदैन । नेतृत्व पुस्तौंदेखि एउटै व्यक्तिमा सीमित रहनु, महाधिवेशन औपचारिकतामा सीमित हुनु र फरक मत राख्नेलाई शत्रु ठान्नु दललाई संस्था होइन, व्यक्तिको गिरोह बनाउँछ । यस्तो दलले समाजमा लोकतान्त्रिक संस्कार विकास गर्न सक्दैन ।
राजनीतिलाई सङ्लो बनाउन के गर्नुपर्छ भन्ने प्रश्न अब विकल्प होइन, अनिवार्यता बनेको छ । हाल राजनीतिमा जे देखिएको छ यसले राजनीतिलाई झनै विशाक्त बनाउँदै लगेको छ । राजनीतिले नीति होइन संख्याको खेललाई प्राथमिकता दिएको छ । यसको मुल कारण भनेको दलभित्र आन्तरिक लोकतन्त्रको अभाव हो । अव दलभित्र लोकतन्त्र बलियो बनाउनु जरुरी छ । नेतृत्व चयन प्रतिस्पर्धात्मक र पारदर्शी हुनुपर्छ । कतिपय राजनीतिक दलहरुले बर्षौदेखि एउटै नेतृत्वमा चलिरहेका छन् । कतिपयले व्यक्तिका लागि पद सिर्जना गरेका छन् । नीति अनुसार व्यक्ति कि व्यक्तिका लागि नीति बनाउने भन्ने कुरा महत्वपूर्ण रहेको छ । यसकारण यो पनि राजनीति भित्रको अराजनीति नै हो । यसथै राजनीतिमा नैतिकताको पुनस्र्थापना अत्यावश्यक छ । कानून मात्र पर्याप्त हुँदैन, आत्मअनुशासन चाहिन्छ । सार्वजनिक पद धारण गर्ने व्यक्तिको सम्पत्ति विवरण, जीवनशैली र निर्णय प्रक्रियामा पारदर्शिता हुनुपर्छ । सञ्चारमाध्यम, नागरिक समाज र न्यायालयको भूमिका पनि स्वतन्त्र र जिम्मेवार हुन जरुरी छ ।
राजनीतिमा देखिएको अराजनीतिक अवस्थाले समाजका हरेक क्षेत्रमा गहिरो असर पारेको छ । संसदमा विधेयकभन्दा अवरोध बढी हुनु, महिनौँसम्म बैठक नबस्नु, सदन आन्दोलनको थलो बन्नु र महत्वपूर्ण कानुन अध्यादेशबाट ल्याइनु लोकतान्त्रिक अभ्यासका लागि चिन्ताजनक विषय हुन् । विकास योजनामा ढिलासुस्ती, बेरोजगारी बढ्नु, युवा पलायन तीव्र हुनु र राज्यप्रति निराशा फैलिनु यसको प्रत्यक्ष परिणाम हो । जब राजनीतिक नेतृत्व अस्थिर हुन्छ, प्रशासन दिशाहीन बन्छ र अर्थतन्त्र कमजोर हुन्छ । शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्र पनि राजनीतिक भागबण्डाको शिकार बन्दा सेवाको गुणस्तर खस्किएको छ । योग्यताभन्दा पहुँच हावी हुँदा संस्थागत क्षमता कमजोर हुँदै गएको छ । यसले दीर्घकालीन रूपमा राष्ट्रको प्रतिस्पर्धात्मक शक्ति घटाइरहेको छ । अराजनीतिक अवस्थाको अर्को गम्भीर प्रभाव भनेको लोकतन्त्रमाथि नै प्रश्न उठ्नु हो । जब जनताले राजनीतिबाट आशा होइन, निराशा मात्र पाउँछन्, तब निरंकुश सोचले ठाउँ पाउन थाल्छ । लोकतन्त्रको विकल्प खोज्ने आवाज बलियो हुनु आफैंमा खतराको संकेत हो ।
यद्यपि निराशाबीच पनि सम्भावना सकिदैन । शिक्षक, चिकित्सक, सहकारी पीडित, मिटरब्याज पीडितदेखि युवा समूहसम्म सडक आन्दोलनमा देखिएको चेतनाले राज्यलाई प्रश्न गरिरहेको छ । यी आन्दोलनहरूले राजनीति सुधारको दबाब सिर्जना गरिरहेका छन् । नेपालमा सचेत नागरिक वर्ग बढ्दै गएको छ । युवा पुस्ता प्रश्न गर्न थालेको छ । सामाजिक सञ्जाल र स्वतन्त्र पत्रकारिताले सत्ता निगरानीलाई तीव्र बनाएको छ । यही चेतनालाई सकारात्मक दिशामा लैजान सकियो भने राजनीति पुनः जनमुखी बन्न सक्छ । राजनीति भित्रको अराजनीति अन्त्य गर्न नेतृत्व मात्र होइन, नागरिक स्वयं पनि जिम्मेवार हुनुपर्छ । गलतलाई गलत भन्न सक्ने साहस, सहीलाई समर्थन गर्ने दृढता र चुनावमा विवेकपूर्ण निर्णय आवश्यक छ । लोकतन्त्र मत दिनुमा मात्र सीमित हुँदैन, निरन्तर खबरदारीमा आधारित हुन्छ ।
राजनीति मानिसले बनाउने प्रक्रिया हो । यतिवेला राजनीतिक नेतृत्वप्रति तिव्र अविश्वास देखिन्छ । लामो समयदेखि राजनीतिमा सक्रिय रहेका र देश चलाएको नेतृत्वलाई कमजोर बनाउनका लागि जे जस्तो गतिविधि भइरहेको छ यसले राज्य व्यवस्थालाई नै कमजोर बनाउँछ । इतिहासको कुरा गर्ने हो भने राजतन्त्रको समयमा कलिला राजाहरु भएको समयमा नै देश कमजोर बनेको थियो । यतिवेला राष्ट्रिय शक्ति बलियो छैन । देशको राजनीति अत्यन्त तरल अवस्थामा पुगेको छ । कतिवेला के हुने हो भन्न नसकिने अवस्थामा पुगेको छ । राजनीतिलाई पवित्र बनाउने वा प्रदूषित गर्ने दुवै शक्ति मानवमै निहित हुन्छ । यदि राजनीति मूल्य, नैतिकता र जनउत्तरदायित्वमा आधारित भयो भने यही राजनीति परिवर्तनको मूल शक्ति बन्छ । तर स्वार्थ, अहंकार र लोभले निर्देशित भयो भने यही राजनीति समाजको सबैभन्दा ठूलो अभिशाप बन्न पुग्छ । आजको आवश्यकता राजनीति त्याग होइन, राजनीति शुद्धीकरण हो । अराजनीतिक प्रवृत्तिविरुद्ध विचार, व्यवहार र साहसका साथ उभिन सक्नु नै साँचो राजनीतिक चेतना हो । जब राजनीति पुनः सेवा, सिद्धान्त र सदाचारमा फर्किन्छ, तब मात्र लोकतन्त्र बलियो हुन्छ र राष्ट्र समुन्नतिको यात्रामा अगाडि बढ्छ । राजनीति भित्र अराजनीतिले स्थान पाउन हुँदैन । अराजनीतिलाई त्याग्न सकियो भने राजनीतिक सरल तरिकाले अघि बढ्नेछ । होइन भने हामी झनै समस्याको भाषमा जाने निश्चित छ ।
sharadreetu@gmail.com




