नौ किलो चरेश सहित पक्राउ
राप्ती पोष्ट
दाङ, पुस । घोराही उपमहानगरपालिका–१३ बनगाउँचौतारी टोलबाट प्रहरीले ठूलो परिमाणको लागुऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले नौ किलोभन्दा बढी चरेश र जंगली जनावरको जस्तो देखिने सिङसमेत बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहका अनुसार गत सोमबार बिहान करिब ९ बजेर ३० मिनेटको समयमा बनगाउँचौतारी टोलस्थित सम्पदा बुढा विकको घरमा लागुऔषध चरेशको कारोबार भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो । सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुगेर चेकजाँच तथा खानतलासी गरेको थियो ।
प्रहरीले सो घरमा बस्दै आएका रुकुम (पूर्वी भाग) जिल्लाको भुमे गाउँपालिका–२ स्थायी घर भई हाल घोराही–१३ बनगाउँमा बसोबास गर्दै आएकी २९ वर्षीया रुपा बुढा मगर र रुकुमकै पुथा उत्तरगंगा गाउँपालिका–१ घर भएकी ३० वर्षीया हासी पुन मगरलाई फेला पारी नियन्त्रणमा लिएको हो । दुवै जनाको शरीर तथा घरभित्र सघन खानतलासी गर्दा कोठाभित्र राखिएको एउटा सुटकेसभित्र प्लास्टिकले प्याक गरी लुकाइछिपाइ राखिएको लागुऔषध चरेशजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको चरेश २० वटा पोकामा प्याक गरिएको अवस्थामा फेला परेको र त्यसको शुद्ध तौल नौ किलो छ सय १९ ग्राम रहेको प्रहरीको भनाइ छ । त्यस्तै, सोही झोलाभित्र जंगली जनावरको जस्तो देखिने सिङ दुई थानसमेत फेला पारिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बरामद सामग्रीलाई मुचुल्का उठाई नियन्त्रणमा लिइएको पनि प्रवक्ता शाहले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवै जनालाई लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन दाङ जिल्ला अदालत, घोराहीबाट सात दिनको म्याद थप गरिएको छ । प्रहरीले चरेस पक्राउ गरिएको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । बरामद जंगली जनावरको सिङको विषयमा समेत आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ । प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी शाहका अनुसार जिल्लामा लागुऔषध ओसारपसार, बिक्री तथा वितरण नियन्त्रण गर्न प्रहरी सक्रिय रूपमा परिचालित छ । उहाँले लागुऔषधजन्य अपराध समाजका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्दै यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो । स्थानीयस्तरमा लागुऔषध कारोबार बढ्दै गएको गुनासो आइरहेका बेला प्रहरीले गरेको यो कारबाहीलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
चरेशसहित थप दुई जना पक्राउ
यसैबीच घोराही उपमहानगरपालिका–१३ बनगाउँचौतारी टोलबाट लागुऔषध चरेशसहित थप दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले डेरा गरी बस्दै आएका एक महिला र एक पुरुषलाई नियन्त्रणमा लिँदै ठूलो परिमाणको चरेश बरामद गरेको हो ।
प्रहरीका अनुसार लागुऔषध राखी कारोबार तथा बिक्री–वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोली बनगाउँचौतारी टोलमा पुगेको थियो । चेकजाँचका क्रममा केवल प्रसाद गिरीको घरमा डेरा गरी बस्दै आएका व्यक्तिहरूले चामलको बोराभित्र प्लास्टिकले प्याक गरी लुकाइछिपाइ राखिएको लागुऔषध चरेशजस्तो देखिने पदार्थका चार वटा पोका फेला परेका थिए । बरामद गरिएको चरेशको तौल सात सय ७४ ग्राम रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरूमा रुकुम (पूर्वी भाग) जिल्लाको भुमे गाउँपालिका–२ स्थायी घर भई हाल घोराही उपमहानगरपालिका–१३ बनगाउँमा बसोबास गर्दै आएकी ३४ वर्षीया विनमाया पुन र सोही स्थानमा बस्दै आएका ३९ वर्षीय दीपक पुन मगर रहेका छन् । दुवै जनालाई घटनास्थलबाटै नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद लागुऔषध, प्रयोग गरिएका सामग्री तथा अन्य प्रमाणहरू समेत सुरक्षित रूपमा मुचुल्का उठाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जनालाई लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन दाङ जिल्ला अदालत, घोराहीबाट सात दिनको म्याद थप अनुमति लिइसकिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब शाहका अनुसार लागुऔषध ओसारपसार, बिक्री तथा वितरणविरुद्ध प्रहरी निरन्तर रूपमा सक्रिय रहेको र यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइनेछ । ‘गोप्य सूचनाको प्रभावकारी उपयोग गर्दै समुदायको सहयोगमा लागुऔषध नियन्त्रण अभियानलाई अझ सशक्त बनाइनेछ ।’ उहाँले भन्नुभयो । स्थानीयस्तरमा लागुऔषधको कारोबार बढ्दै गएको गुनासो आइरहेका बेला प्रहरीले गरेको यो कारबाहीलाई महत्वपूर्ण मानिएको छ । पछिल्लो समय घोराहीसहित दाङका विभिन्न स्थानमा लागुऔषध सम्बन्धी घटनाहरू बढ्दै गएकाले प्रहरी प्रशासनले निगरानी कडा बनाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले लागुऔषधजन्य अपराध नियन्त्रणमा नागरिकको भूमिका महत्वपूर्ण हुने भन्दै शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी हटलाइनमा जानकारी गराउन अनुरोध गरेको छ । प्रहरीले समाजलाई लागुऔषधमुक्त बनाउन कानुनी कारबाहीसँगै सचेतना अभियानलाई पनि निरन्तरता दिइने जनाएको छ ।



