spot_img
spot_img

कहाँ पुग्यो पूर्ण सरसफाई घोषणाको अभियान ?

शरद अधिकारी

पछिल्ला केही बर्षमा दाङ जिल्लाले स्वास्थ्य र स्वच्छताका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ । खासगरी दाङ जिल्ला खुला दिसामुक्त घोषणा भएपछि यो जिल्ला स्वास्थ्यका हिसावले अघि बढेको हो । खुल्ला दिसामुक्त घोषणा भएको १० वर्षभन्दा बढी समय वितिसकेको छ । जसले दाङ जिल्लाको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ । यसपछि जिल्लामा विभिन्न सामाजिक अभियानहरू सञ्चालन भइरहेका छन् । उदाहरणका लागि, घोराही उपमहानगरपालिकामा लैंगिक हिंसा मुक्त पालिका बनाउने अभियान चलिरहेको छ, जसले महिलाहरूको सुरक्षा र सशक्तीकरणलाई जोड दिइरहेको छ । यसैगरी, जिल्लाका अन्य पालिकाहरूमा बालमैत्री पालिका घोषणाका लागि काम भइरहेका छन् । दाङका १० पालिकामध्ये घोराही उपमहानगरपालिका २०७८ सालमा नै बालमैत्री घोषणा भएको थियो, जसले बालबालिकाको शिक्षा, स्वास्थ्य र विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ । अब अन्य पालिकाहरू पनि बालमैत्री घोषणाको तयारीमा लागिरहेका छन् । यी अभियानहरूले दाङलाई सामाजिक रूपान्तरणको दिशामा अघि बढाइरहेका छन् । तर, यतिमा मात्र रोकिनुहुँदैन । अब हामीले थाल्नु पर्ने अभियान भनेको पूर्ण सरसफाई पालिका घोषणाको अभियान हो । यो अभियानले खुला दिसामुक्त अवस्थालाई मात्र होइन, समग्र सरसफाई, स्वच्छता र वातावरणीय स्वास्थ्यलाई समेटेर दिगो विकासलाई प्रवद्र्धन गर्छ ।

पूर्ण सरसफाई पालिका अभियान भनेको के हो ?

यो एक व्यापक र दिगो अभियान हो, जसले खुला दिसामुक्त अवस्थालाई कायम राख्दै सरसफाई र स्वच्छतासँग सम्बन्धित सम्पूर्ण पक्षहरूलाई समेट्छ । यो अभियानले शौचालयको निर्माण र प्रयोगमा मात्र सीमित नभई सुरक्षित खानेपानी, हात धुने अभ्यास, फोहोरमैला व्यवस्थापन, सुरक्षित खाद्य स्वच्छता, वातावरणीय स्वच्छता र महिनावारी स्वच्छता व्यवस्थापन जस्ता सूचकहरूलाई पूरा गरी स्वच्छ, स्वस्थ र दिगो वातावरण सिर्जना गर्ने लक्ष्य राख्छ । नेपाल सरकारको पूर्ण सरसफाई मार्गदर्शन २०७३ अनुसार, यो अभियानले समुदायको स्वास्थ्य, वातावरणीय संरक्षण र सामाजिक आर्थिक विकासलाई प्रवद्र्धन गर्छ । यस अभियानको मूल उद्देश्य भनेको प्रत्येक घर, विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक स्थानमा सरसफाईका आधारभूत सुविधाहरू सुनिश्चित गर्नु हो । दाङ जिल्लामा यो अभियानको आवश्यकता यसकारण छ कि जिल्ला खुल्ला दिसामुक्त भएको १० वर्षपछि पनि फोहोरमैला व्यवस्थापन, खानेपानीको शुद्धीकरण र वातावरणीय प्रदूषण जस्ता चुनौतीहरू कायम छन् । यो अभियानले दाङलाई मात्र होइन, समग्र नेपाललाई दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा अघि बढाउँछ, जसले सन् २०३० सम्ममा सबैलाई सुरक्षित खानेपानी र सरसफाई सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । पूर्ण सरसफाई अभियान सामाजिक अभियानको रूपमा सञ्चालन हुन्छ, जसमा स्थानीय नेतृत्व, समुदायको सहभागिता र सरकारी समर्थनको संयोजन हुन्छ । यसले व्यक्ति, परिवार, समुदाय र संस्थाहरूलाई स्वच्छताप्रति जिम्मेवार बनाउँछ । दाङमा यो अभियान सुरु भएमा घोराही जस्ता शहरहरूमा लैंगिक हिंसा मुक्त र बालमैत्री अभियानसँग जोडेर एकीकृत रूपमा कार्यान्वयन गर्न सकिन्छ, जसले पालिकाहरूलाई बहुआयामिक विकासको मोडेल बनाउँछ ।
पूर्ण सरसफाई अभियानलाई सफल बनाउनका लागि नेपाल सरकारले विभिन्न योजना र नीतिहरू अघि सारेको छ । राष्ट्रिय खानेपानी, सरसफाई तथा स्वच्छता नीति २०८० ले पूर्ण सरसफाईलाई प्रमुख प्राथमिकतामा राखेको छ । यो नीतिले दिगो रूपमा पानीको स्रोत संरक्षण, सुरक्षित खानेपानी र सरसफाई सेवामा समान पहुँच, जल प्रदूषण नियन्त्रण र वातावरणीय सरसफाईको व्यवस्था गर्ने लक्ष्य राखेको छ । सरकारले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्नका लागि बहुपक्षीय अवधारणा अपनाएको छ, जसमा संघ, प्रदेश र स्थानीय तहको समन्वयमा वास, वाटर, सेनीटेशन र हाइजेनिक भन्ने योजना कार्यान्वयन हुन्छ । पूर्ण सरसफाई उन्मुख वातावरणमैत्री पालिका कार्यान्वयन निर्देशिका २०७८ र २०८२ ले स्थानीय तहमा सूचकहरू पूरा गर्ने प्रक्रिया निर्देशित गरेको छ । यी निर्देशिकाहरूले घर परिवार, वडा र पालिकास्तरमा सरसफाई सूचकहरू (जस्तैः शौचालय प्रयोग, खानेपानी पहुँच, फोहोर व्यवस्थापन) मूल्यांकन गरी घोषणा प्रक्रिया निर्धारण गर्छन् । सरसफाई सप्ताह २०८२ को नारा ‘सुरक्षित सरसफाई सेवामा समावेशीता हाम्रो प्रतिबद्धता’ ले अभियानलाई समावेशी बनाउने जोड दिएको छ ।

दाङ जिल्लामा सरकारले २०७७ सम्ममा पूर्ण सरसफाई युक्त जिल्ला बनाउने योजना अघि सारेको थियो, जसमा सरसफाई फोकल पर्सनहरूको नेतृत्वमा विभिन्न कामहरू सुरु गरेका थिए । हाल २०२५ मा यो योजना स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ, जसमा राप्ती गाउँपालिकाले पूर्ण सरसफाई युक्त बनाउने दीर्घकालीन लक्ष्य राखेको छ । सरकारले क्षमता विकास, तालिम, अनुगमन र लगानीका लागि आन्तरिक तथा वैदेशिक स्रोत परिचालन गर्ने योजना बनाएको छ । यसमा खानेपानी मन्त्रालयले समन्वय, सहजीकरण र नियमनको भूमिका खेल्छ, जबकि प्रदेश र स्थानीय तहमा विषयगत कार्यालयहरू गठन गरिएका छन् । यो अभियानलाई सार्थक बनाउनका लागि विभिन्न पक्षहरूले फरक–फरक भूमिका खेल्नुपर्छ ।

पूर्ण सरसफाइ पालिका घोषणाका लागि विभिन्न सूचकहरू तय गरिएको छ । अर्थात पूर्ण सरसफाई हुनका लागि निम्न सूचक पुरा भएको हुनुपर्छ ।

१. शौचालयको पूर्ण प्रयोगः हामीले शौचालय बनाएका छौं तर प्रयोगमा कति छन ? भन्नेमा हुनुपर्ने जति अनुगमन भएको छैन । पूर्ण सरसफाई हुनका लागि प्रत्येक घर, विद्यालय, स्वास्थ्य संस्था, र सार्वजनिक स्थानमा सुरक्षित र सुधारिएको शौचालयको व्यवस्था हुनुपर्छ । अर्थात खुला दिसा पूर्ण रूपमा निर्मूल भएको हुनुपर्छ । शौचालयको नियमित मर्मत र सरसफाइ सुनिश्चित हुनुपर्छ । दाङ जिल्ला खुल्ला दिसामुक्त भएपछि खुल्ला स्थानमा दिसा गर्ने क्रम रोकिएको छ तर यो पूर्ण रुपमा रोकिएको छैन भन्ने देखिन्छ । यसका लागि भएको शौचालय पूर्ण रुपमा प्रयोगमा आउनुपर्छ । यस्तै शौचालय मापदण्ड अनुसार हुनुपर्छ । सार्वजनिक स्थानमा शौचालय बनाइनुपर्छ । जहाँ बढी भिढभाड हुन्छ त्यस्तो स्थानमा शौचालयको संख्या बढाउुनुपर्छ ।
२. सुरक्षित खानेपानीको पहुँचः शौचालय पूर्ण सरसफाईको महत्वपूर्ण सूचक हो । शौचालय बनाउने तर पानी भएन भने त्यो शौचालयको कुनै अर्थ हुँदैन । यसर्थ पूर्ण सरसफाइका लागि सबै घरधुरीमा शुद्ध र सुरक्षित खानेपानीको पहुँच हुनुपर्छ । खानेपानीका स्रोतहरू (जस्तैः मुहान, इनार, धारा) संरक्षण र नियमित परीक्षण गरिएको हुनुपर्छ । पानीमा इकोली जस्ता हानिकारक जीवाणु नभएको सुनिश्चित गर्नुपर्छ । पानीको पहुँचको कुरा गर्ने हो भने अहिले पनि दाङ जिल्लामा ६२.२५ प्रतिशत नागरिकले पाइप प्रणालीमार्फत स्वच्छ खानेपानीको पहुँच प्राप्त गरेको तथ्यांक छ । जिल्लामा रहेका एक लाख ६२ दुई सय ६६ घरधुरीमध्ये एक लाख एक हजार आठ घरधुरीमा मात्रै पाइप प्रणालीबाट खानेपानीको सुविधा पुगेको छ । यद्यपि, यो तथ्यांकले पाइप प्रणालीमार्फत खानेपानीको पहुँचलाई मात्र जनाउँछ । स्वच्छ खानेपानीको गुणस्तर र नियमित आपूर्तिको सुनिश्चितता पालिकामा भिन्न भिन्न हुन सक्छ । अहिले पनि पाइपको पानी भन्दा कुवा, इनार र जरुवाको पानी प्रयोग गर्नुपर्ने बाध्यतामा दाङबासी रहेका छन् । जवसम्म सवैलाई स्वच्छ र स्वस्थ पानी पु¥याउन सकिदैन तवसम्म पूर्ण सरसफाई घोषणा कार्यक्रम पूर्ण हुन सक्दैन ।
३. हात धुने अभ्यासः अहिले पनि हामीले हात धुन जान्दैनौं भन्दा अचम्म लाग्छ । खाना खानु अघि, खाना खाएपछि, चर्पि गएर आएपछि वा अन्य कुनै काम गरेपछि साबुन र पानीले हात धुनुपर्छ भन्ने कुरा अहिले पनि सिकाउनुपर्ने भएको छ । अहिले पनि आफ्नै हात त हो नी भन्दै हात सफा नगरिकनै खाने गरेको देखिन्छ । कोरोनाको समयमा हात नमिलाउने चलन चलेको थियो । त्यो चलनलाई कायम राख्न सक्नुपर्दथ्यो । हातले के समाएको हुन्छ ? के प्रयोग गरेको हुन्छ ? के गरिएको हुन्छ थाहा नै हुँदैन ? हात नधोएर हामीले खानेकुरा खाइरहेका हुन्छौं । सफा हातले गर्नुपर्ने काम फोहर हातले गरिरहेका हुन्छैं । यसर्थ हात धुने बानीको व्यापक अभ्यास हुनुपर्छ, विशेष गरी खाना खानुअघि, शौचालय प्रयोग गरेपछि, र बच्चाको दिसा सफा गरेपछि हात धुनुपर्छ भन्ने बारेमा अभियान चलाउनुपर्ने भएको छ । अर्थात प्रत्येक घर र सार्वजनिक स्थानमा हात धुने सुविधा उपलब्ध हुनुपर्छ । पूर्ण सरसफाईको महत्वपूर्ण सूचकका रुपमा हात धुने बानीको विकास पनि रहेको छ ।
४. फोहोरमैला व्यवस्थापनः सरसफाईका लागि फोहरमैला व्यवस्थापन पहिलो शर्त हो । जहाँ फोहर हुन्छ त्यहाँ सफाई हुँदैन । फोहर नहुनका लागि सफा हुनुर्प । फोहरमैलदा व्यवस्थापनका लागि ठोस नीति तर्जुमा गर्नुपर्छ । घरको फोहर कसरी व्यवस्थापन गर्ने, सार्वजनिक स्थलको फोहर कसरी व्यवस्थापन गर्ने ? भन्ने बारेमा स्पष्ट नीति योजना बनाउनुपर्छ । फोहर एउटा ठोस हुन्छ, अर्को तरल हुन्छ । ठोस र तरल फोहोरको उचित व्यवस्थापन र पुनःप्रयोग वा सुरक्षित विसर्जनको व्यवस्था हुनुपर्छ । गाउँ, बस्ती, र सार्वजनिक स्थानहरू सफा र फोहोरमुक्त हुनुपर्छ । बजार क्षेत्रमा गल्ने र नगल्ने फोहरलाई बेग्ला बेग्लै संकलन गर्ने गरिएको छ । बजारमा फोहरमैला धेरै संकलन हुन्छ । बजारको फोहरलाई डम्पिङसाइटमा लग्ने र त्यहाँबाट ग्यास उत्पादन गर्ने तर्फ योजना बनाउनुपर्छ । यस्तै ग्रामिण क्षेत्रमा रहेको फोहरमैलालाई मलखादमा वा करेसाबारीमा व्यवस्थापन गर्ने वा खाडलमा हाल्ने गरी व्यवस्थापन गर्नुपर्छ । फोहरमैला व्यवस्थापन नगरिकन सफाईको काम सफल हुन सक्दैन ।

५. सुरक्षित खाद्य स्वच्छताः हामीले खाइरहेको खाना कस्तो छ ? हामीले बजारमा गएर खाने गरेको खानेकुरा कस्तो छ ? हाम्रो स्वस्थताका लागि पहिलो शर्त भनेको सुरक्षित र स्वस्थ खाना नै हो । खाना तयार गर्ने, भण्डारण गर्ने र खाने प्रक्रियामा स्वच्छताको मापदण्ड पालना गरिएको हुनुपर्छ । भान्सा र भाँडाकुँडा सफा राख्ने अभ्यास हुनुपर्छ । हाम्रा भान्साहरु कस्ता छन ? हामीले खाने गरेका बस्तुहरु कस्ता छन ? हामीले प्रयोग गरिरहेको तेल कस्तो छ ? तरकारी कस्तो छ ? अरु खाद्यान्न कस्तो छ ? यस्ता धेरै कुराहरुका बारेमा हामीले ख्याल गर्नुपर्नेछ । हामीले खाद्यान्नलाई कम प्राथमिकतामा राख्ने गरेका छौं । सफा खानेकुराले व्यक्तिको स्वास्थ्यलाई नै राम्रो र गुणस्तरिय बनाउँछ । पूर्ण सरसफाई हुनका लागि खानेकुराको स्वच्छतालाई ख्याल गर्नुपर्छ ।
६. वातावरणीय स्वच्छताः हामीले सोच्छौं कि आफ्नो घर र आँगन सफा भएपछि पुगिहाल्यो । हाम्रो घर र आगँन मात्रै सफा भएर हुँदैन । घर, आँगन मात्रै होइन, सडक चोक, गल्ली र सार्वजनिक स्थलहरू सफा राखिएको हुनुपर्छ । वृक्षारोपण र हरियाली प्रवद्र्धन जस्ता वातावरणमैत्री अभ्यासलाई प्रोत्साहन गरिएको हुनुपर्छ । यस बाहेक हामीले गर्ने फोहरमैलाको व्यवस्थापनले बातावरणीय स्वच्छतालाई मापन गर्दछ । हामीले केही कुरा खायौं भने त्यसको बोक्रा वा खोस्टा सडकमा फालेर हिड्छौं । एउटा मानिसका लागि यो सुहाउने कुरा होइन । एउटा विरालोले आची गरेपछि त्यसलाई पुरेर हिड्छ भने हामी मान्छे किन सडकमा फोहर गरेर हिडिरहेका छौं । सडकमा फालिने फोहर, घर छेंउमा बालिने फोहरले हाम्रो बातावरणलाई स्वच्छ हुन दिएको छैन ।
७. महिनावारी स्वच्छता व्यवस्थापनः पूर्ण सरसफाईका लागि महिलाहरूको महिनावारी स्वच्छताका लागि स्यानेटरी प्याड वा अन्य साधनको उचित प्रयोग र विसर्जनको व्यवस्था हुनुपर्छ । विद्यालय र सार्वजनिक शौचालयहरूमा लैंगिक तथा अपांगमैत्री सुविधा उपलब्ध हुनुपर्छ । आमाहरुको सहजताका लागि स्तनपान कक्षको व्यवस्था गर्ने कुरा त टाढाको कुरा भएको छ भने महिनाबारी स्वच्छता व्यवस्थापनको विषय त्यो भन्दा जटिल विषय हो भन्ने थाहा छ । तैपनि यो कोशीस गर्नुपर्छ कि महिलाहरुको महिनावारी स्वच्छताको विषय व्यक्तिको मात्रै विषय होइन । यो सार्वजनिक विषय हो । यो पूर्ण सरसफाइको विषय हो ।
 

पूर्ण सरसफाइका लागि समुदायको सक्रिय सहभागिता र चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको हुनुपर्छ । नियमित अनुगमन र मूल्यांकनमार्फत सूचकहरूको पालना सुनिश्चित गरिएको हुनुपर्छ । खुल्ला दिसामुक्त जिल्ला घोषणा भइसकेको अवस्थामा दाङ जिल्लालाई पूर्ण सरसफाई जिल्ला घोषणाका लागि धेरै काम गर्नु पर्दैन । तर यो काम भनेको विरालोको घाँटीमा घण्टी कसले बाँध्ने भन्ने जस्तो भएको छ । यो काम कसले गर्ने ? पहिले जिल्ला विकास समिति हुँदा खुल्ला दिसामुक्त अभियानको अगुवाई गरिएको थियो । प्राविधिक कामको संयोजन खानेपानी डिभिजन कार्यालयले गरेको थियो । अहिले जिल्ला विकास समिति छैन । जिल्ला समन्वय समिति छ । यो काम विहीन जस्तो भएको छ । यसैले पालिकाहरुले पूर्ण सरसफाई अभियानको अगुवाई गर्नुपर्छ । यसका साथै पूर्ण सरसफाई अभियानमा व्यक्ति, परिवार, समुदाय, संस्था र सरकारको संयुक्त प्रयास आवश्यक छ ।

व्यक्तिको भूमिका भनेको चर्पीको समुचित प्रयोग, सरसफाई, मर्मत र व्यक्तिगत स्वच्छता अपनाउनु हुन्छ । यसले स्वस्थकर बानी व्यवहार विकास गर्छ र समुदायलाई प्रेरित गर्छ । घर परिवारले शौचालय निर्माण, पानी र खानाको स्वच्छता कायम, फोहोर वर्गीकरण र घर आँगनको सरसफाईमा ध्यान दिनुपर्छ । परिवारले छिमेकीहरूलाई अभिप्रेरित गर्दै नमुना घरको रूपमा प्रस्तुत हुनुपर्छ । विद्यालय र शैक्षिक संस्थाहरूले सरसफाई विषयलाई पाठ्यक्रममा समावेश गरी बाल क्लब गठन, बाल–मैत्री शौचालय निर्माण र समुदायलाई सचेत बनाउने भूमिका खेल्नुपर्छ । यसले विद्यार्थीहरूलाई सरसफाईको दूत बनाउँछ । गाउँ टोल स्तरमा कार्ययोजना तर्जुमा, मुहान संरक्षण, सार्वजनिक शौचालय व्यवस्थापन र वृक्षारोपण जस्ता कामहरू गर्नुपर्छ । उपभोक्ता समितिहरू (खानेपानी र सरसफाई) ले आयोजना सञ्चालन, मर्मत र गुणस्तर नियन्त्रणमा जिम्मेवारी लिनुपर्छ । स्वास्थ्य संस्थाहरूले सरसफाई प्रवद्र्धन, तालिम र विपद् समयमा सहयोग गर्नुपर्छ । स्थानीय सरकार (पालिका) ले पूर्ण सरसफाई योजना तयार, पूर्वाधार विकास, अनुगमन र बजेट व्यवस्थापनमा नेतृत्व लिनुपर्छ । प्रदेश र संघीय सरकारले नीति निर्माण, समन्वय, लगानी र क्षमता विकासमा भूमिका खेल्छन् । गैरसरकारी संस्था र विकास साझेदारहरूले प्राविधिक सहयोग, तालिम र जागरण अभियान सञ्चालन गर्छन् । दाङमा यो भूमिका स्थानीय तहहरूले सक्रियतापूर्वक निर्वाह गरेमा अभियान सफल हुन्छ ।

यो अभियानलाई पूर्ण रूपमा सफल बनाउनका लागि केही महत्वपूर्ण कदमहरू अपनाउनुपर्छ । पहिलो, सरसफाई योजना तयार गरी प्रत्येक तहमा कार्यान्वयन गर्नुपर्छ, जसमा सरसफाई सूचकहरू (शौचालय, खानेपानी, हात धुने, फोहोर व्यवस्थापन) को मूल्यांकन हुन्छ । दोस्रो, क्षमता विकासका लागि तालिम र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्छ, जसमा स्थानीय जनशक्ति र समुदायको सहभागिता सुनिश्चित हुन्छ । तेस्रो, सामुदायिक सहभागिता बढाउन सचेतना अभियान, सप्ताह र मिडिया प्रयोग गर्नुपर्छ । चौथो, पूर्वाधार विकासमा लगानी बढाउनु पर्छ, जस्तैः शौचालय स्तरोन्नति, फोहोर प्रशोधन प्लान्ट र खानेपानी शुद्धीकरण प्रणाली । पाँचौं, नियमित अनुगमन र मूल्यांकन गर्नुपर्छ, जसका लागि समिति गठन र तथ्यांक संकलन आवश्यक छ । छैटौं, कानूनी व्यवस्था मजबुत बनाउनु पर्छ, जसमा सरसफाई ऐन र नियमावली कार्यान्वयन हुन्छ । सातौं, जलवायु परिवर्तन र विपद् जोखिमलाई समेटेर उत्थानशील योजना बनाउनुपर्छ । दाङमा यी कदमहरू अपनाएमा पूर्ण सरसफाई घोषणा सम्भव छ । अर्थात यसका लागि धेरै लामो समय लाग्दैन । यसले स्वास्थ्य सुधार, रोग नियन्त्रण र आर्थिक विकासमा योगदान पु¥याउँछ ।

पूर्ण सरसफाई पालिका अभियान दाङ जिल्लाका लागि एक आवश्यक र समयमै गर्नुपर्ने विषय हो । यो अभियानले पूर्ण सरसफाई को सफलतालाई आधार बनाएर स्वच्छ र स्वस्थ समाज निर्माण गर्छ । सरकारका योजनाहरू, विभिन्न पक्षहरूको भूमिका र आवश्यक कदमहरूले यसलाई सफल बनाउन सकिन्छ । दाङका पालिकाहरूले एकजुट भएर यो अभियान थाल्नु पर्छ, जसले जिल्लालाई नेपालकै नमुना बनाउँछ । यसले मात्र होइन, समग्र राष्ट्रिय विकासमा योगदान पु¥याउँछ । के बुझ्नुपर्छ भने पूर्ण सरसफाइ पालिका एक दिगो र व्यापक सरसफाइ अवधारणा हो जसले समुदायको स्वास्थ्य, वातावरण, र सामाजिक–आर्थिक विकासमा योगदान पु¥याउँछ । यसका सूचकहरूले शौचालय, खानेपानी, व्यक्तिगत स्वच्छता, फोहोर व्यवस्थापन, र सामुदायिक जागरूकतालाई समेट्छ । यी सूचकहरूको पालना र नियमित अनुगमनले मात्र पूर्ण सरसफाइ पालिकाको लक्ष्य प्राप्त गर्न सकिन्छ । नेपाल सरकार खानेपानी मन्त्रालयले सन् २०३० सम्ममा सबैका लागि दिगो र पूर्ण सरसफाइ सुनिश्चित गर्ने घोषणा गरेको छ । यसको प्रमुख उद्देश्यभ नेको खानेपानी, सरसफाइ, र स्वच्छतामार्फत वातावरणीय स्वच्छता र जनजीवनको गुणस्तर सुधार गर्ने रहेको छ । यसको प्रमुख ध्यान समुदायको सहभागिता, स्थानीय नेतृत्व, र वैज्ञानिक फोहोर व्यवस्थापनलाई प्रोत्साहनमा जाने नीति रहेको छ । पूर्ण सरसफाइ मार्गदर्शन २०७३ ले नेपालमा सरसफाइ र स्वच्छताको दिगो विकासका लागि स्पष्ट दिशानिर्देश प्रदान गरेको छ । यसले समुदायको स्वास्थ्य सुधार, वातावरण संरक्षण, र सामाजिक आर्थिक विकासमा योगदान पु¥याउँछ । स्थानीय तहको सक्रियता, समन्वय, र जनचेतनाले यो लक्ष्य प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्छ । स्थानीय तह आफैले अनेकन अभियान चलाइरहेका छन् । पालिकाका तर्फबाट अनेकन योजना अघि सारेका छन् । सोही अभियानमा पूर्ण सरसफाई अभियानलाई मिसाउँदै अघि बढ्नुपर्छ । दाङ जिल्लालाई पूर्ण सरसफाई घोषणाका लागि गर्नुपर्ने कामका लागि सवै तयार बनौं, अव अवेर नगरौं । यो अभियानमा सवै सहभागि बनौं । sharadreetu@gmail.com

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार