सडक निर्माणको बाचा पुरा गर्दै घोराही

कतै भाइरल रोड, कतै सहज आवागमन

विमला घर्ती/राप्ती पोष्ट

घोराही, २८ चैत । घोराही उपमहानगरपालिकामा पाँच बर्ष अघि बर्तमान नेतृत्व आउँदा गरेको एउटा घोषणा थियो–‘सडकको सुविधा जताततै–यातायातको अभाव हुने छैन कतै ।’ घोराही उपमहानगरपालिमा नेकपा एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा सिता सिग्देल न्यौपाने उमेदवार हुँदै गर्दा गरेका धेरे बाचा मध्य सडक सम्वन्धी बाचा पनि प्रमुख थियो । नेकपा एमालेबाट उमेदवार बन्नुभएका उमेदवारहरुले नगरपालिकाको विकासकमा लागि गरेका प्रतिवद्धता मध्य सडकको काम करिव सत प्रतिशत भएको छ । कतिपय सडक निर्माणका बारेमा प्रतिवद्धतामा उल्लेख गरिएको थिएन । प्रतिवद्धता नगरिएका सडकहरु पनि पक्की बन्दा घोराहीमा सडक भाइरल भएका घटना भएका थिए ।
घोराही उपमहानगरपालिका अन्तरगत रामपुर जाने सडक, सौडियार जाने सडक, नारायणपुर हुँदै हापुर जाने सडक, घोराहीबाट सेवार हुँदै पश्चिम जाने सडक पाँच बर्षको अवधिमा भएका मुख्य सडकहरु रहेका छन् । घोराही उपमहानगरपालिकाका सवै वडा अर्थात १९ वटै वडालाई सडक सञ्जालले जोड्ने योजना थियो जुन पुरा भएको छ । अधिकांश वडा कार्यालयमा पक्कि सडक पुगिसकेको छ भने केही वडामा मात्रै पक्की सडक पुग्न नसकेको मेयर नरुलाल चौधरीको भनाई छ । हरेक बडा सडक सञ्जालमा जोडिएको छ । पिच गरेर जोड्ने काम पनि हामीले अघि बढाएका छौं । यो काम आगामी दिनमा हुनेछन् ।’ उहाँले भन्नुभयो ।

‘घोराही उपमहानगरपालिकामा पर्ने खोलामा निर्माण अबरुद्ध भएका पुलहरुलाई अबिलम्ब निर्माण गरिने छ ।’ भन्ने प्रतिवद्धता गरे अनुरुप धेरै जसो खोलामा पुल निर्माण गरिएको पनि मेयर चौधरीको भनाई छ । घोराही बजारमा आउनेहरुका लागि नमिठो दृष्य भने मुख्य चोक हुने गरेको छ । मुख्य चोकको अवस्था सोचेजति सुधार हुन सकेको छैन । मुख्य चोकको सडक निर्माण नगरपालिकाले गर्न नपाउने कानुनी जटिलता भएका कारणले गर्दा आफूहरु पछि परेको मेयर चौधरीको भनाई छ । सडक डिभिजनसंग निर्माणको अनुमति लिंदा पनि नपाएका कारणले गर्दा जनताले प्रश्न उठाउने गरेको पनि उहाँले बताउनुभयो । बजार क्षेत्रको सडक निर्माणको जिम्मा उपमहानगरपालिकालाई दिने हो भने अहिलेको जस्तो प्रश्न उठाउन नपर्ने उहाँको अनुभव रहेको छ ।

नेपालको सवैभन्दा ठूलो भुगोल भएको उपमहानगरपालिका हो घोराही । घोराही उपमहानगरपालिकाका सबै वडाका भित्री टोल बस्ती जोड्नेगरि सडक निर्माण गरिएको मेयर चौधरीको भनाई छ । उहाँले आफूहरुले बाचा गरे अनुरुप नै भित्री टोल बस्ती जोड्ने सडक निर्माण गरेको र मुख्य शहरी क्षेत्रका सडकहरुलाई व्यवस्थित गरिने काम गरिएको बताउनुभयो । घोराही बजारका कतिपय सडकमा यतिवेला पनि धमाधम काम भइरहेको त्यसैको उदाहरण भएको मेयर चौधरीको भनाई छ ।

घोराहीबाट धारपानी सडक, घोराहीबाट बाह्रकुने सडक, घोराहीदेखि मुर्कुटी सडक, घोराहीबाट हापुर हुँदै तुलसीपुर जोड्ने सडक, खैरा–कोठरी हुँदै धर्नाबाट पूर्व–पश्चिम राजमार्ग जोड्ने सडक, घोराहीबाट मसिना हुँदै सैघाबाट स्वर्गद्वारी जोड्ने सडक र घोराहीबाट रामपुर हुँदै हाँसीपुर जोड्ने सडकलाई प्राथमिकतामा राखिएको र आगामी दिनमा पनि यि सडकलाई प्राथमिकतामा राख्नु पर्ने अवस्था रहेको उहाँको अनुभव छ ।

घोराहीमा चक्रपथ निर्माणको विषय धेरै बर्ष देखि उठ्दै आएको थियो । वितेको पाँच बर्षको अवधिमा चक्रपथको काम अघि बढेको छ । घोराही उप–महानगरपालिमा भित्री र बाहिरी गरी दुईवटा चक्रपथ निर्माण गर्ने योजना थियो । दुवै चक्रपथ निर्माण हुन सकेको भए उप–महानगरपालिका १९ वटै वडालाई समेट्न सकिने थियो । भित्री चक्रपथ अन्तरगत केही सडक व्यवस्थित हुन थालिसकेको छ । यस्तै बाहिरी चक्रपथको बिषयमा पनि बहस चलेका कारण आगामी दिनमा यसलाई अघि बढाउनै पर्ने अवस्था आएको पनि मेयर चौधरीको भनाई छ ।

सडक निर्माणको सन्दर्भमा आगामी पाँच वर्षभित्रमा बजारक्षेत्रको फुटपाथलाई व्यवस्थित गरिनेछ भनेर भनिएको सँझना गर्दै मेयर चौधरीले पहिले सडक निर्माण गर्दा फुटपाथ राख्ने चलन नरहेकोमा अहिले फुटपाथ राख्ने गरी सडक निर्माण भइरहेको बताउनुभयो । अहिले बजार क्षेत्रका मात्रै होइन ग्रामिण क्षेत्र जोड्ने सडकमा पनि फुटपाथ राख्दा सडकको सौन्दर्य बढेको छ भने दुर्घटनाको जोखिम अत्यन्त घटेको छ । पहिले र अहिलेको प्राविधिमा आएको परिवर्तनका कारणले गर्दा पनि राम्रो हुँदै गएको नगरप्रमुखको भनाई छ ।

घोराहीमा नेकपा एमालेले मात्रै होइन अन्य राजनीतिक दलले पनि सडक निर्माणलाई प्राथमिकतामा राखेका थिए । नेकपा एमालेले कार्यपालिकामा बहुमत जितेका कारणले गर्दा नेकपा एमालेलाई केही सजिलो भयो । बजारका कतिपय सडक निर्माणको काम अत्यन्त तिव्रताका साथ अघि बढेको छ । सवै सडकको काम सम्पन्न हुने हो भने घोराही बजार अझ सुन्दर सडकमा परिणत हुने दावी घोराहीका अन्य वडाध्यक्षहरुको पनि छ । घोराही उपमहानगरपालिकाले ग्रामिण क्षेत्र जोड्ने सडक राम्रो बनाएको भएपनि मुख्य सडक राम्रो नहुँदा कतिपय निरास छन् । घोराहीका अटो व्यावसायी नरेश सुनारले मुख्य सडकको अवस्था फेरिन नसकेको बताउनुभयो । सडक सुधारको प्रयास गरेको भनिएपनि जस्ताको तस्तै भएको बताउनुभयो । ‘अहिले नाला बनाउने भन्दै सडकको दायावाँया खनिएका छन्, यसले दुर्घटनाको जोखिम निम्त्याएको छ ।’ उहाँले भन्नुभयो ।

यस्तै घोराहीका सन्जिव बुढाले पनि नाला निर्माणको विषयमा चासो दिन आवश्यक भएको बताउनुभयो । घोराहीको विद्युत रोडमा नाला बनाउने भनेर सडकको दाया दाँया खनेको धेरै भैसकेको छ । तर अहिले पनि नाला निर्माणको काम हुन सकेको छैन्, खनेर छोडिएको छ, जसका कारण आवतजावतमा समस्या भइरहेको छ । यस्ता अधुरा कामले सास्ती थप्दै गएको उहाँ बताउनुहुन्छ । बजारका धेरै जसो भागमा यस्ता अधुरा कामहरु छोडिएको भन्दै यस्ता कामलाई तिव्रता दिनुपर्ने उहाँको धारणा छ । उहाँमात्रै होइन अन्य नागरिकको चाहना पनि सडक समयमा निर्माण भइदिए हुन्थ्यो भन्ने छ ।

घोराही उपमहानगरपालिकाले १९ वटै वडामा सडक सुविधा पु¥याएको भन्दै नगर प्रमुख नरुलाल चौधरीले घोराही तुलसीपुर–लमहीको सडकका कारण केही काम नभएको जस्तो देखिएको बताउनहुन्छ । ‘यि राजमार्ग संघिय सरकार अन्तर्रगतका सडक हुन् । सडक आफ्नो क्षेत्रभित्र नपर्ने भएकाले काम गर्न पाइएको छैन, मुख्य सडकले गर्दा केही काम नगरेको जस्तो भएको छ ।’ मेयर चौधरीको भनाई छ । तर कार्यक्षेत्रमा नभएपनि पटक पटक निर्माण तथा मर्मतको काम गरेको उहाँले बताउनुभयो ।

घोराही उपमहानगरपालिकामा जनप्रतिनिधिले कार्यभार सम्हालेको पाँच बर्ष पुग्न थालेको छ । स्थानीयतह निर्वाचन बैशाख ३० तोकिए संगै जनप्रतिनिधिको कार्यभार सकिन थालेको हो । यसबीचमा सडक निर्माणको काममा सफल भएको घोराहीका मेयर चौधरीको दावी छ । पाँच वर्षको अवधीमा एक सय ९३ वटा सडक अन्तर्रगत एक सय ४० किलोमिटर सडक कालोपत्रे गरिएको छ । यस्तै एक सय ८७ किलोमिटर सडक ग्राभेल तथा स्तरोन्नतिको काम सम्पन्न भएका छन् । घोराहीमा एक सय ५२ किलोमिटर सडक निर्माण, ४० किलोमिटर सडक नियमित मर्मत, ६७ वटा स्थानीय पुल, कल्भर्ट निर्माण, दुई वटा झोलुंगे पुल निर्माण भएका छन् भने सबै वडालाई सडक सञ्जालले जोडेको घोराही उपमहानगरपालिकाको दावी छ ।